अवैध बन्दुकको ‘भण्डार’ बन्दै मुलुक

दशक लामो माओवादी सशस्त्र द्वन्द्व अन्त्य भएको १५ वर्ष नाघिसकेको छ । सरकार र तत्कालीन माओवादीबीच ०६३ मा भएको सम्झौतापछि मुलुकमा दिगो शान्ति प्रक्रिया सुरु भयो ।

सरकारले अधिकांश भूमिगत पार्टीसँगसमेत वार्ता गर्दै शान्तिपूर्ण राजनीतिको मार्गमा ल्याउन सफल बन्यो । सरकारको पहलकदमीका कारण तराईदेखि पहाडसम्म रहेका विभिन्न भूमिगत संगठनहरु सशस्त्र विद्रोहको बाटो त्यागेर शान्ति सम्झौता गर्दै मूलधारको राजनीतिमा सक्रिय हुने क्रम बढ्यो । 

तत्कालीन भूमिगत संगठनका नेतृत्वकर्ताहरु नै राजनीतिमा सक्रिय हुन थालेपछि चन्दा आंतकदेखि लिएर हत्याहिंसाजस्ता गम्भीर प्रकृतिका अपराधमा कमी आउन थाल्यो । तर, यति हुँदाहुँदै पनि मुलुकमा अवैध हतियारको त्रास भने कम भएन । 

माओवादीको सशस्त्र संघर्षले शान्ति प्रक्रियामार्फत संसदीय राजनीतिमा अवतरण गरिसकेपछि देशमा एक हदसम्म शान्ति त फैलियो, तर मधेसमा थुप्रै सशस्त्र समूह जन्मिए । अधिकांश भूमिगत पार्टीसँग सरकारले वार्ताको पहल गरिरह्यो र सबैलाई शान्तिको मार्गमा ल्याउने प्रयास जारी राख्यो । 

सरकारको यस्तो प्रयत्नले विस्तारै हतियार त्रासको वातावरण कम हुँदै पनि गयो । तर, माओवादीलगायतका भूमिगत सशस्त्र संगठनले विगतमा प्रयोग गरेका हतियारबारे सरकारले कुनै लेखाजोखा गर्न सकेन ।

दुई गुणा बढी हतियार फेला



प्रहरीको पछिल्लो अभिलेखले मुलुक हतियार भण्डारण गर्ने देश बन्दै गएको देखाएको छ । दुई वर्षको प्रहरी अभिलेखमा दुई गुणा बढी हतियार विभिन्न व्यक्तिबाट बरामद भएको छ ।

आर्थिक वर्ष ०७७/०७८ मा अघिल्लो आवको तुलनामा ‘दोब्बर’ भन्दा बढी हतियार भित्रिएको तथ्यांकले देखाउँछ । प्रहरी आँकडामा यो आवमा मात्रै ५५५ वटा साना–ठूला हतियार बरामद भएका छन् । ठूलो हतियार त अघिल्लो आवको तुलनामा ‘दोब्बर’ भन्दा बढी नै भित्रिएको छ ।



यस्ता हतियार आव ०७६/०७७ मा देशभरिबाट २०४ वटा बरामद भएको छ भने ०७७/०७८ मा यो संख्या ४६२ पुगेको छ । प्रहरी आँकडामा आव ०७६/०७७ मा साना र ठूला गरी ३१४ वटा हतियार बरामद भएको थियो भने ०७७/७८ मा दुवैखाले हतियारको संख्या जोड्दा ५५५ वटा विभिन्न ठाउँबाट बरामद भएको छ । 

हातहतियारसहित यही दुई वर्षमा करिब आठ सयको हाराहारीमा मान्छे पक्राउ परेका छन् । आव ०७६/०७७ र ०७७/०७८ मा गरी ७८६ जना हातहतियारसहित पक्राउ परेको प्रहरी तथ्यांक छ । प्रहरी आँकडामा ०७६/०७७ मा ३६० र ०७७/०७८ मा ४२६ जना हातहतियारसहित पक्राउ परेको थिए । 

अमेरिकी, चिनियाँ र पेस्तोल बढी बरामद

पछिल्लो समय मुलुकमा विदेशी हतियार बढी बरामद हुने गरेको प्रहरी तथ्यांक छ । प्रहरी अभिलेखअनुसार भरुवा बन्दुकबाहेक अमेरिकी, चिनियाँ र पेस्तोल बढी बरामद भएको छ । भरुवा बन्दुकपछि आधुनिक पेस्तोल बरामद हुनुले देशभित्र हतियारको तस्करी भइरहेको पुष्टि गर्ने प्रहरीको भनाइ छ ।

बितेको दुई आव अर्थात् ०७६/०७७ र ०७७/०७८ को प्रहरी तथ्यांक हेर्ने हो भने भरुवा बन्दुकबाहेक विभिन्न व्यक्तिबाट अमेरिकी, चिनियाँ र पेस्तोल तीनवटै गरी ८१ वटा हतियार बरामद भएका छन् । 

यही अवधिमा भरुवा बन्दुक ४४५ वटा बरामद भएको प्रहरी तथ्यांक छ । प्रहरी अभिलेखमा भरुवा बन्दुक सबै भन्दा बढी बरामद हुने गरेको देखिन्छ ।
 
तराई क्षेत्रबाट बढी बरामद 

देशभरिमा आधुनिक हतियार तराई क्षेत्रबाट बढी बरामद भएको प्रहरी आँकडामा देखिएको छ । ०७६/०७७ मा बरामद भएको कुल हतियार ३१४ वटामध्ये प्रदेश १ र २ मा मात्रै ११३ वटा बरामद भएको छ । देशभरिबाट बरामद भएको कुल हतियारको संख्यामध्ये लगभग आधा तराई क्षेत्रबाटै बरामद हुनेको गरेको प्रहरी आँकडाबाट प्रष्ट हुन्छ । 

यसैगरी आव ०७७/०७८ मा बरामद भएको ५५५ वटा हतियारमध्ये १३८ वटा हतियार तराईबाट बरामद भएको छ । यो तथ्यांक पनि अन्य ठाउँको भन्दा बढी हो । यो आँकडाले स्थलमार्गको प्रयोग गरेर बढी हतियार भित्रिने गरेको देखाउँछ ।
 
भरुवा बन्दुक बढी फेला पर्दा चिन्ताको विषय नबने पनि पछिल्लो समय बरामद भइरहेको आधुनिक हतियारको संख्याले नागरिकमा त्रास बढ्न गएको छ । के प्रयोजनको लागि भित्रिँदै छन् यस्ता हतियार भन्ने गम्भीर सवाल पैदा भएको छ । 

खुला सीमाका कारण हतियारको तस्करी : प्रहरी प्रवक्ता

पछिल्लो समय भइरहेको हतियारको तस्करीबारे प्रहरी प्रधान कार्यालयको व्याख्या अलि बेग्लै छ । प्रहरी मुख्यालयका प्रवक्ता वसन्तबहादुर कुँवर पछिल्लो समय प्रहरी गतिशीलता बढेकोले हतियार बढी संख्यामा बरामद हुन थालेको दाबी गर्छन् । उनले भने, ‘प्रहरीले हतियार राख्नेलाई कारबाही गर्ने अभियान चलाएको छ, यही डरले मान्छेहरु हतियार फ्याँक्न थालेका छन् । फालिएका हतियार बेवारिसे अवस्थामा फेला परिरहेको छ, यही कारणले हतियार बढी बरामद भइरहेको हो ।’ 

‘यसका साथै केही आधुनिक हतियार पनि भित्रिरहेको खबर प्रहरी नोटिसमा छ,’ उनले भने, ‘देशभित्र पछिल्लो समय आधुनिक हतियारको तस्करी पनि भइरहेको छ । तर, खुल्ला सीमाका कारण प्रहरीले त्यसको रोकथामतर्फ अपेक्षित सफलता हासिल गर्न सकिरहेको छैन ।’

प्रहरीको अध्ययनले आधुनिक हतियारको प्रयोग विशेषगरी फिरौती उठाउने, सुपारी दिएर हत्या गराउने र सजिलै पैसा कमाउने जस्ता धन्दामा भइरहेको देखाएको छ । तर, खुल्ला सीमाका कारण प्रहरीले हतियार भित्रिने कार्य रोक्न नसकिरहेको प्रहरी प्रवक्ता कुँवर स्वीकार्छन् ।

‘अप्रेसन रिभ्यु गर्नुपर्छ’

खुल्ला सीमाका कारण हतियार भित्रिएको भन्ने सन्दर्भमा पूर्वप्रहरी अधिकारीहरु फरक धारणा राख्छन् । उनीहरुका अनुसार मुलुकमा हतियार बरामद हुनु भनेको कसैका लागि तथ्यांकमा देखाउनका लागि मात्रै हो ।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार यो सबै हतियार भारतको मुँगेर भन्ने ठाउँबाट आउने गरेको छ । ‘नाम मात्र अमेरिकी वा चिनियाँ लेखिएको हुन्छ,’ उनले भने । 

उनका अनुसार बरामद भइरहेको हतियारबारे प्रहरी संगठन र नेपाल सरकारले ‘अप्रेसन रिभ्यु’ गर्नुपर्छ । उनी भन्छन्, ‘यति काम गर्न सके हतियार सम्बन्धी धेरै वास्तविकता बाहिर आउँछ ।’

  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार २०:४३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया