ओलीका कारण राजसंस्थाको पुनर्स्थापना हुने खतरा बढेको छ : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीका कारण मुलुकमा राततन्त्र आउने खतरा बढेको बताएका छन् । मंगलबार जनवर्गीय संगठनहरुले भर्चुअल माध्यमबाट आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीका कारण पार्टीमा र देशमा गम्भीर संकट आएको बताएका हुन् । 

सम्बोधनका क्रममा नेपालले भने, ‘राजसंस्थाको पुनस्थापना हुने खतरा बढेको छ । प्रतिगामीहरु चलमलाउन थालेका छन् ।’ संघीयताविरोधी आवाजहरु ओलीका नजिकका मान्छेहरुबाट सुनिन थालेको बताउँदै उनले भने, ‘कतै राष्ट्रपति शासन लाग्ने हो कि, कतै सैनिक शासन लाग्ने हो कि भन्ने पनि भयो ।’ 

ओली विदेशीसामु लम्पसार भएको र भ्रष्टाचार बढाएको आरोप लगाउँदै नेपालले ओलीले देशभक्तिको झण्डा पनि फालेको बताए । ‘उहाँ (ओली)ले भ्रष्टाचारको चंगुलमा देशलाई फसाउने काम गर्नुभयो,’ नेता नेपालले सम्बोधनको क्रममा भने । 

‘उहाँमा व्यक्तिवाद नराम्रो ढंगले प्रकट भयो । त्यो व्यक्तिवाद गुटगत र निरकुंश शैलीमा अघि बढ्यो । आफूप्रति कसैले आलोचना गर्छ भने, टिप्पणी गर्छ भने असहमति व्यक्त गर्छ भने ती सबै व्यक्ति उहाँको नजरमा विरोधी हुन पुगे,’ नेता नेपालले अघि भने, ‘उहाँलाई साथ दिने साथीहरु उहाँबाट टाढिँदै जानुभयो । ओलीले पार्टीलाई दुर्दशाको स्थितिमा पुर्याउनुभएको छ । यसको क्षतिपूर्ति गर्नका लागि समय लाग्नेछ ।’ 





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १७:३४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया