नेपालले ओके भनेपछि फाइनल भएको राजनीतिक दलसम्बन्धी अध्यादेश

सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको अधिवेशन सोमबार रातिबाट अन्त्य हुने व्यहोरा पढेपछि नेपाली राजनीतिमा नयाँ तरंगको सुरुवात भएको छ । 

सोमबार झन्डै ११ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हठात् प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अन्त्य गरिएको विषयमा एउटा लामो विज्ञप्ति पनि निकालेका छन् । उनले नेकपा एमाले पार्टीलाई विभाजन गर्न खोजिएको आरोप त्यो विज्ञप्तिमा लगाए ।

मंगलबार विहानैदेखि ओली आफूनिकट नेताहरुसँग छलफलमा लागे । मंगलबारका लागि उनले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक बोलाएका थिए । 

अर्कोतिर नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पनि मंगलबार विहानबाट नै आफूनिकट नेताहरुसँग छलफलमा व्यस्त थिए । पछिल्लो समय नेकपा एमालेमा यी दुई नेताले आआफ्ना अडानलाई नछोड्दा नेकपा एमाले अब विभाजनको संघारमा पुगेको छ ।

मंगलबार नै बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले ओली र नेपालको अडानलाई सहयोग पुग्ने हिसाबमा नयाँ कदम चालिदिएको छ, राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर । यो अध्यादेशका कारण नेकपा एमालेको विभाजन सहज हुने अनुमान छ । नेकपा एमालेमा नेता नेपालले आफूलाई सहज हुने गरि नै अध्यादेशमा सांसद वा केन्द्रीय सदस्यको संख्यालाई राख्न लगाएको एक नेताले बताए ।

मंगलबार विहान कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अध्यादेशको फाइल तयार पारिरहेका थिए । उनीनिकट एक नेताका अनुसार पहिले अध्यादेशमा २५ प्रतिशत केन्द्रीय कमिटी सदस्य वा सांसद राख्ने प्रस्ताव गरिएको थियो । तर, यो संख्या पुर्याउन नेपाललाई असहज हुनसक्ने अनुमान गर्दै पछि यसलाई २० प्रतिशतमा झारेर अध्यादेश तयार पारिएको छ ।



‘अध्यादेश ल्याउने भन्ने तयारी केही दिनअघि नै भएको हो,’ नेपाली कांग्रेसका एक नेता भन्छन्, ‘यसका लागि माधवकुमार नेपालसँग मात्र होइन, देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवसँग पनि छलफल गरेका थिए ।’

देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग अध्यादेश ल्याउनेबारे गत साता नै छलफल गरेको ती नेताको दाबी छ ।



अध्यादेश ल्याएर नेकपा एमाले नफुटाउँदा आफ्नो सरकार अल्पमतमा पर्न सक्ने क्याल्कुलेसन देउवाले गरेकाले र आफ्नो सरकारलाई बहुमत पुर्याइरहनका लागि यो अध्यादेशको आवश्यकता भएको निष्कर्ष देउवाले निकालेका हुन् ।

अध्यादेशमा कति प्रतिशतको थ्रेसहोल्ड राख्ने भन्नेबारे जिम्मेवारी चाहिँ देउवाले नेपाललाई नै दिएका थिए । 

कांग्रेसका ती नेताका अनुसार यो अध्यादेश ल्याउनका लागि नेपाल पक्षका नेता डा. विजय पौडेलले कोअर्डिनेसन गरेका थिए ।

देउवाले यो अध्यादेश ल्याउनै पर्ने तीन प्रमुख कारण रहेका छन् । 

पहिलो हो, आफ्नो सरकार बहुमतसहितको बचाइराख्न । ३ साउनमा विश्वासको मत लिँदा देउवालाई माधवकुमार नेपाल पक्षका सांसदहरुले पनि समर्थन गरेका थिए । उनीहरुले अब समर्थन फिर्ता लिएको खण्डमा देउवा सरकार अल्पमतमा जान्छ । यसलाई बचाइरहनका लागि पनि अध्यादेश ल्याएर नेपाल पक्षलाई नयाँ पार्टी बनाउन सहज होस् भन्ने चाहन्छन् देउवा ।

दोस्रो हो, महन्थ ठाकुरलाई दिएको वचन । ३ साउनमा विश्वासको मत लिँदा देउवाले जसपाका दुवै समूहका नेताहरुबाट विश्वासको मत लिए । उनले त्यो दिन महन्थ ठाकुरसँग बानेश्वरस्थित संसद भवनमा भेटघाट पनि गरेका थिए । अहिले जसपामा देखिएको विवाद त्यति बेला पनि थियो । अनि उनले त्यहीबेला नै ठाकुरलाई नयाँ पार्टी गठन गर्नका लागि आफूले सहयोग गर्ने वचन दिएका थिए, त्यही वचनलाई अहिले पूरा गर्न चाहन्छन् देउवा । मंगलबार पनि बालुवाटार प्रधानमन्त्री निवासमा ठाकुरले अध्यादेश आफूलाई पनि सहज हुने गरि ल्याउन अनुरोध गरेका थिए । ठाकुरकै चाहनाअनुसार अध्यादेशको थ्रेसहोल्ड कम गरिएको अनुमान पनि गरिएका छन् ।

तेस्रो हो, माधवकुमार नेपालको चाहना । माधवकुमार नेपालले केही समययता आफू अब एमालेमा रहन नसक्ने निचोड निकालिसकेका छन्, उनले यही खालका अभिव्यक्ति पनि दिँदै आएका छन् । उनले दिएका अभिव्यक्तिहरुका अनुसार उनी नयाँ दल गठन गरेर अगाडि बढ्न चाहन्छन् । देउवालाई विश्वासको मत दिँदा केपी शर्मा ओली पक्षधर केही सांसदले पनि मत दिएपछि उनी ती सांसदलाई पनि समेटेर नयाँ पार्टी बनाउन चाहन्छन्, आगामि निर्वाचनसम्म गठबन्धनलाई जोगाएर अर्को पाँच वर्ष आफू प्रधानमन्त्री भएर सत्ता चलाउने योजना नेपालले बनाएका छन् ।

मंगलबार अध्यादेशको ड्राफ्ट कानुनमन्त्रीले बनाइसके पछि नेपालको जवाफ देउवाले कुरिरहेका थिए । नेपालले आफूले २५ प्रतिशत सांसद वा केन्द्रीय सदस्य पुर्याउन सक्ने दाबी गरेको स्रोतले फरकधारलाई बताएको छ । तर, जसपा नेता महन्थ ठाकुरले आफूलाई पनि सहज हुने गरि अध्यादेश ल्याउन अनुरोध गरेकाले यसलाई २० प्रतिशतमा झारिएको बताइन्छ । 

२० प्रतिशतमा झारेको विषयमा पनि माधवकुमार नेपालले ओके भन्ने जवाफ दिएको नेपाली कांग्रेसका एक नेताले फरकधारलाई जानकारी दिए ।

  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १७:५७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया