बाग्मती प्रादेशिक प्रयोगशालामा १ हजार २८ जातका बीउ परीक्षण

बागमती प्रदेश प्रादेशिक बीउ बिजन प्रयोगशालाले बीउ परीक्षण, खेत निरीक्षण, बीउ प्रमाणीकरण तथा बीउ बजार अनुगमन गर्ने कार्य गर्दै आएको छ । 

प्रयोगशालाले गत आर्थिक वर्षमा १ हजार २८ बीउको नमुना परीक्षण गरेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षमा ४ सय १० बीउ परीक्षण गरेको थियो । अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष बीउको नमुना परीक्षण बढी भएको प्रयोगशालाले जनाएको छ ।
  
त्यसैगरी, आव ०७७–०७८ मा प्रयोगशालाले ४ सय १८ मेट्रिक टन बीउ प्रमाणीकरण, ३ सय १० हेक्टर खेती निरीक्षण गरेको छ । अघिल्लो आवमा ८ सय १० मेट्रिक टन बीउ प्रमाणीकरण र २ सय १० हेक्टर खेती निरीक्षण गरिएको बागमती प्रदेश प्रादेशिक बीउ बिजन प्रयोगशालाका प्रमुख निर्मल गदालले बताए । अघिल्लो वर्षभन्दा गत आवमा उल्लेखनीय कार्य भएको उनले बताए ।

प्रयोगशालाले गत आर्थिक वर्षमा बीउ परीक्षणको पूर्वाधारमा आधुनिकीकरण, बीउ उत्पादक, व्यवसायीलाई बीउ बिजन उत्पादन तथा गुणस्तर नियन्त्रणसम्बन्धी तालिम, आलु सुपरजोन बीउ काभ्रे तथा मसला बाली विकास केन्द्र काभ्रेसँगको समन्वयमा आलु प्रमाणीकरणको प्रारम्भिक सुुरुवात, प्राविधिक तहमा कार्यरत प्राविधिक कर्मचारीका लागि गुणस्तरीय बीउ उत्पादन तथा व्यवस्थापन तालिम, बीउ व्यवसायीलाई बीउ बिजन बिक्री वितरण अनुमतिपत्रसम्बन्धी तालिम आदि कार्यक्रम सञ्चालन गरेको छ ।

१ करोड ७५ लाख खर्च

प्रयोगशालालाको गत आव २०७७–०७८ कुल बजेट २ करोड २८ लाख ३४ हजार रहेकोमा  १ करोड ७५ लाख ६७ हजार खर्च भएको  छ । त्यस्तै, प्रयोगशालामा कुनै पनि बेरुजु नभएको प्रमुख गदालले बताए । प्रयोगशालामा बीउ उत्पादन तथा भण्डारण केन्द्रको  स्थापना भएको छ, जसका कारण आगामी दिनमा एकैपटक नमुना परीक्षण गर्न सकिने तथा प्राप्त सबैै नमुनाहरुको गार्ड नमुना लामो समयसम्म सुरक्षित तवरले भण्डारण गर्न थप सहयोग पुग्ने अपेक्षा रहेको गदालले बताए ।

गत वर्ष केन्द्रीय प्रयोगशालासँगको समन्वयमा प्रयोगशाला सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कर्मचारी तालिम गोष्ठी तथा कार्यशाला, ल्याबमा खटिएका कर्मचारीका लागि जोखिम भत्ता, बीउ संग्रहालय स्थापना, प्रादेशिक बीउ बिजन आपूर्ति तथा बीज वासलात तयारी गोष्ठी, संघ–प्रदेश–स्थानीय निकायमा हुने प्रदर्शनी मेला आदिमा सहयोग तथा सहभागी कार्यक्रम कोभिड १९ को कारणले सञ्चालन गर्न नसकिएको कार्यालयले जनाएको छ ।



त्यस्तै, आगामी ६ महिनाभित्र बीउको स्वास्थ्य परीक्षणका लागि थप मेसिन थप्ने, बीउको पिसिआर टेस्ट गर्ने, विद्युत्को समस्या हुन नदिन सोलारको मर्मतसम्भार गरेर प्रयोगशााला सृदृढ बनाइने बागमती प्रदेश प्रादेशिक बीउ बिजन प्रयोगशालाका प्रमुख निर्मल गदालले  दाबी गरेका छन् ।

संघीय संरचनाका कारण सीधा सम्पर्कमा कठिनाइ, बीउ बिजन प्रयोगशालाले अन्तर्राष्ट्रिय बीउ परीक्षण संस्थाको सदस्यता प्राप्त नगरेकोले  विभिन्न कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको र विभिन्न बालीको ४ सय १८ मेट्रिक टन बीउको ट्रयाकिङ भई यस वर्ष गुणस्तरीय रुपमा मूल बीउ तथा प्रमाणीकरण बीउ उत्पादनमा टेवा पुग्ने  भएको प्रयोगशालाले जनाएको छ ।



६ हजार २ सय मेट्रिक टनको बीउ परीक्षण

गत वर्ष विभिन्न बालीको जम्मा ६ हजार २ सय ९४ मेट्रिक टनबराबर लटको बीउ परीक्षण भई बीउको गुणस्तर कायम गर्न सहयोग पुगेको, प्रदेश स्तरका व्यावसायिक रुपमा बीउ उत्पादन गर्ने ५४ कृषकको बीउ उत्पादन तथा व्यवस्थापनको विविध पक्षमा ज्ञान तथा सीप वृद्धि भई बीउ व्यवसायमा थप टेवा पुगेको, प्रदेश स्तरका  ४८ जना व्यवसायीले गुणस्तरीय बीउ प्रवद्र्धन तथा बजारीकरणका विविध पक्षमा ज्ञान तथा सीप हासिल भई गुणस्तरीय बीउ प्रवद्र्धन बजारीकरणमा थप टेवा पुगेको गदालले बताए । 

२ सय १० हेक्टर क्षेत्रफलमा बालीको विभिन्न अवस्थामा खडा बाली निरीक्षण भई बीउको गुणस्तर प्रवर्दनमा उल्लेख्य प्रभावकारिता रहेको, प्रदेश स्तरका स्थानीय तहमा कार्यरत प्राविधिक कर्मचारी २६ जनालाई बीउ उत्पादन तथा व्यवस्थापनको विविध पक्षमा ज्ञान तथा सीप वृद्धि भई बीउ व्यवसायमा थप टेवा पुगेको, बागमती प्रदेशका जम्मा २८ जना बीउ व्यावसायीहरुले तालिममा सहभागिता जनाई बीउ व्यवसाय सञ्चालन अनुमति पत्र प्राप्तिका लागि योग्य भएको बागमती प्रदेश प्रादेशिक बीउ बिजन प्रयोगशालाका प्रमुख निर्मल गदालले बताए ।
 

  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १९:५१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया