नेपाल समूहले नयाँ दल दर्ता गर्न पूरा गर्यो सबै तयारी, अध्यादेश आएलगत्तै आयोग जाने

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि सबै तयारी पूरा गरेको छ । नेपालनिकट एक नेताले फरकधारलाई दिएको जानकारीअनुसार अब मंगलबार सरकारले ल्याएको अध्यादेश आएसँगै नेपाल पक्षका नेताहरु निर्वाचन आयोगमा गएर नयाँ दल दर्ता गर्ने भएका हुन् ।

यसका लागि केही दिनअघि देखि नै तयारी थालिएको ती नेताले बताएका छन् ।

‘सबै तयारी पूरा भएका छन्,’ ती नेताले भने, ‘राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि हामी निर्वाचन आयोग जान्छौँ ।’

यसअघि मंगलबार नै एक कार्यक्रममा नेपालले अब पार्टी पुनर्गठन गर्नुको विकल्प नभएको बताएका थिए । उनले पार्टी पुनर्गठन गरेर अगाडि बढ्नुको विकल्प नभएको र पछि चुनावमा नेकपा एमालेसँग तालमेल हुने विकल्प चाहिँ बाँकी रहेको बताएका थिए ।

मंगलबार नै सरकारले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि केन्द्रीय कमिटी र संसदीय दलमा २० प्रतिशत सदस्य पुर्याएमा नयाँ दल दर्ता गर्न सकिने गरि अध्यादेश ल्याएको छ । यो अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा रहेको छ ।

हामीले नेपाल समूहका ती नेतालाई सोध्यौँ– राष्ट्रपतिले अध्यादेश जारी नगरे के गर्नुहुन्छ ?



‘जारी नगर्ने भन्ने कुरा नै हुँदैन,’ ती नेताले भने, ‘यसअघिको सरकारले ल्याएका अध्यादेश केही मिनेटमा जारी गर्ने राष्ट्रपतिले यो सरकारलाई यस्तो गर्न पाइन्छ र ?’

ती नेताले नयाँ दर्ता हुने पार्टीको नाम र चुनाव चिन्हका विभिन्न विकल्पमाथि अहिले छलफल भइरहेको पनि बताएका छन् ।



  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १०:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया