यी हुन् विदेशी लिग खेल्ने नेपाली खेलाडी

नेपालका थुप्रै खेलाडीले विदेशी लिगमा व्यावसायिक खेल खेलेर जीवनयापन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका छन् । खेल क्षेत्रमै करिअर बनाउन चाहने खेलाडीका लागि पनि उनीहरू उदाहरण बनिरहेका छन् । नेपाली खेल क्षेत्र त्यति व्यावसायिक बन्न भने सकेको छैन । नेपालको खेलकुल क्षेत्र व्यावसायिक रूपमा भर्खर बामे सार्दै छ भन्दा हुन्छ ।  ‘खेलेर पनि गुजारा चलाउन सकिन्छ र ?’ खेल क्षेत्रमै भविष्य खोजिरहेका नेपालीले पटक-पटक झेलिरहनु पर्ने साझा प्रश्न  हो यो । 

नेपालमा भएका जति यस क्षेत्रमा लागेका छन् । त्यो उनीहरूमा भएको खेलप्रतिको लगावले नै हो । सुरुमा खेलकुदमा सक्रिय भएका धेरै जना यसमा भविष्य छैन भन्दै रुचिलाई छाड्दै अन्य पेशा अंगालेको देखिन्छ । 

नेपालमा ३ विभागीय टोलीमा समावेश खेलाडीबाहेक खेलमा मात्रै आवद्ध खेलाडी निकै कम छन् । ‘विभागीय टोलीमा आवद्ध नभएको भए त एउटा राम्रो जुत्ता किन्ने समेत क्षमता नहुने रहेछ’ केही खेलाडीहरूले भन्ने गरेका छन् ।

नेपालको अवस्थामा यस्तो रहँदा केही नेपाली खेलाडीहरू भने अन्तराष्ट्रिय लिगमा खेल्ने अवसर पाइरहेका छन् । 

यहाँ विदेशी लिगमा खेल्दै आएका केही नेपाली खेलाडीका बारेमा छाेटकरीमा चर्चा गरिनेछ । 

सन्दीप लामिछाने (क्रिकेट)



विदेशी लिग खेलेर सबैभन्दा धेरै चर्चा पाएका नेपाली खेलाडी हुन्- युवा क्रिकेटर सन्दीप लामिछाने । २०१४ बाट क्रिकेट करिअर सुरुवात गरेका सन्दीपले राष्ट्रिय टोलीमा २०१६ मा डेब्यु गरेका थिए । उक्त खेलमा आयरल्यान्डविरुद्ध उनले गरेको ह्याट्रिक नै उनको जीवनको कोशेढुंगा बन्यो । 

लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक २०१८ को इन्डियन प्रिमियर लिग (आइपिएल)मा छनोट भएपछि विदेशी लिगको यात्रामा निरन्तर अघि बढिरहेका छन् । 



उनी विदेशी लिग खेलेर अन्य युवाका लागि प्रोत्साहनका स्रोत बनेका छन् । सन्दीपले अधिकांश ठूला विदेशी लिगमा खेलिसकेका छन् । 

उनी नेपालको तर्फबाट पहिलो पटक विदेशी लिग खेल्ने क्रिकेटर पनि बने । सानै उमेरमा उनले क्रिकेटमा देखाएको जुझारुपनले क्रिकेटमा भविष्य खोज्ने नेपाली युवामा उर्जा थपेको छ । खेल खेलेर जीवनयापन मात्रै होइन, राम्रो आम्दानी पनि गर्न सकिन्छ भन्ने कुराको सफल उदाहरण हुन् उनी ।

सानो उमेरमा नै धेरै सफलता हासिल गरेका उनको अन्य नेपाली खेलाडीको दाँजोमा आम्दानी धेरै छ । उनले एक अन्तवार्तामा भनेका पनि थिए ‘म खेलेर सहज जीवन यापन गर्न सकिन्छ भन्ने एक सफल उदाहरण बन्न चाहन्छु ।’   

रोहित चन्द (फुटबल)

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द अर्का खेलाडी हुन् जसले विदेशी लिगमा लगातार सहभागिता जनाइरहेका छन् । उनी नेपाली फुटबलका पहिलो ११ मा खेल्ने मिडफिल्डर हुन् ।

रोहित हाल इन्डोनेसियन क्लब पार्सिजा जाकर्ताबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । पछिल्लो समय इङ्लिस प्रिमियर लिगका दुई महारथी आर्सनल र टोटनह्यामले पनि यी नेपाली मिडफिल्डरलाई भित्राउने इच्छा देखाएपछि उनी अत्यधिक चर्चामा आएका थिए । 

रोहित २०१३ मा एफसी भेस्ट्स्जल्याल्डमा आवद्ध भएका थिए । उनले त्यस टोलीमा कुनै पनि खेल खेलेनन् । । उनी २०१३ देखि हालसम्म पनि पेर्सिजा जाकार्तामा आवद्ध छन् । 

२००९ मा यु-१९ टोलीबाट नेपालका लागि खेल्न थालेका रोहितले विदेशी लिग खेलेर राम्रो आम्दानी गर्ने गरेका छन् । उनको आयआर्जन नेपाली फुटबलका अन्य खेलाडीको तुलनामा धेरै छ । 

उनीजस्ता खेलाडीले गर्दा अन्य नेपाली खेलाडी पनि विदेशीको आँखामा पर्ने सम्भावना बढेको  छ । 

सावित्रा भण्डारी(साम्बा) (फुटबल) 

नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीलाई ‘गोल मेसिन’ पनि भन्ने गरिन्छ । इन्डियन वुमन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेकी उनले नेपाली महिला फुटबललाई खास उँचो बनाएकी छिन् । 

हाल सेथु क्लबमा अवद्ध रहेकी सावित्रा २०१७ बाट विदेशी लिगमा व्यावसायिक फुटबल खेल्न थालकी हुन् । 

उनको खेल शैलीको धेरैले खुलेर प्रशंसा गर्ने गर्छन् । उनको खेल शैली र गोल सेलिब्रेट गर्ने तरिका निकै युनिक रहेको टिप्पणीहरू पनि हुने गरेका छन् ।  

हाल कतारमा घुँडाको अप्रेशन गरेर आराम गरिरहेकी उनले व्यावसायिक खेलमा नेपाली महिला पनि अब्बल छन् भनेर प्रमाणित गरेकी छिन् ।  उनीसँगै अन्य ४ नेपाली चेलीले पनि पहिलो पटक पाकिस्तान सुपर लिगमा सहभागी हुने अवसर पाए ।

किरण चेम्जोङ (फुटबल)

विदेशी लिग खेल्ने अर्का उदाहरणीय खेलाडी हुन्- गोलरक्षक किरण चेम्जोङ । नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका उनी नेपालकै उत्कृष्ट गोलकिपर हुन् । उनलाई ‘ग्रेटवाल अफ नेपाल’पनि भनिन्छ । 

चेम्जोङले २०१७ बाट विदेशी लिग खेल्न थालेका हुन् । सन् २०१८ मा उनले मिनरेभा पञ्जाबबाट आइलिग खेले । उनले आइलिगबाट पछिल्लो पटक ‘एएफसी इन्टरनेसनल प्लेअर अफ दी विक’ को अवार्ड समेत जित्न सफल भए । ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै किरणले अवार्ड जितेका हुन् किरणको सफलताले फुटबलमा पनि करियर छ भन्ने आशा धेरैमा पलाएको  छ । 

किरणले भन्ने गरेका छन्,‘मैले फुटबल खेल्दा प्यासनले खेलेको थिएँ । अहिले यसमा करिअर छ भनेर अर्कालाई पनि भन्न सक्छु ।’

भन्छन् नि, कुनै क्षेत्रमा दत्तचित्त भएर लागेमा सफलता हात पर्छ । त्यसकै उदाहरण हुन्- किरण चेम्जोङ  । फुटबलबाटै भएको आम्दानीले उनले आमालाई धरानबाट काठमाडौं ल्याएर राख्ने वातावरण मिलाएको किरण सुनाउँछन्।

अनिता बस्नेत (फुटबल)

नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर अनिता बस्नेत पनि विदेशी लिग खेल्ने खेलाडी हुन् । नेपाली महिला त्यो पनि खेलाडी भएर विदेशमा लिग खेल्न जानु सहज कुरा थिएन । सावित्रा भण्डारीसँगै इन्डियन वुमन्स लिग खेल्न जाने खेलाडीमा उनी पनि पर्छिन् । 

मिडफिल्डिङमा उनको जादु इन्डियन वुमन्स लिगमा निकै चल्यो । सावित्रा र उनले सन् २०१८ बाट एकै क्लबबाट इन्डियन वुमन्स लिग खेल्न थालेका हुन् । सावित्राको अनुपस्थितिमा पछिल्लो पटक भएको महिला लिगमा एपीएफ क्लबको कप्तानी समेत अनिताले गरेकी थिइन् । 

अनिता र सावित्रासँगै अहिले नेपाली महिला फुटबल टोलीका ४ जनाले विदेशी लिगमा खेल्न सुरु गरेका छन् । पछिल्लो पटक अनिता केसी, गीता राना, ऐन्जिला तुम्बापो सुब्बा र सरु लिम्बुले पाकिस्तानी सुपर लिग खेल्ने अवसर पाए।

क्रिकेटमा पुरुष तर्फका सोमपाल कामी, कुशल मल्ल, करण केसी, पारस खड्का लगायतले विदेशी लिगमा सहभागिता जनाइसकेका छन् । 

पारस खड्काले त मेन्टरकै रूपमा पनि आबुधाबी टोलीमा काम गरेका हुन् । भर्खरै मात्र अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनी धेरै क्रिकेट खेलाडीका आइडल हुन् । 

त्यस्तै महिला क्रिकेटतर्फ रुविना क्षेत्री र नेरी थापाले विदेशी लिग खेल्ने गरेका छन् । 

अन्य खेलमा भने नेपाली खेलाडी विदेशी क्लबमा आवद्ध भएर सिन खेल्ने अवसर पाएका छैनन् । 

अहिले विदेशी लिगमा लेखिरहेका खेलाडीहरूले अन्यलाई पनि त्यसतर्फको यात्राका लागि प्रेरित गरिरहेका छन् । त्यति मात्रै नभएर नेपालको खेलकुद क्षेत्रमा व्यावसायिक वातावरण निर्माणमा पनि यसले मद्दत मिलेको देखिन्छ । 

  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार ९:१२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया