माधव नेपालले गुमाए सुदूरपश्चिममा बहुमत सांसदको साथ

सुदूरपश्चिम प्रदेशमा माधव नेपालले बहुमत सांसदको संख्या गुमाएका छन् । बुधबार मात्र एमाले समाजवादी दल दर्ता गराएका नेता नेपालले भीम रावललाई आफ्नो पक्षमा लिन नसकेपछि बहुमत सांसद संख्या गुमाएको विश्लेषण हुन थालेकाे छ।

एमालेभित्र सुदूरपश्चिममा भीम रावलको पकड बलियो छ । विगतदेखि नै माधवकुमार नेपाललाई साथ दिँदै आएका रावल शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएदेखि तटस्थजस्तै देखिएका छन् । अधिकांश प्रदेश सांसदहरू रावलले लिने निर्णयअनुसार नै अगाडि बढ्ने तयारीमा देखिएका छन् ।

नेता रावलले एमालेमै रहने वा एमाले समाजवादीमा जानेबारे निर्णय नगर्दा अहिले अधिकांश प्रदेश सांसद मौन रहेको एक सासंदले बताए । ‘हाम्रो नेता भीम रावल हुन्,’ उनले फरकधारसँग भने, ‘रावलको निर्णयअनुसार नै सुदूरपश्चिमको अंकगणित पनि फेरबदल हुन्छ ।’

अहिले नेपाल समूहको एमाले समाजवादीको केन्द्रीय कमिटीमा सुदूरपश्चिमका २५ प्रदेश सांसदमध्ये दुई जनामात्रै खुलेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्व-वनमन्त्री माया भट्ट मात्रै केन्द्रीय कमिटीमा समेत परेका छन् । 

एमालेभित्र देखिएको दुई धार हुँदा माधव समूहमा १८ जना र ओली समूहमा सात जना प्रदेश सांसद रहेका थिए । पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा,  माया तामा बोहरा, नेपालु चौधरी र बलदेव रेग्मी मात्रै ओली पक्षमा थिए भने वर्तमान मन्त्रिमण्डलका चार मन्त्रीसहित १८ जना सासंद नेपाल पक्षमा थिए । 

तर मन्त्री जोशीबाहेक अन्य मन्त्रीले समेत एमाले विभाजनलाई साथ दिएका छैनन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र सामाजिक विकासमन्त्री लालबहादुर खड्काले तत्काल एमालेमै रहने संकेत देखाएका छन् ।



राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशले प्रदेश सासंद र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र पार्टी छान्नुपर्ने सुुविधा दिएको छ । २१ दिनपछि मात्रै एमालेमै रहने प्रदेश सांसद र एमाले समाजवादीमा जाने सांसदको टुंगो लाग्ने देखिन्छ । नेता भीम रावलको गर्दा नै सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अहिलेसम्म फेरिन सकेको छैन् । पटक-पटक नेतृत्व फेरिने चर्चा भए पनि नेकपा माओवादी केन्द्रकै नेतृत्वमा एमाले प्रदेश सरकामा सहभागि छ ।
 



  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार ९:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया