बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य: अझै नेपालतिर छिन् कि पूरै ओलीतिर लागिसिकन् ?
ओली र नेपाल दुवै पक्षको आ–आफ्नै दाबी

बुधबार नेपालको राजनीतिमा नयाँ तरंग देखा पर्याे ।  देउवा सरकारले ल्याएको अध्यादेशको बलमा दुई  पार्टी फुटे भने बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन भए । बुधबार बागमती प्रदेशको दोस्रो र नेपालकै इतिहासमा पहिलो मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्य नियुक्त भइन् । 

बुधबार राति हतार–हतार गरेर उनले पदभार ग्रहण गर्दै मन्त्रिपरिषद् बैठकसमेत राखिन् । तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षधरको नेतृत्व तहमै रहेकी शाक्य एकाएक ओली टिमबाट मुख्यमन्त्री बन्दा राजनीतिक विश्लेषकसमेतले झड्का महसुस गरे । 

सधैँ ओली र उनको प्रवृत्तिको खरो आलोचना गर्ने शाक्य आफैँसँग संसदीय दलको नेतामा चुनाव जितेका डोरमणि पौडेलको प्रस्तावमा मुख्यमन्त्री बनिन् । मुख्यमन्त्री शाक्यले नेकपा एमाले एकताबद्ध बनाउन आफूले परिस्थितिलाई व्यवस्थापन गरेको जवाफ दिएकी छिन् । 

म अहिले पनि माधव नेपाल पक्षकै भएको भन्दै उनले अब पार्टी नेता केपी शर्मा ओली र नेपालको विषयमा कुनै अभिव्यक्ति नदिने बताइन् । उनले पार्टी एकताका लागि मुख्यमन्त्री बनेको भन्दै देश र जनताको आवश्यकतालाई मध्यनजर गर्दै प्रदेश सरकारले काम गर्ने दाबीसमेत गरिन् ।

शाक्य कसको मान्छे ? 

मुख्यमन्त्री शाक्यलाई माधव नेपाल पक्षधरले पनि बागमती प्रदेशमा साथ दिइरहेका छन् । तर, उनको भविष्यप्रति माधव पक्षका एमाले सांसद आफैँ सशंकित छन् । मुख्यमन्त्री शाक्यको पद जोगाउन माधव नेपाल पक्षधरले प्रयास गरिरहेको छ । माधव नेपाल पक्षमा २३ सांसद छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेससहितका दललाई समेटेर शाक्यलाई गठबन्धनको बहुमत सुनिश्चित गर्नेतर्फ माधव नेपाल पक्षले तयारी थालेको छ । 



गठबन्धन बनाउन माधव नेपाल पक्ष, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र प्रदेशसभा सदस्यहरुको साथ भए पुग्ने देखिन्छ । तत्कालीन नेकपा एमाले हुँदा माधव पक्ष रहेका सांसदहरु एमाले समाजवादीमै जाने हो भने प्रदेशमा निर्णायक एमाले समाजवादी हुने देखिन्छ । 

बागमती प्रदेशमा सिंगो एमालेका ५६ प्रदेशसभा सदस्य छन् । जसमा ओली पक्षका ३५ र नेपाल पक्षका २१ जना छन् । प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशीलका ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।



अहिले ओली टिमबाट मुख्यमन्त्री हात पारेकी शाक्यले गठबन्धनबाट बहुमत सुनिश्चित भएपछि नेकपा एमाले (समाजवादी)मा जाने भित्री तयारी रहेको एक प्रदेशसभा सदस्यले बताएका छन् । ओली पक्षले भने अहिले नै मुख्यमन्त्री शाक्य आफ्नो टिममा आइसकेको दाबी गरेको छ । 

१५ दिनमा भविष्य निर्धारण 

यदि उनले टिम परिवर्तन नगरे उनको पद अबको १५ दिनसम्म मात्र रहने ओली पक्षको भनाइ छ । माधवकुमार नेपालले मुख्यमन्त्रीमा शाक्य नियुक्त भएकै दिन बुधबार बागमती प्रदेशसभाका ५ जना सांसदलाई समेत समेटेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् । 

बागमती प्रदेशसभाका सांसद राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आले र वसन्त मानन्धर एमालेबाट फुटेर बनेको माधव नेपालको नेतृत्वमा बनेको नयाँ पार्टीको केन्द्रीय सदस्यमा समेटिएका हुन् । जसमा भर्खरै प्रदेशका सामाजिक विकासमन्त्री बनेका कृष्णप्रसाद खनाल पनि अटेका छन् । 

तर, निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले माधवकुमार नेपालको पार्टीमा नाम आए पनि ३ जनाले आफुहरु एमालेमै रहेको भन्दै जानकारी गराएको दाबी गरेका छन् । सोहीअनुसार नै खनाल प्रदेशका मन्त्री बनेका हुन् । एमाले समाजवादीका नेता बनिसकेका राजेन्द्र पाण्डे हेटौँडामा के भइरहेको छ भन्ने विषयमा नबोल्ने भन्दै पन्छिएका छन् । 

अहिलेको अंकगणितअनुसार नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा दुईजना प्रदेशसभा सदस्यले साथ छाड्नेबित्तिकै शाक्य अल्पमतमा पर्नेछिन् । ओली पक्षको समर्थनमा मुख्यमन्त्री बनेका कारण निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहितका नेता शाक्यको समर्थनमा छन् ।  

१५ दिनपछि एमाले समाजवादीमा आउने आशा बोकेका माधव पक्षीय नेताहरु शाक्यलाई गठबन्धनबाट बहुमत पुर्याएर नेकपा एमालेलाई प्रमुख प्रतिपक्ष दल बनाउने दाउमा रहेका छन् । त्यसकारण शाक्यको मुख्यमन्त्रीमा भविष्य १५ दिनपछि कस्तो हुने भन्ने टुंगो लाग्नेछ ।   

  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १९:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया