सुविन भट्टराईले पढ्न सिफारिस गरेका तीन पुस्तक

नेपाली आख्यानको क्षेत्रमा सुविन भट्टराईको नाम निकै लोकप्रिय छ । । उनले लेखेका उपन्यास पढेर साहित्यप्रति धारणा बनाउने युवापुस्ताको ठूलो संख्या छ । सुविन लेखकसँगै एउटा राम्रो पाठक पनि हुन । लेखनका अलवा पढेर समय बिताउने सुविन नेपाली तथा विदेशी लेखकका थुप्रै किताव पढेका छन् । उनले पढेका पुस्तकमध्ये ३ पुस्तक आफ्ना फ्यान तथा साहित्यप्रेमी सबैलाई पढ्न सिफारिस गरेका छन् । 

घामका पाइलाहरू

सुविनले सिफारिस गरेको पहिलो पुस्तक हो- घामका पाइलाहरू । साझा प्रकाशनले बजारमा ल्याएको धनुषचन्द्र गौतमको यो उपन्यास नेपाली भाषाको उत्कृष्ठ कृति रहेको सुविन बताउँछन् । यो उपन्यासले वि.सं २०३५ को मदन पुरस्कार समेत प्राप्त गरेको थियो। उपन्यासको भाषाशैली असाध्यै सरल भएकाले जुनसुकै वर्गका पाठकले पनि यो उपन्यास पढ्न सक्ने सुविन बताउँछन् । उपन्यासका सबै पात्र सम्झन लायक रहेको बताउँदै सुविन भन्छन्, ‘मैले पढेको पुस्तकहरूमध्ये मलाई यो एकदमै राम्रो लाग्छ ।’

हिटलर र यहुदी

साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले लेखेको ‘हिटलर र यहुदी’ सुविनले सिफारिस गरेको अर्को पुस्तक हो । जर्मन तानाशाह हिटलरले लाखौँ निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा तयार पारिएको यो उपन्यास सुविनको प्रिय किताब हो । कोइरालाको लेखन शैलीको तारिफ गरेर नथाक्ने सुविन उनले उठान गरेको विषयवस्तुले हर कसैलाई तान्ने उनको तर्क छ । 

आगत



भवानी भिक्षुको उपन्यास ‘आगत’ सुविनले सिफारिस गरेको अर्को किताब हो । पछिल्लो समयका पाठकलाई यो उपन्यासको भाषा बुझ्न अलि गाह्रो हुने सुविनले जानकारी दिएका छन् । उनी भन्छन्, ‘पढ्दै गएपछि भने सजिलो लाग्न थाल्छ ।’ राणाकालका जमिन्दारीको कथा प्रस्तुत गरिएको यो पुस्तक निकै समय अगाडि लेखिएको हो । उनी भन्छन्, ‘त्यति पुरानो राणाकालको कथा भइकन पनि प्रगतिशील कथा यसभित्र पाइन्छ । यो पुस्तकमा एकजना पात्र छिन् सम्झना जसको भूमिकालाई कहिल्यै बिर्सन सक्दिनँ ।’



  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार ११:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया