आमा बन्दैछु भन्ने थाहा पाएपछि निकै दिन झस्किएँ
बच्चा भएपछि आफ्नो जिन्दगीको प्राथमिकता सकिँदो रहेछ

जिन्दगीको सपना गायिका बन्नु । सपनाको सहर काठमाडौं । अहिलेकी चर्चित गायिका बिन्दु परियारले सपनाको सहर पछ्याएर आफ्नो गाउँ छोडेको पनि लामो समय भयो । गाउँ छोडेर भर्खर काठमाडौं आएकी बिन्दुका लागि यहाँका हरेक बाटो बिराना लाग्थे । यही बिरानो बाटोमा हिँड्दाहिँड्दै अचानक भेटिए अर्घाखाँचीकै सुदिप सागर।

सुदिप पनि करिअर निर्माणको दौडमा थिए । करिअरको सुरुवातमै बिन्दु अरूकै गीत गाउन स्टुडियो गएकी थिइन् । त्यही स्टुडियोमा संगीत संयोजन (एरेन्ज) सिक्दै थिए सुदिप । पहिलो भेटमा सामान्य चिनजान भयो । यो भेटपछि अर्को भेट हुन झण्डै वर्ष दिन लाग्यो । 

१ वर्षपछि गीत गायनकै सिलसिलामा उनीहरूको पुनः भेट भयो । यो भेटले भने जिन्दगीको मोड नै परिवर्तन गरिदियो । बिन्दु र सुदिपले बाँकी जिन्दगीको यात्रा सँगै पूरा गर्ने निधो गरे । भेट भएको ४ महिनापछि आफूखुसी काठमाडौंमै बिहे गरे । 

धेरै कलाकारलाई बिहेपछि करिअर बिग्रिने डर हुन्छ । बिन्दुले भने करिअरकै लागि सुदिपलाई रोजेकी थिइन् । नाम बनाउने संघर्षमा रहेका दुबैसँगै हिँड्दा अप्ठ्यारोमा भर पाइएला भन्ने भयो । वैवाहिक जीवन प्रारम्भ गर्दा दुबैको एउटै सर्त थियो ‘एकले अर्कोलाई साथ दिने ।’ त्यो सर्तसहितको साथ करिअर विकासमा थियो । एक्लाएक्लै गरेको संघर्षभन्दा सँगै गर्दा निकै सहज हुँदो रहेछ जीवन यात्रा । यो सुदिप र बिन्दु दुबैको भोगाइ हो । 

बिहे गरेको ४ वर्षपछि आमा

बिन्दुको सपना बिहेपछि पनि उति साह्रो परिवर्तन भएन । उनी गायनलाइ नै प्राथमिकतामा राखेर हिँडिरहेकी थिइन् । सुदिप भने बेलाबेला बाबु बन्ने सपना सुनाउँथे । बिन्दु पहिलो करिअर विकास, त्योपछि सन्तान सुख भनेर सुनाउँथिन् । यही सुनाई र सम्झाइमा ४ वर्ष बिते । यो ४ वर्षमा कयौं प्रश्नको सामना सुदिप र बिन्दु दुबैले गरे । 



बिन्दुको करिअर उकालो गतिमा दौडिरहेको थियो । उनको ‘पर्ख पर्ख मायालु’ बोलको गीत चर्चित भइसकेको थियो । थुप्रै सुगम संगीतमा पनि बिन्दुको नाम अगाडि आउँथ्यो । बिन्दुको उमेर भने कच्चै थियो । परिवार र आफन्तले ‘बच्चा कहिले’ भनेर प्रश्न गर्न थालिसकेका थिए । सँगैका साथीसंगीले पनि अस्थाइ परिवार नियोजनका साधन धेरै प्रयोग गर्दा पछि बच्चै नहुने समस्या हुन्छ भनेर सम्झाउन थालिसकेका थिए । बिन्दु एक हिसाबले मानसिक दवावमा थिइन् । तर आमा बनिहाल्ने उनको सोच थिएन । 

भर्खर गति समातेको सांगीतिक यात्रालाई अझै उचाइमा पुराएर मात्रै सन्तानको बारेमा सोचौँला भन्ने थियो बिन्दुलाई । बिन्दुको सोच विपरित भैदियो । सावधानी अपनाउँदा अपनाउँदै उनी गर्भवती भइन् । पहिलो पटक आमा बन्दैछु भनेर थाहा पाउँदा डर र सन्त्रासले उनका आँखा टिलपिल भएका थिए । उनले सोचेकी थिइन्, ‘बच्चा भएपछि मेरो करिअर सकिन्छ ।’



बाबु बन्दै गरेको खबरले सुदिप भने निकै उत्साहित थिए । बिन्दु भने निकै दिन झस्किरहिन् । एकातिर बच्चा कसरी जन्माउने भन्ने चिन्ता । अर्कोतिर करिअरमा डिस्टर्ब हुन्छ भन्ने चिन्ता । यो चिन्ता र भयबाट बाहिर निस्कन बिन्दुलाई निकै दिन लाग्यो । उनी भन्छिन्, ‘खै त्यो बेला अलि धेरै सेन्सेटिभ भैदो रहेछ कि क्या हो ? डर र पिर एकै पटक लाग्थ्यो ।’ आँट नगरेर सुख थिएन । बिन्दुले पनि आँट गरिन् । करिअर र बच्चा सँगसँगै हुर्काउने निधो गरिन् । त्यतिबेला मन बलियो बनाउन सुदिपले पनि निकै साथ दिएका छन् । 

कष्टका ५ महिना

सोचेको जस्तो सजिलो कहाँ थियो र आफैभित्र अर्को जिन्दगी हुर्काउन ? गर्भावस्थाका ५ महिना पेटमा पानी पनि अडिँदैनथ्यो,  रिंगटा लागिरहन्थ्यो । हिजोअस्ति मिठो मानेर जिब्रो पड्काउँदै खाएका खानेकुरा अब देख्नासाथ गनाउने सूचीमा परेका थिए । बिन्दुलाई लाग्थ्यो ‘अब त मेरो जिन्दगी यसै जाने रहेछ ।’

गर्भावस्थाको यही समय स्टेज कार्यक्रममा बिन्दुको राम्रै चार्म्स थियो । स्टुडियोमा पनि भ्याइनभ्याइ हुन्थ्यो । उनले काम भने छाडिनन् । कार्यक्रममा जाँदा पेट देखिएला भनेर लजाउँथिन् । यही समयकी भए पनि उनलाई खै किन हो बेबी बम्ब देखाउन मन लागेन । आफ्नै उमेरका संगिनीसँग धेरै लाज लाग्थ्यो बिन्दुलाई । सोच्थिन्, ‘कहिले होला पहिलाजस्तो चटक्क परेर हिँड्न पाउँने ?’ ५ महिनापछि भने बिन्दुलाई बिस्तारै सहज हुँदै गयो । 

बिन्दुले उनको करिअरकै चर्चित गीत ‘पहिलो नम्बरमा’ गर्भावस्थाकै समयमा गाएकी हुन् । त्यो गीत गाउँदा उनी ६ महिनाकी गर्भवती थिइन् । पेटमा बच्चा दौडन्थ्यो । बिन्दुको मनमा कताकता काउकुती लाग्थ्यो । ‘सांगीतिक बजारमा उनकै चर्चा थियो । अहा ! खुसी त यसरी पनि आउँदो रहेछ जीवनमा’ बिन्दुलाई लाग्थ्यो । 

‘बच्चा पेटमा आएदेखि नै महिलाको जीवनले टर्न गर्दो रहेछ । मलाई जंग फुड असाध्यै खानु पर्ने । बाबु पेटमा आएपछि त खान पनि सोच्नुपर्ने’ बिन्दुले सुनाइन् । गर्भावस्थाको समयमा उनका आफन्तले निकै मिथकहरू सुनाए । कसैले ‘केरा खानु छोरा जन्मिन्छ’ भनिदिन्थे । कसैले ‘दही खानु बच्चा गोरो जन्मिन्छ’ भनिदिन्थे । उनलाई यी मिथकको पछि लाग्नु थिएन । उनलाई छोरा वा छोरी चाहिएको थिएन । मात्रै स्वस्थ बच्चा जन्माउनु थियो । तर, खै किन त्यो समय उनले नरिवलको पानी खुब खाइन् । भन्नेहरूले ‘नरिवलको पानीले पेटमा भएको बच्चा स्वस्थ हुन्छ’ भनिदिए । उनलाई पेटमा हुर्कँदै गरेको बच्चाको स्वास्थ्य ठूलो लाग्यो । 

महिना पुग्दै गएपछि कोल्टो फर्किन पनि गाह्रो हुन्थ्यो । कसैले भनेका सानै कुरा पनि मनमा बिज्दथ्यो । सुदिप बिन्दुको निकै ख्याल गर्थे । बिन्दुकी सासुले पनि यो समय उनका हरेक कुरा नियालेर उनको ख्याल गरिन् । बिन्दुलाई यही बेला महसुस भएको हो ‘परिवारको साथ कति ठूलो हुने रहेछ जिन्दगीमा ।’ भन्छिन, ‘यो बेला गरेको सानोसानो सहयोग पनि ठूलो बनेर बसिरहने रहेछ मनमा ।’

आमा हुनु प्राकृतिक कुरा हो

आमा हुनु सामान्य कुरा होइन । बिन्दुलाई पनि सामान्य लागेन । फेरि उति ठूलो पनि लागेन । भन्छिन, ‘संसारका अधिकांश महिला आमा भएका छन् । त्यसलाई समाजमा उदांगो बनाएर देखाइराख्नु जरुरी छैन । मलाई गर्भावस्थाका हरेक क्षण सामान्य लागे । ‘बेबी बम्प’ देखाएर फोटो खिच्न मन लागेन । ‘बेबी सावर’ गर्न मन लागेन ।’ यी सबै नगरेकोमा जिन्दगीमा केही छुटाएजस्तो पनि लागेको छैन बिन्दुलाई । 

दसैंको सिजन सुरु हुनै लागेको थियो । बच्चा जन्मिने समय नजिकिँदै । असोज १५ गतेलाई डेलिभरी डेट पाएकी बिन्दुको १४ गते नै पानी फुट्यो । उनी थापाथली अस्पताल पुगिन् । गर्वावस्थाका हरेक अवस्थालाई प्राकृतिक ठान्ने बिन्दुलाई प्रसव पीडा पनि प्राकृतिक लाग्यो । हरेक प्राकृतिक कुरा सजिलै पार गर्न कहाँ सकिन्थ्यो र ? उनलाई आफ्नो बच्चा पनि नर्मल नै जन्मियोस् भन्ने थियो । यही रहरका कारण ८ घण्टा प्रसव पीडा सहेर बसिन् । 

प्रसव व्यथाको क्रम जति बढ्दै जान्थ्यो उति बिन्दुको मन आत्तिन्थ्यो । त्यो समय बिन्दुको आँखामा मृत्यु बाहेक केही आउँदैनथ्यो । प्रसव व्यथाले च्याप्थ्यो, मनबाटै मृत्युको भय आउँथ्यो । उनलाई लाग्थ्यो ‘जिन्दगी यहीसम्मको रहेछ ।’ उनी बेस्मारी चिच्याउँथिन् । श्रीमानलाई बोलाइदिन भन्थिन् । प्रसुती वार्डमा लोग्ने मान्छे जान पाउँदैनथे । बिन्दुलाई भने श्रीमानको अँगालोमा मज्जाले रुन मन थियो । यो अभाव उनको मनमा आज पनि खड्किन्छ । उनलाई हिजोआज लाग्छ ‘एउटा बच्चा जन्मनु आमा बन्नु मात्रै होइन । बाबु बन्नु पनि हो । आफैले नभोगे पनि नजिकबाट यो पीडा महसुस गर्न लोग्नेमान्छेले पनि पाउनु पर्ने हो ।’

अप्रेसन थिएटरमा जान आत्तिएको मन

घण्टा लामो प्रसव व्यथाले पनि बिन्दुको बच्चा जन्मिएन । उनले आफ्नो जीवनको माया नै मारिसकेकी थिइन् । अन्तिममा डाक्टरले सुनाए ‘बच्चा नर्मल जन्मिदैन, अप्रेसन गर्नुपर्छ ।’ अरू अप्रेसन भनेपछि डराउँछन् । बिन्दुको मन भने अप्रेसन थिएटरमा जान आत्तिएको थियो । भन्छिन, ‘मेरा लागि अप्रेसनको निर्णय मृत्युबाट जोगिनु हो भन्ने थियो ।’  अप्रेसन थिएटरमा पसेपछिका केही घटनाक्रम उनलाई थाहा छैन । अर्धचेत अवस्थामा छोरा जन्मियो भनेको सुनेकी थिइन् । छोरा देखाएको याद छ । तर उनलाई त्यतिबेला छोराप्रति माया पलाएन, अपनत्व अनुभव भएन । 

अप्रेसन गरेको ५ दिनसम्म निकै गाह्रो भयो । त्यतिबेला बिन्दुलाई लाग्थ्यो ‘म सधैं यस्तै हुने हुँ कि ? पहिलाको जस्तो कहिले हुने होला ?’ यस्तै प्रश्न मनमा उठ्थे । उनी रुन्थिन्, आफन्त सम्झाउँथे । आफै उठेर हिँड्न नसक्दासम्म बिन्दुलाई छोराको माया लागेन । आफूलाई निकै कमजोर महसुस गर्थिन् । यो समय पनि उनका परिवारले निकै आडभरोसा दिए । अहिले सम्झन्छिन, ‘त्यो बेला झर्को मान्ने परिवार भैदिएको भए मलाई डिप्रेसन नै हुन्थ्यो होला ।’ 

पहिलो कुरा बच्चा जन्मिने बित्तिकै छोराप्रति माया पलाएन । अर्को आफैले दुध ख्वाउन सकिनन् । बच्चाले बट्टाको दुध खायो । आमाको दुधमा बानी पार्न ५÷६ दिन नै लाग्यो । पहिलो पटक बच्चाले दुध चुस्दाको दुखाइ बिन्दु अहिले पनि सम्झन्छिन । भन्छिन्, ‘दुधभन्दा पहिला रगत आएको थियो ।’ छोरोले दुध चुस्दा धेरैपछिसम्म बिन्दुका आँखाबाट आँसु आउँथे  । उनले धेरै रात आफ्नो छोरा आफैसँग सुताउन सकिनन् । आफैसँग सुताउन थालेपछि पनि उनी एक छेउमा डल्लो परेर सुत्थिन्, छोरो किचिएला भन्ने डरले ।

४५ दिनपछि पुनः काममा

सुत्केरी भएको ४५ दिनपछि बिन्दु पुनः काममा फर्किन् । एक्लै हुँदाजस्तो सजिलो हुँदैन रहेछ घरमा बच्चा छोडेर काममा निस्कन । ‘बच्चाको केयर, घरको काम, त्यो पछि रेकर्डिङ । बच्चा भएपछि त  आफ्नो जिन्दगीको प्राथमिकता नै सकिने रहेछ’, बिन्दुले सुनाइन् । 

५ महिनाको छोरो काठमाडौंमा । महोत्सवका लागि बिन्दु बागलुङमा । उनको जिन्दगीकै सबैभन्दा कठिन समय थियो यो । बिन्दुले सामान्य नै ठानेर छोरो छोडेर हिँडेकी थिइन् । तर आमा भएपछि मन सोचेको जस्तो सामान्य नहुँदो रहेछ । उनको आँखाभरि छोरो आउँथ्यो । यता छोरो के गथ्र्यो थाहा छैन । उनका भने आँखा भरिन्थे, स्तन गानिएर दुख्थे । २ दिनको महोत्सव थियो । यो दुई दिनमा २०० चोटि रुमालले दुध र आँसु एकैपटक पुछेकी छन् । 

बिन्दुलाई अहिले त्यो पल सम्झँदा अचम्म लाग्छ । भन्छिन् ‘जीवनमा खुसीसँगसँगै दुख पनि हुने रहेछ । सुखदुख दुबै अस्थायी रहेछन् । ती दुबै टरेर गए । हरेक परिस्थितिले एक समय सताउने रहेछ मान्छेलाई । जीवनमा जस्तो पल आए पनि सामना गर्नुपर्ने रहेछ । सायद मेरो जिन्दगीकै सबैभन्दा सुन्दर पल थियो होला त्यो । अब त्यो समय फर्किएर आउँदैन । फर्किफर्की आउने त उही सम्झना रहेछ । सम्झना चाहिँ दुःखको पनि मिठै आउँने क्या !’

  • प्रकाशित मिति : भदौ ५, २०७८ शनिबार ८:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया