क्रान्तिकारी स्वभावकी नेतृ मंगलादेवी सिंह

मंगलादेवी सिंहको १९९७ सालमा राजनीतिज्ञ गणेशमान सिंहसँग विवाह भएको थियो । राणविरोधी आन्दोन चरमोत्कर्षमा पुगेको त्यस समयमा नेपालभित्र राणकालीन बडाकाजीको बुहारी बन्दै उत्साह र उमंगका साथ भव्य समारोहबीच विवाह बन्धनमा बाँधिएकी उनले विवाहको ४३ महिनामा पतिसँग विछोडिनु पर्यो ।

तत्कालीन प्रजापरिषद सदस्य गणेशमान विवाहको ४ महिना नबित्दै पक्राउ परेका थिए । त्यसबखत मंगलादेवी आफ्ना श्रीमानको सपना पूरा गर्न घरपरिवारलाई छल्दै प्रजा पञ्चायतको सदस्य बन्न पुगेकी थिइन् ।

प्रजा पञ्चायतको लगातार बैठक भइरहँदा उनले ५ वटा बैठकमध्ये ४ वटा बैठकमा सहभागिता जनाइन् । विश्वेश्वरप्रसाद कोइराला अध्यक्ष रहेको उक्त प्रज्ञा पञ्चायतको बैठकमा धेरै विषयमा छलफल भैरहेको थियो । बैठकमा जति धेरै विषयवस्तुमाथि छलफल भए पनि महिलाका विषयमा भने छलफल हुन सकेन । महिलाका कुनै पनि विषयले बैठकमा प्रवेश नै पाएनन् । 

लगातार ४ वटा बैठकमा सहभागिता जनाउँदा पनि महिलाको कुनै पनि विषयले स्थान नपाएपछि मंगलादेवीलाई  लाग्यो ‘अब महिलाको छुट्टै संस्था खोल्नु पर्छ ।’ उनको मनमा छुट्टै संस्था खोलेर महिलाका मुद्दामा आवाज उठाउनु पर्ने विचार उम्रिन पुग्यो । यसलाई महिला संघ स्थापना गर्ने विचारको बीज अङ्कुरित भएको मान्न सकिन्छ । 

२००४ सालमा म्हेपीमा आयोजना गरिएको वनभोज कार्यक्रममा मंगलादेवीले महिलासंघ खोलेर महिला अधिकारका लागि महिलाहरूले नै काम गर्नुपर्ने विचार राखिन् । उनको विचारमा सहमति जनाउँदै वनभोजमा सहभागी अन्य २० जना महिलाले महिला अधिकारका लागि संघर्ष गर्ने निधो गरे । त्यसबेला प्रेमलता कंसकार, श्रीमाया, नानु प्रधान, प्रमिता कर्माचार्य, हरिदेवी श्रेष्ठ, सरोजनी मानन्धर, गुलबदन ताम्राकार, भानुदेवी, हिरादेवी तुलाधर, मिठुदेवी लगायत २१ जना थिए । यो महिला मात्रको प्रथम भेलाले नेपालको इतिहासमा पहिलोपटक नै महिलाका मुद्दामा आवाज उठाउने निर्णय गरेको थियो । यस भेलाले तत्कालीन श्री ३ पद्मशमशेरकहाँ महिला अधिकारको माग लिएर प्रतिनिधि जाने र नगरपालिकाको तुरुन्तै हुने भनिएको निर्वाचनमा भोट हाल्ने अधिकार महिलालाई पनि दिइनु पर्ने, महिलाहरूलाई पढ्नका लागि अधिकारको सुनिश्चितता गर्नुपर्ने जस्ता कुरामा श्री ३ बाट हुकुमप्रमाङ्गी गराउने निर्णय गरेको थियो । 

यसपछि २००४ साल साउन १६ गते भेडासिंहस्थित चिनियालालको घरमा बसेको बैठकले महिला संघ स्थापना गर्ने, साधारण सदस्यता वितरण गर्ने, कार्यसमिति चयन गर्नेजस्ता महत्वपूर्ण निर्णयहरू गरेको पाइन्छ । २००४ सालमै भएको सत्याग्रहमा भाग लिएको ४ महिनापछि मंगलादेवीको अध्यक्षतामा महिला संघ खोलिएको थियो । प्रथम महिला संघकी अध्यक्ष मंगलादेवीले प्रजातन्त्रको पुनः स्थापना  भइसक्दा पनि महिलाको सम्पतिमा समान हक हुनु पर्ने आवाज उठाइरहेकी थिइन् । २०४२ सालको सत्याग्रहको अवसरमा पनि उनले महिलालाई सम्पत्तिमा समान अधिकार भन्दै महिला अधिकारका लागि आवाज उठाइ नै रहिन् । 



क्रान्तिकारी स्वभावकी मंगलादेवी महिलाहरू जम्मा गरेर विकट परिस्थितिमा महिला संघ खोल्न सफल बन्दै जीवकुमारी र योगमायाले जस्तै अधिकारका लागि मागहरू लिएर श्री ३ पद्मशमशेरकहाँ गइन् । उनले जीवकुमारीले झैं पत्र पठाइनन् । नत योगमायाले जस्तो सन्त भेषमा धर्मराज्यको नै माग गरिन् । उनले त अरू महिलाहरूसहित प्रतिनिधि मण्डल नै गएर महिलाहरूका लागि पढ्न विद्यालय र महिलाहरूलाई राजनीतिक अधिकार अर्थात् मताधिकारको माग गरिन् । जुन वैधानिक कानुन, २००४ आएपछि पाइने विश्वास थियो । यसकै परिणामस्वरुप पद्मशमशेरले पढ्नका लागि आफ्नै नाममा पद्मकन्या स्कुल स्थापना गरिदिएका थिए । 

मंगलादेवीको नेतृत्वमा महिलाहरुले प्रथम भेलामा नै गरेको निर्णयबमोजिम २१ जना महिलाहरू पद्मशमशेरको निवास विशालनगरमा प्रतिनिधि मण्डल (डेलिगेसन)मा गएका थिए । त्यतिबेला विशालनगर निवासमा बाहिर बस्ने ढोके, पाले, डिठ्ठा र बिचारी सबैलाई किन आएको भन्ने जवाफमा अधिकार माग्न सरकारलाई भेट्न आएको भन्ने जवाफ दिँदै सबैलाई उनीहरूले आफ्नो निडरपन देखाएका थिए ।



उनीहरूको त्यो निडरपन देखेर त्यस बखत सबै छक्क परेका थिए । धेरैले दर्शन गर्न आएको भनेर शिष्टता प्रदर्शन गर्नुपर्छ भनेर सिकाएका थिए । तर, विरोधको रापमा दनदन बलेकी निडर मंगलादेवीलाई शिष्टता होइन आफ्नो अधिकार मात्रै थाहा थियो । अरूलाई दिएको जवाफ त के थियो र ? उनले त्याे बेला आफ्नै बुढा ससुरा बडाकाजीलाई पनि सिधै सरकारलाई भेट्ने र अधिकार माग्न आएको भनेर निर्भिकताकासाथ जवाफ दिएकी थिइन् । त्यसबेला प्रधानमन्त्रीका हजुरिया कर्णेलले तिमी ठूलाकी बुहारी इज्जतमा बस्नुपर्छ, जो पायो त्यहीसँग हिँड्नु हुँदैन भनेर सम्झाएका पनि थिए । यो सम्झाइले झन रिसाएकी मंगलादेवीले सबैको इज्जत हुन्छ भन्दै आफूसँग गएका महिलाहरूलाई देखाउँदै भनेकी थिइन्, ‘यिनीहरूको पनि इज्जत छ । यहाँ यी सबै अधिकार माग्न आएका हुन् ।’ 

मंगलादेवीको यो जवाफपछि पद्मशमशेरको मनमा के बिझ्यो थाहा छैन । उनले त्यसपछि सबैलाई भेट्न बोलाएका थिए । भेटका लागि भित्र पसेका महिलाहरूलाई बस्न भनेका थिए । तर, उनीहरूले उठेरै नगरपालिकाको चुनावमा महिलाले पनि भोट हाल्न पाउनुपर्ने र पढ्नका लागि व्यवस्था गरिनुपर्ने माग राखेका थिए । मंगलादेवीले त्यसबेला भनेकी थिइन्, ‘सरकारले आफ्नै नाममा स्कुल खोले सरकारको नाम रहने थियो । हामीले पनि पढ्न पाउने थियौँ ।’ त्यसपछि पद्मशमशेरले ‘म विचार गर्छु’ भनेर सरल जवाफ फर्काएका थिए । तर, मंगलादेवीले विचार गर्छु मात्रै भनेर नहुने लेखेर दिनुपर्ने अड्डी कसेपछि उनले नजिकै उभिएका सहयोगीलाई लेख्न लगाएर प्रतिबद्धता जनाएका थिए । 

वैधानिक कानुन जारी गर्ने सोचमा रहेका पद्मशमशेरले ती सबै माग पूरा गर्ने जवाफ दिए । फलस्वरूप २००४ सालमा वैधानिक कानुन आयो । उक्त कानुनले महिलालाई मताधिकार प्रदान गरेको थियो । यसका सदस्यहरूको समेत प्रयासमा २००७ साल फागुन ७ गते प्रजातन्त्र आएको थियो । प्रजातन्त्र आएपछि उक्त महिला संघलाई वैधानिकता प्रदान गर्न २००८ साल साउन २७ गते काठमाडौंको भूगोलपार्कमा महिलाहरूको बृहत भेला आयोजना गरिएको थियो । यसरी प्रजातन्त्र र महिला हकहितका लागि निरन्तर लड्ने मंगलादेवीलगायत धेरै महिलाहरूले जेल र निर्वासित जीवन अपनाउँदै भए पनि निरन्तर संघर्ष गरिरहेको पाइन्छ ।  

पहिलो महिला शिक्षा आन्दोलनको दुःखद् अन्त्य

  • प्रकाशित मिति : भदौ ५, २०७८ शनिबार १३:६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया