मकवानपुरमा कोरोना फैलाउँदै कांग्रेस र एमाले !

मकवानपुर प्रशासनले कोरोना नियन्त्रणका लागि विभिन्न निर्णय गर्दै सवारी साधन चलाउनेदेखि व्यवसाय सञ्चालनका लागि समेत समयसीमा तोकेको छ।  कोरोना नियन्त्रणका मापदण्ड पूरा नगरेको भन्दै केहि व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएर जरिवाना समेत गरेको छ।

तर राजनीतिक दल र तिनका भातृ संगठनलाई भने भीडभाड गरी कार्यक्रम गर्ने छुट छ । कोरोना फैलाउन मद्दत गर्ने राजनीतिक दलका गतिविधिमा मकवानपुर प्रशासन मौन छ।

कोरोना नियन्त्रणका लागि भन्दै व्यवसायी तथा सर्वसाधारणलाई चर्को दुख दिने प्रहरी र प्रशासनले राजनीतिक दलका नेता, कार्यकर्तालाई छुन पनि सकेको छैन । 

शनिबार हेटौंडामा नेकपा एमालेको भातृ संगठन युवा संघको जिल्ला भेला भयो । जिल्ला भेलामा १०० बढीको सहभागिता थियो । प्रशासनले योयो गतिविधि नदेखेझैँ गर्यो । यस्तै नेपाली कांग्रेसले पार्टी प्रवेश कार्यक्रमसहति  वडा तहसम्म भेला गरिरहेको छ । ती कार्यक्रममा पनि प्रशासनले कुनै हस्तक्षेप गरेको देखिँदैन । 

युवा संघको भीडमा डोरमणिको भाषण 

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको जिल्ला कमिटी शनिबार घोषणा भयो ।  उक्त कार्यक्रममा प्रमुख अतिथी थिए । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल।



साढे ३ वर्ष भन्दा बढी प्रदेश सरकार चलाएका पौडेलले कार्यक्रममा चर्को भाषण गरे। उनले नेपालको विकास गर्न एमालेको सरकार पुनः अपरिहार्य रहेको बताए । नेपालमा एमाले सरकारको पालामा मात्र विकासको फुट्ने दावी उनले गरे ।



आउँदो निर्वाचनमा एमालेले अत्याधिक मत सहित फेरी देशको सक्ता सञ्चालन गर्ने बताए । नेपालले पहिलो र दोस्रो लहरको कोरोना महामारी झेल्दा प्रदेश सरकारको नेतृत्व पौडेले नै गरे । आफ्नै सरकारको पालामा प्रशासनले लगाएका बन्देजका बारेमा उनलानई कुनै मतलब थिएन । संक्रमणको जोखिमलाई बेवास्ता गर्दै जम्मा भएको भीडमा मस्तले भाषण दिन व्यस्त थिए । 

शनिबारको कार्यक्रममा युवा संघले ३११ सदस्यीय जिल्ला कमिटीइ घोषणा गरेको छ । जिल्ला सदस्यहरुको  सपथग्रहण कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा एमालेका बागमती प्रदेश सदस्य रघुनाथ खुलाल, एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ लगायत उपस्थित थिए । 

कांग्रेस पनि छैन कोरोनाको डर 

नेपाली कांग्रेस मकवानपुरले शनिबार विभिन्न पार्टी परित्याग गरी पार्टीमा प्रवेश गर्नेका लागि स्वागत कार्यक्रम राखेको थियो । 

मकवानपुर गढी गाउँपालिका ३ र ४ का विभिन्न स्थानका १९७ जना नेपाली कांग्रेसमा प्रवेश गरेको भन्दै प्रचार गर्यो ।  नेपाली कांग्रेस मकवानपुर गढी ३ र ४ वडाको संयुक्त आयोजनामा मक्रान्चुलीमा शनिबार पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रममा एमाले, माओवादी र राप्रपाका १९७ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेसको बताएको छ ।

कांग्रेस गढी गाउँपालिका ३ र ४ का सभापति क्रमशः विजय लामा र कृष्णबहादुर खड्काको संयुक्त ध्यक्षतामा कार्यक्रम भएको थियो । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि थिए ।

भएको कार्यक्रममा नवप्रवेशी हरुलाई पार्टीको सदस्यता दिई खाँदा लगाएर स्वागत गरिएको थियो ।  उक्त कार्यक्रममा कांग्रेसका एक दर्जन भन्दा बढि वक्ताले बोलेका थिए । 

जनप्रतिनिधिको भेला

नेपाली कांग्रेस मकवानपुरले कांग्रेसबाट मकवानपुर जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुसँग शनिबार छलफल गरेको छ । कांग्रेसबाट मकवानपुर जिल्ला स्थानीय निकायमा निर्वाचित नगरपालिका र गाउँपालिकाका प्रमुख÷उपप्रमुख तथा वडा अध्यक्षहरुसँग जिल्ला पार्टी कार्यालयमा छलफलमा आयोजना गरिएको थियो । 

अहिले स्थानीय निकायमा भोग्नुपरेका समस्या तथा कांग्रेसको आसन्न १४औं महाधिवेशनका बारेमा वडाअध्यक्ष तथा प्रमुख,उपप्रमुखहरुले आ–आफ्ना धारणा राखेका थिए । नेपाली कांग्रेसबाट मकवानपुर जिल्लाको स्थानीय निकायहरुमा निर्वाचित जनप्रतिनिधिहरु ३१ वडा अध्यक्ष र ४ जना प्रमुख÷उपप्रमुख रहेका छन् ।

व्यवसाय गर्ने, अन्य प्रयोजनका लागि भेला, जमघट गर्नेलाई कडाइ गर्दा प्रदेश सरकारको नेतृत्व गरेको एमाले र केन्द्र सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस पार्टी नै  संक्रमण फैलाउन उद्धत देखिएका छन् । प्रशासनले पनि उनीहरुका गतिविधिमा ध्यान दिएको छैन । 

  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार १२:३२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया