हेटौँडा उपमहानगरले बाँड्यो १०७ गाई र ३६० बंगुर

हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्षमा कृषि र पशुपालन क्षेत्रमा गरेका काम प्रभावकारी भएको दाबी गरेको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा किसानलाई विभिन्न शीर्षकमा अनुदान दिएको छ।

उपमहानगरले किसानका लागि गाई, बंगुरका पाठा, बोयरजातका बाख्रा वितरण कार्यक्रमलाई प्रभावकारी बनाइएको मेयर हरि बहादुर महतले बताए। आर्थिक वर्ष २०७७/०७८ मा उपमहानगरलाई दूध र मासुमा आत्मनिर्भर बनाउने योजना बनाइएको थियो। 

यसका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान आएको थियो। सो अनुदानबाट उपमहानगरपालिका भित्रका कृषक समूह तथा सहकारीका सदस्यलाई ७५ वटा गाई र आन्तरिक बजेटबाट ३२ वटा गरी १०७ वटा गाई वितरण गरिएको नगरप्रमुख महतले जानकारी दिए। 

यसैगरी उपमहानगरले  बंगुर प्रवद्र्धन कार्यक्रम अन्तर्गत ३६० वटा बंगुरका पाठा अनुदानमा उपलब्ध गराएको छ। हेटौँडामा नै बसेर पशुपालन र कृषि कार्यमा लागेकालाई प्राथमिकता दिएर वितरण गरिएको छ।

‘साविक हेटौँडा नगरपालिकाका ११ वडा भन्दा पनि थपिएका वडाहरूमा गरिब, दलित, जनजाति परिवारलाई पशुपालनमा प्रोत्साहन गर्नका लागि अनुदान दिएका छौँ’ महतले भने। 

बोयर बोकादेखि चिलिङ भेटसम्म



हेटौंडा उपमहानगरपालिकाले बाख्राका ५ वटा पकेटक्षेत्रमा १३० वटा बोयर जातका पाठी र ५ वटा बोयर जातका बोका वितरण गरेको छ। यसैगरी २ वटा दुग्ध उत्पादक सहकारी संस्थालाई१–१ वटा चिलिङ भेट मेसिन उपलब्ध गराएको छ।

वार्षिक नियमित कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको घाँसको बिउ वितरण कार्यक्रम, पशु कृतिम गर्भाधान, औषधी खरिद तथा वितरण कार्यक्रम, साना कृषक सहयोग कार्यक्रम अन्तर्गत ४२ वटा खोर र गोठ मर्मत सुधार कार्यक्रम सम्पन्न भएको उपमहानगरपालिका आर्थिक विकास महाशाखा  प्रमुख गंगा चौलागाईंले बताइन्।



पशुसेवा कार्यालयको सहयोगमा मेडिकल उपचारतर्फ ४ हजार २१०, गाईनोक्लोजिकल उपचारतर्फ २ हजार ३९०, माइनर सर्जिकलतर्फ ९७०, गोबर परीक्षणतर्फ १० हजार ९०० सय पिपिआर खोप सेवातर्फ ६० हजार, खोरेत खोप सेवातर्फ १६ हजार र कृत्रिम गर्भाधान सेवा तर्फ ७ हजार ९ सय सेवाहरु प्रदान गरिएको चौलागाईले जानकारी दिइन्। 

  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १५:२५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया