अनुमति पाएको चार महिना बितिसक्दा पनि निजी क्षेत्रले किन ल्याउन सकेनन् कोरोना खोप ?

निजी क्षेत्रले कोरोना भाइरसविरुद्धको खोप ल्याउने अनुमति पाएको चार महिना बितिसक्यो । तर अहिलेसम्म उनीहरुले खोप ल्याउन सकेका छैनन् । औषधि व्यवस्था विभागले गत चैतको पहिलो सातामा नै खोप ल्याउनका लागि निजी क्षेत्रलाई अनुमति दिएको थियो । चार महिना बितिसक्दा पनि उनीहरुले खोप कहिले ल्याउने भन्ने टुंगो छैन । 

औषधि व्यवस्था विभागले तीनवटा आयातकर्तालार्ई खोप खरिदका लागि अनुमति दिइसकेको थियो । जसमा हुकम डिस्ट्रिब्युटर्स, इमराल्ड फर्मा र लोमस फर्मालाई भारत र रसियाबाट खोप ल्याउने अनुमति दिएको थियो । हुकमले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप ल्याउने अनुमति पाएको थियो ।
 
त्यस्तै, इमराल्डले भारतकै बायोएनटेकले उत्पादन गरेको ‘कोभ्याक्सिन’ खोप ल्याउने अनुमति पाएको थियो भने लोमस फर्माले रसियन खोप ‘स्पुतनिक भी’ खोप ल्याउने अनुमति पाएको थियो । 

अहिलेसम्म उनीहरूले खोप ल्याउन सकिरहेका छैनन् । सरकारले निजी क्षेत्रलाई पनि खोप खरिदको अनुमति दिएको थियो । त्यसका लागि खोप खरिदसम्बन्धी मापदण्डसमेत तोकेको थियो । जसमा खोपको प्राप्ति र प्रयोगसम्बन्धी अवधारणापत्रअनुसार खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम गरी बिक्री गर्न पाउने थियो । तर, उनीहरुले हालसम्म खोप नै ल्याउन सकेका छैनन ।  

भारतको ‘कोभिसिल्ड’ र ‘कोभ्याक्सिन’ खोपलाई त्यहाँको सर्वोच्च अदालतले बिक्री वितरणमा गर्न रोक लगाएको छ । जसका कारण भारतले नेपालसँग शुल्क लिइसकेर पनि १० लाख डोज कोभिसिल्ड खोप पनि दिन सकेको छैन । 

यस्तो अवस्थामा निजी क्षेत्रले खोप खरिद गर्न सम्भव देखिँदैन । इमराल्ड फर्माका निर्देशक सुरेन्द्र नायकले तत्काल खोप ल्याउन सकिने अवस्था नरहेको बताए । भारतको सर्वोच्च अदालतले अर्को निर्णय नगर्दासम्म खोप दिन नसकिने कम्पनीले जानकारी दिएको उनको भनाइ छ । 

‘जबसम्म भारत सरकारले अनुमति दिँदैन, तबसम्म दिन सकिँदैन भन्ने जवाफ आएको छ,’ उनले भने, ‘हामीले अहिले पनि प्रयत्न गरिरहेका छौँ, तर गाह्रो छ ।’ सरकार नै सक्रिय लागेको खण्डमा मात्र खोप ल्याउन सकिने उनको भनाइ छ । 



विभागका सूचना अधिकारी सन्तोष केसीले निजी कम्पनीले खोप ल्याउने सम्भावना नरहेको बताए । सरकारी स्तरकै प्रयासबाट खोप ल्याउने काम भइरहेकाले निजी क्षेत्रले खोप ल्याउने सम्भावना निकै कम रहेको उनको भनाइ छ ।  

सरकारले सीधै सरकार वा कम्पनीबाटै खरिद गरेर ल्याउन त गाह्रो भइरहेको भन्दै उनले यस्तो अवस्थामा निजी कम्पनीले खोप ल्याउन सक्ने सम्भावना निकै कम रहेको बताए ।  



खोप निर्माता कम्पनीले उत्पादनमा वृद्धि गरेपछि मात्र निजी क्षेत्रले खोप ल्याउन सकिने नायकले बताए । सरकारले सहजीकरण गरेको खण्डमा निजी क्षेत्रले खोप ल्याउन सहज हुने उनको भनाइ छ । तर, अहिले सरकारले पनि सहजीकरण गर्न नसकेको उनी बताउँछन् । 

नेपालमा आजसम्म ४९ लाख ४३ हजार ७३२ जनाले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । तीमध्ये ३८ लाख ५७ हजार ५९८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । 

नेपालमा अहिलेसम्म ८२ लाखभन्दा बढी डोज अनुदानमा आएको छ भने ५० लाख डोज किनेर ल्याइएको छ । नेपालले थप खोपका लागि विभिन्न देश तथा खोप उत्पादन कम्पनीसँग पहल गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकार आफैँले खोप खरिद गरेर सबै नागरिकलाई निःशुल्क खोप दिने योजना छ । त्यही कारण पनि निजी क्षेत्रले ल्याउने भनिएको खोपका लागि सरकारले सहजीकरण गर्नमा चासो नदिएको निजी क्षेत्रको गुनासो छ । 

थप निजीले पाएनन् अनुमति

बायोमेटिक्स प्रालिले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको कोरोनाभ्याक खोप खरिदको लागि अनुमति मागेको थियो । तर, विभागले अहिलेसम्म खोप खरिदको अनुमति दिएको छैन । कम्पनीले गत जेठमा अनुमति मागेको थियो । तर, अहिलेसम्म अनुमति नमिलेको बायोमेटिक्सले जनाएको छ । 

कम्पनीका निर्देशक बिके भण्डारीले अहिलेसम्म विभागले अनुमति नदिएको बताए । के कति कारणले अनुमति नमिलेको भन्ने केही जानकारी नपाएको उनको भनाइ छ । बायोमेटिक्सले अनुमति पाएको २० दिनभित्रमा खोप ल्याएर वितरण गरिसक्ने दाबी गरेको थियो । 

  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार २१:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया