छिमेकी भारतमा प्रत्यक्ष वैदेशिक लगानी बढेको छ । यो वर्षको मे महिनासम्ममा यस्तो लगानी बढेर १२.१ अर्ब डलर पुगेको वाणिज्य एवम् उद्योगमन्त्री पीयूष गोयलले बताएका हुन् ।
सरकारले २०२१-२२ मा ४०० अर्ब डलरको निर्यात लक्ष्य हासिल गर्नका लागि एक ‘मिसन मोड’ मा काम गरिरहेका पनि उनले जानकारी दिए ।
निर्यात वृद्धिलाई प्रोत्साहित गर्न अलग-अलग उद्योग संगठनको एक बैठकलाई सोमबार सम्बोधन गर्दै गोयलले भने, ‘भारतले २०२०-२१ मा अहिलेसम्मको सबैभन्दा अधिक एफडिआई प्राप्त गरेको छ । यो १० प्रतिशत बढेर ८१.७२ अर्ब डलर भएको छ र २०२१ को मे महिनामा एफडिआई १२.१ अर्ब डलर पुग्यो, जुन मे २०२० को तुलनामा २०३ प्रतिशत बढी हो ।’
उनले देशको निर्यातमा पनि उल्लेख्य वृद्धि भइरहेको बताए । यो महिना (१-१४ अगस्ट) मा निर्यात २०२०-२१ को यही अवधिको तुलनामा ७१ प्रतिशत र २०१९-२० को तुलनामा २३ प्रतिशत अधिक भएको छ ।
मन्त्री गोयलका अनुसार, भारतको आयातमा औसत रूपमा लागू गरिएको आयात शुल्क (ड्युटी) २०२० मा घटेर १५ प्रतिशत रहेको छ, जुन २०१९ मा १७.६ प्रतिशत थियो । भारतमा लागू गरिएको यस्तो शुल्क ५०.८ प्रतिशत (विश्व व्यापार संगठनले स्वीकृत गरेको दर) को तुलनामा निकै कम हो ।
कोरोना महामारीका कारण भारतमा रोजगारी निकै कम हुँदै गएको छ । कयौं ठूला उद्योग बन्द भएका छन् वा तिलने आफ्नो क्षमताभन्दा निकै कम मात्रै उत्पादन गर्न थालेका छन् । यसबाट मजुदरको आम्दानी घट्न गएको छ ।
मन्त्री गोयलका अनुसार, भारतमा ५४ हजार स्टार्टअपले अहिले साढे पाँच लाख जनालाई रोजगारी दिएको छ । आगामी पाँच वर्षमा ५० हजार नयाँ स्टार्टअप खुल्ने र तिनले २० लाख नयाँ रोजगारी सिर्जना गर्ने पनि उनले बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।