साताको कारोबार खुलेको पहिलो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । मंगलबार बिहानैदेखि खुलेदेखि नै ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदा ५६ अंकले घटेको हो ।
बजारमा जलविद्युत् समूहमा सबैभन्दा बढी ६.२१ अंक अर्थात् २३२ अंकको गिरावट आएको छ । सो समूहका १४ कम्पनी नकारात्मक देखिएका छन् । यो समूहका ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै घट्न पुगेको छ ।
मंगलबार विकास बैंक समूहको परिसूचकमा पनि २४४ अंकले गिरावट आएको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचकमा करिब २० अंकको गिरावट आएको छ ।
मंगलबार सबै समुहमा उच्च गिरावट आउँदा फाइनान्स र निर्जीवन बिमा समूहको परिसूचक भने बढ्न पुगेको छ । मंगलबार २२५ कम्पनीको २ करोड ५३ लाख कित्ता सेयर खरिदबिक्री भई १६ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
यसअघि गत हप्तासम्म हकप्रद सेयरको हल्लाले उचालिएको बजार पछिल्लो समय नियामक निकायले हकप्रद नदिने बताएसँगै गिरावट आउन सुरु गरेको हो । गत हप्ता बुधबार जलविद्युत् क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगले एक सूचना नै जारी गरेर लगानीकर्तालाई सुसूचित गराएसँगै गिरावट आउन सुरु गरेको बजारमा पछिल्लो समय कुनै पनि प्रयोजनका लागि तत्कालै हकप्रद नदिने बताएसँगै उच्च गिरावट आएको हो ।
विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीको हकप्रद सेयर निष्कासनसम्बन्धी निर्देशनको मस्यौदामा बैंकको कर्जा तिर्नसमेत हकप्रद सेयर निष्कासन गर्न दिने विषय उल्लेख गरेसँगै उचालिएको उक्त समूहका कम्पनीको मूल्य बढेको थियो ।
तर, हकप्रदकै विषयलाई बजारमा उच्च चलखेल भएको भन्दै ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री फम्फा भुसालले सो विषयमा चासो राख्दै हकप्रद रोक्ने प्रक्रिया अघि बढाएसँगै जलविद्युत क्षेत्रका कम्पनीमा गिरावट आउन सुरु गरेको हो ।
जलविद्युत् कम्पनीले बैंकको कर्जा तथा ब्याजसमेत नतिर्ने, तर नकारात्मक नेटवर्थ भएका कम्पनीको समेत सेयर मूल्य उच्च रुपमा बढाएर प्रवद्र्धकहरु बाहिरिन थाले पनि मन्त्री स्वयंले सो विषयमा एक्सन लिएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।