नेपाली सेना र इन्डोनेसियाको जहाज निर्माता कम्पनीबीचको लफडा के हो ?

नेपाली सेना र इन्डोनेसियाको जहाज निर्माता कम्पनी पिटिडिआईबीच अहिले लफडा चलिरहेको छ । यस लफडालाई महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा पनि समेटिएको छ । 

नेपाली सेना र पिटिडिआईबीचको लफडा अर्थ (पैसा) सँग जोडिएको छ । यो लफडाको कारण हो नेपाली सेनाले पाउनु पर्ने क्षतिपूर्ति रकम २२ लाख ९ हजार ५९४ अमेरिकी डलर (२६ करोड ७२ लाख ९५ हजार रुपैयाँ) । 

रक्षा मन्त्रालयका अनुसार पिटिडिआईसँग २०७४ असार २ गते मध्यम खालको विमान सिएन२३५–२२०’ खरिद गर्न नेपाली सेनाले सम्झौता गरेको थियो । विमान खरिद सम्झौता ३ करोड ४ लाख ७७ हजार अमेरिकी डलरमा भएको थियो । सम्झौतापछि सेनाले ३ अर्ब ४० करोड ९१ लाख प्रतीतपत्र पेस्की उपलब्ध गरेको थियो । 

सम्झौतामा पेस्की प्राप्त गरेको मितिले दुई वर्षभित्र विमान र आवश्यक उपकरण सबै बुझाइसक्नु पर्ने उल्लेख गरिएको थियो । इन्डोनेसियाको कम्पनीले उक्त जहाज नेपाली सेनालाई २०७६ कात्तिक १६ गते परीक्षण उडान गरी सुम्पेको थियो । जगेडा पाटपुर्जासहित केही सामान भने उक्त कम्पनीले २६९ दिन ढिला गरी उपलब्ध गराएको थियो ।  

ढिला भएको दिनमध्ये १२४ दिन नेपाली सेनाको कारण भएको थियो । सम्झौताअनुसार ढिला गरेबापत बाँकी १४५ दिनको क्षतिपूर्ति विमान निर्माता कम्पनीले नेपाली सेनालाई २२ लाख ९ हजार ५९४ अमेरिकी डलर बुझाउनु पर्थ्यो ।

नेपाली सेनाले इन्डोनेसियन कम्पनीलाई रकम भुक्तानी गर्दा प्रतीतपत्र पेस्कीबाट आफूले पाउनु पर्ने उक्त क्षतिपूर्ति रकम कट्टा गरेको छ । जसप्रति पिटिडिआईले आपत्ति जनाएको छ । 



‘हामीले विमान खरिदको सम्पूर्ण रकम सार्वजनिक खरिद ऐन र नियमावली अनुसार भुक्तानी गरेका छौं’, नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले फरकधारसँग भने । 

पिटिडिआईले क्षतिपूर्ति रकम कटाउन नपाइने भन्दै कटाइएको रकम भुक्तानी गर्न ताकेता गरिरहेको छ । उसले काटिएको रकम पाउन नेपाली सेनासँग बारम्बार संवाद र वार्ताको लागि अनुरोध गरिरहेको छ । तर नेपाली सेनाले भने नियम अनुसार कटाउनु पर्ने रकम कटाएको र भुक्तानी गर्नुपर्ने रकम गरिसकेको जनाउँदै सम्वाद गर्न चाहेको छैन । 



‘हामीले नियमअनुसार पाउनु पर्ने क्षतिपूर्ति रकम कटाई इन्डोनेसियन कम्पनीलाई दिनुपर्ने रकम भुक्तानी गरिसकेका छौं । हामीलाई यसबाट कुनै नोक्सानी भएको छैन’,सैनिक प्रवक्ता पौडेलले स्पष्ट पारे । 

क्षतिपूर्ति बुझाउन आपूर्तिकर्ता इन्डोनेसियन कम्पनी सहमत नभएकोले नेपाली सेनाले पेस्की फर्छ्यौट गरेको छैन। महालेखाले भने उक्त विवाद छिटो समाधान गरी पेस्की फर्छ्यौट गर्न भनेको छ । 
 

  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १६:३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया