प्रधानन्यायाधीशको आग्रह – विचाराधीन मुद्दामा समाचार नलेख्नुस्

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । 

संवैधानिक तथा कानुन पत्रकार मञ्चले मंगलबार बडादसैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘विचाराधीन मुद्दाका समाचार लेख्नाले न्यायसम्पादन र मानव अधिकारमा समेत क्षति पुगेको हुँदा आगामी दिनमा यस्ता मुद्दामा समाचार नलेख्न आग्रह गर्छु ।’ 

प्रत्येक निकायमा सुधारको आवश्यकता रहेको उल्लेख गर्दै उनले न्यायालयभित्र पनि सुधार गरेर अगाडि बढ्न आफू तयार रहेको र त्यसका लागि कानुन व्यवसायी र सञ्चारमाध्यमको सहयोगको आवश्यकता रहने बताए । 

न्यायालयको सुधार गरी जनतामा न्यायको अनुभूति दिलाउने तरिकाले न्यायालयले काम गरिरहेको उनले स्पष्ट पारे । प्रधानन्यायाधीश मिश्रले प्रेसलाई आफूले सम्मान गर्ने भन्दै न्यायालयमा पनि प्रेसलाई बाटो खुला रहेको बताए । 

मञ्चका अध्यक्ष लीलाधर उपाध्यायले विगतमा न्यायालयमा धेरै उतारचढाव आउने गरेको स्मरण गराउँदै जनताले न्यायको अनुभूति गर्ने गरी न्यायसम्पादन गर्नुपर्नेमा जोड दिए । 



चियापन समारोहमा प्रधानन्यायाधीश मिश्रसहित सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीलगायत अन्य पदाधिकारी, सर्वोच्च बार एसोसिएसनका पदाधिकारी, वरिष्ठ अधिवक्ता, अधिवक्ता र पत्रकारको उपस्थिति थियो । 
 



  • प्रकाशित मिति : असोज २३, २०७५ मंगलबार १७:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया