जनमोर्चा सुदूरपश्चिममा विवाद : लम्साल नेतृत्वमा प्रदेश पार्टी पुनर्गठन

नेपालमा पार्टीहरु फुटिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चा नेपाल सुदूरपश्चिममा पनि विवाद उत्पन्न भएको छ । जनमोर्चाको एक पक्षले प्रदेशको नेतृत्व अक्षम भएको भन्दै विद्रोह गरी प्रदेश पार्टी कमिटी पुर्नगठन गरेको छ । 

हिजो र आज धनगढीमा भएको राष्ट्रिय जनमोर्चा सुप प्रदेशका अगुवा नेता–कार्यकर्ताले प्रदेशका भेला गरी पार्टी पुनर्गठन गरेको छ । जनमोर्चा केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज लालबहादुर जाग्रीको प्रमुख आतिथ्यमा भेला गरी पार्टी पुनर्गठन गरेको हो ।
 
यसअघि नन्दराम भट्ट नेतृत्वको जनमोर्चा प्रदेश कमिटी थियो । राष्ट्रिय जनमोर्चा कञ्चनपुरका पूर्वअध्यक्ष एवं केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्सालको नेतृत्वमा प्रदेश कमिटी पुनर्गगठन भएको छ । गत चैत बुटवलमा सम्पन्न भएको पार्टीको महाधिवेशनबाट प्रदेश कमिटीलाई कार्यकारी बनाउने र पार्टी पुर्नगठन गरेर जनताको जनजीविका एवं राष्ट्रियताका सवालमा मुद्दा उठान गर्ने पार्टीले स्पिरिट अघि सारे पनि प्रदेश नेतृत्वले केही गर्न नसकेको भन्दै प्रदेशमा भेला गरेर पार्टी पुनर्गठन गरिएको नयाँ चयन भएका अध्यक्ष लम्सालले बताए ।

अध्यक्ष लोकेन्द्र लम्सालले पार्टी पूरै दक्षिणपन्थतर्फ धकेलिरहेका बेला आफूहरुले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेको बताए । ‘हामीले यो विद्रोह कुनै समानान्तरक कमिटी विस्तार गरेका होइनौँ, ‘नवगठित जनमोर्चा सुप प्रदेशका अध्यक्ष लम्सालले भने, ‘पार्टीको विधान एवं बुटवल सम्मेलनले अघि सारेको नीति, सिद्धान्तअनुरुप सुप प्रदेशको पार्टी पुनर्गठन भएको हो ।’ 

पुनर्गठन गरिएको कमिटीमा उपाध्यक्षमा तिलक परियार, सचिव लछिराम आचार्य, सहसचिव हुकुमसिंह साउद, कोषाध्यक्ष केशवसिंह योगी, सचिवालय सदस्य महेश जोशी, गोविन्द विक, धनबहादुर बोहरा चयन भएका छन् । प्रदेश सदस्य प्रकाश ऐर, नरेश झुवाल, कृष्ण विक, विक्रम विश्वकर्मा, गोरखबहादुर विक, निरु विक, सुरेश चौधरी, हरि शर्मा, हरिप्रसाद भट्टराई, मानबहादुर खड्का, रमेश नागरी, डब्बल तिरुवा, उमेश कँडेल, हेमविक्रम चन्द, लालबहादुर जाग्री चयन भएका छन् । 

सल्लाहकारमा जयराज भण्डारी, शंकर सोव, सिद्धसिंह विक, कृष्ण पण्डित, उद्धव ऐरसहित ५७ सदस्यीय प्रदेश परिषद कमिटी गठन गरिएको छ भने सुप प्रदेशका सबै जिल्लाको पुनर्गठन गरिएको छ । 

कञ्चनपुरका जनमोर्चा अध्यक्ष रामबहादुर कार्कीलाई अनुशासनको कारबाही गरिएको छ । जनमोर्चा प्रदेशका सदस्यसमेत रहेका कार्कीको ठाउँमा जनमोर्चाका अर्का नेता गोविन्द विकलाई संयोजक तोकिएको छ ।
 
यसपटक प्रदेश कमिटीमा युवा पुस्तासहित प्रदेशका ९ वटै जिल्लाका ९० प्रतिशत अगुवा नेता–कार्यकर्ताको उपस्थितिमा भेला सम्पन्न गरेको जनमोर्चाले जनाएको छ ।



पार्टी पुनर्गठनपछि कैलालीमा आयोजित पत्रकार सम्मेलनमा अखिल छैटौँका केन्द्रीय महासचिव तथा नवगठित जनमोर्चा सुप प्रदेश सचिवालय सदस्य महेशराज जोशीले मूल पार्टी यही भएको बताए । पार्टीका सबै जनवर्गीय संघ–संगठन लम्साल नेतृत्वको पार्टीमा गोलबद्ध भएको उनले दाबी गरे । 

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुप प्रदेश इन्चार्ज लालबहादुर जाग्रीले पार्टी पुनर्गठन भएसँगै प्रदेशको सबै जिल्ला, पालिका, वडा तथा गाउँबस्तीसम्म पुग्ने बताए । 



  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १७:२२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया