यता ओली पक्ष एकता सन्देश दिँदै थियाे, अर्कोतिर माधवको नयाँ पार्टी जन्मियाे

बुधबार दिनभर नेपालको राजनीतिक माहोल एमालेमय देखियो । २४ वर्षपछि फेरि एकपटक एमाले विभाजनले कानुनी मान्यता प्राप्त गरेको दिन हो, ९ भदौ अर्थात् आज । यसअघि ०५४ सालमा वामदेव गौतमले एमाले विभाजन गरेका थिए । 

बुधबार बिहानैबाट आज के हुने हो ? भन्ने चासो आमसर्वसाधारणदेखि सञ्चारकर्मीलाई थियो । सोमबार साँझै चन्द्रागिरी रिसोर्टमा पुगेर पार्टीको आगामी रोडम्याप बनाएको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सदस्य काठमाडौं झर्ने तयारी गर्दै थिए ।  उता, हिजो मात्रै स्थायी कमिटी बैठक राखेर १० बुँदे सहमतिमा अघि बढ्ने निर्णय गरेको नेकपा एमालेले पत्रकार सम्मेलन आयोजना गरेको थियो । 

दिउँसो ११ बजेका लागि तुल्सीलाल स्मृति भवनमा डाकिएको पत्रकार सम्मेलन निर्धारित समयभन्दा केहीबेर ढिलोगरी सुरु भयो । केही दिनअघिसम्म अध्यक्ष केपी शर्मा ओलीको खरो आलोचना गर्नेमध्येका नेताहरु नै उत्साहित हुँदै सुरुमा तुल्सीलाल स्मृति भवनमा पुगे । पत्रकारको भिड बाक्लो थियो । अघिल्लाे दिन एमाले एकताको सन्देश दिनेगरी फोटोसुट गरेका १० जना नेता पनि सोही पत्रकार सम्मेलनमा भाग लिन पुगेका थिए । 

नेताहरु धमाधम आइरहेका थिए । पूर्वमाओवादी पृष्ठभूमिबाट एमाले प्रवेश गरेकामध्ये रामबहादुर थापा मात्रै पत्रकार सम्मेलनमा पुगे । उनी केहीबेर ढिलो गरी नै त्यहाँ पुगेका थिए । उनी पुग्दै गर्दा एमाले नेता सुवास नेम्वाङले हात हल्लाए र बस्न आग्रह गरे । पहिलो लाइनमै बस्न लागेका बादलले सोफा भने पाएनन् । अरु नेताहरु सोफामा बस्दा उनी एउटा मेचमा थन्किए । 

केहीबेरमा अध्यक्ष ओली आइपुगे । हिजोसम्म पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालेका प्रदीप ज्ञवाली मञ्चमा गएनन् । पार्टी ०७५ जेठ २ को अवस्थामा फर्किएको सन्देश दिनेगरी दोस्रो लाइनमा बसेका नेता योगेश भट्टराईलाई बोल्न उनले आग्रह गरे । योगेशले पत्रकार सम्मेलनको औपचारिक सुरुवात गरे । र, विज्ञप्ति ज्ञवालीलाई नै पढ्न अनुरोध गरे । 

ज्ञवालीले विज्ञप्ति पढेर सुनाइसकेपछि अध्यक्ष ओलीले फ्लोर ओपन भएको भन्दै पत्रकारलाई प्रश्न गर्न आग्रह गरे । केही पत्रकारका प्रश्न ज्ञवालीले कपीमा लेखेर अध्यक्ष ओलीलाई थमाए । ओलीले प्रत्येक प्रश्नको उत्तर दिँदै माधव नेपाल समूहलाई कडा कटाक्ष नै गरे । 



सोमबारदेखि चन्द्रागिरि रिसोर्टमा पुगेर बसिरहेका माधव नेपाल समूहका नेताहरुलाई नेपालले थुनेर राखेको उनले आरोप लगाए । ‘घर–घरबाट तानियो, ललाई–फकाई लगेर, मीठा गुलिया वचन बोलेर सुनको पिँजडामा थुनियो । मीठै खान दिइयो, राम्रै ठाउँमा सुताइयो ।’ ओलीले अगाडि थपे, ‘पार्टीको बैठक यस्तो हुन्छ, साधारण सदस्यदेखि नेतासम्म सहभागी हुने ? कि केन्द्रीय समिति हुन्छ, कि स्थायी समिति हुन्छ । यो कुनै बैठक थिएन ।’

ओली कटाक्ष : माधवले ‘ढोक्से’मा हालेर नेताहरुलाई आयोग पुर्याए



रोचक के भयो भने, तुल्सीलाल स्मृति भवनमा ओलीले माधव नेपालमाथि कडै कटाक्ष गरे । नेपालले ३ दिनसम्म लगेर सांसद थुनेको र ढोक्सेमा हालेर निर्वाचन आयोगमा ल्याएर घोप्ट्याउने’ भन्दै कटाक्ष गरेका थिए । उनले भनेका थिए, ‘रिसोर्टमा लगेर ३ दिनसम्म मान्छे थुनेर राख्ने अनि त्यहाँबाट ढोक्सेमा हालेर निर्वाचन आयोगमा ल्याएर घोप्ट्याउने यो काम कसरी लोकतान्त्रिक हुन्छ ?’

ओलीले यसो भनिरहँदा माधव नेपालसहितका नेता भने निर्वाचन आयोग पुगिसकेका थिएनन् । उनीहरु निर्वाचन आयोग जाने पूर्वनिर्धारित योजना थियो । ओलीले भनेजस्तै उनीहरु त्यतिबेला टुरिस्ट बस चढेर एकैपटक निर्वाचन आयोगमा ओर्लिएका थिए । 

आयोगमा नेपाल समूह

ढोक्से अर्थात् टुरिस्ट बसमा आएर ओर्लिएका नेपाल समूहका नेताहरु क्रमशः निर्वाचन आयोगमा प्रवेश गरे । सनाखतका लागि उपस्थित भएका सबै नेताले पालैपालो हस्ताक्षर गरे । 

तर, सनाखतका लागि उपस्थित भएका केही नेताको नाम भने पार्टीमा सनाखत हुन सकेन । दल दर्ताको निवेदनका बेला उनीहरुको नाम र हस्ताक्षर नभएकाले सनाखत हुन नसकेको हो । दिल्लीमा रहेका झलनाथ खनालको भने सनाखत भएको छ । प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद तथा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, समानुपातिक सांसद माया ज्ञवाली र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले दल विभाजनमा सनाखत गर्न पाएनन् । 

यसबारे के गर्ने भनेर नेपाल समूहका नेताबीच आयोगभित्रै केहीबेर हल्लीखल्ली भयो । निर्वाचन अयोगका प्रमुख आयुक्तसँगको छलफलपछि त्यसबारे निर्णय गर्न बाँकी राखेर बाँकीले सनाखत गरेका छन् । 

भित्र छलफल चलिरहँदा गंगालाल तुलाधर बाहिर आएर सञ्चारकर्मीसँग कुरा गर्न भ्याए । उनले आफूहरुलाई पर्याप्त संख्या पुगेको भन्दै आजै प्रमाणपत्र पाउने दाबी गरिरहेका थिए । दिउँसो २ बजेसम्मका लागि आयोगले सनाखतका लागि समय दिएको थियो । सोही समयमा अस्वस्थताका बाबजुद पनि यसअघि कतै नदेखिएका नेता प्रदीप नेपाल आयोगमै पुगेर हस्ताक्षर गरे । 

त्यसको केहीबेरमा नेता मेटमणि चौधरीले सञ्चारकर्मीसँग सुनाए, ५४ केन्द्रीय सदस्य र २९ सांसदले सनाखत गरेको खबर । उनका अनुसार अबको एक–दुई दिनमै यो पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुँदै छ । त्यसपछि केहीबेर निर्वाचन आयोगमा रहेका माधव नेपाल सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिई आयोगबाट बाहिरिएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीको पनि सनाखत

जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि आजै निर्वाचन आयोग पुगेर सनाखत गराएको छ । लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि १४ जना सांसद र १६ कार्यकारी सदस्यले निर्वाचन आयोगमा सनाखत गरेका गरेका हुन् । 

बुधबार १३ जना प्रतिनिधिसभाका सांसद, १ जना राष्ट्रिय सभाका सांसद र १६ कार्यकारी सदस्यले आयोग पुगेर सनाखत गरेका हुन् । जसपाका प्रतिनिधिसभामा ३४ र राष्ट्रिय सभामा तीनजना सांसद रहेको जसपाका तीमध्ये दुईजना निलम्बनमा परेका छन् । कार्यकारी समितिमा ५१ जना सदस्य छन् ।

निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएका थिए । चौधरीसहित प्रतिनिधिसभाका १४ र राष्ट्रिय सभाका एकजना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका हुन् ।

केही समयअघि जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत पुग्ने व्यवस्था छ । सनाखत गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको पार्टी विधिवत् रुपमा दर्ता भएको बताए । अब पार्टीको मूल्य, मान्यताअनुसार पार्टी आगामी दिनमा संघर्ष गर्दै अगाडि बढ्ने उनको भनाइ थियो । 

  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार २०:१०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया