हिमालय टेलिभिजनले नेपाल र भारतका राष्ट्रिय फुटबल टाेलीबीच अर्काे साता हुने दुई मैत्रीपूर्ण फुटबल खेलकाे प्रत्यक्ष प्रसारण गर्ने भएकाे छ ।
नेपाल र भारतबीचको खेल भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको छ ।
एन्फाले २५ लाख १० हजार रुपैयाँमा एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले बिहीबार एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरे।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौतापश्चात् नेपाली खेलकुदको विकासका लागि यस्ता सम्झौताले धेरै सहज वातावरण सिर्जना गर्ने बताए ।
एडप्याडले भारतबाहेक विश्वभरको प्रसारण अधिकार प्राप्त गरेको छ । दुवै मैत्रीपूर्ण खेल दर्शकविना गर्ने एन्फाले जानकारी दिएको छ ।
असोजमा माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।
नेपाल र भारत दुवैले असोज १५ गतेदेखि सुरु हुने साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।