[ग्राउन्ड जिरो] पत्रकार सम्मेलनअघिको त्यो सकसपूर्ण आधा घण्टा : योगेश पार्टी ‘प्रवक्ता’ र निदाएका विष्णु पौडेल

नेकपा एमालेको स्थायी कमिटी बैठकको अन्तिममा पार्टीलाई ०७५ जेठ २ फर्काइएको महत्वपूर्ण निर्णय सुनाए नेता प्रदीप ज्ञवालीले । सञ्चारकर्मीसँग उत्साहपूर्ण ढंगमा देखिएका ज्ञवालीले निर्णय सुनाए, फोटोसुट भ्याए अनि बिदा भए । 

एकाएक बुधबारका लागि नयाँ कार्यक्रम तय भयो- नेकपा एमालेको पत्रकार सम्मेलन । माधव नेपाल समूहमा राम्रो प्रभाव पार्न सक्ने १० जना नेताको इन्ट्रीपछिको पहिलो सार्वजनिक कार्यक्रम थियो यो । संयोगवस त्यतिबेलै माधव नेपालसहितको टोली नयाँ पार्टी दर्तापछि सनाखतका लागि निर्वाचन आयोग पुग्दै थियो ।

दिउँसो ११ बजे सुरु हुने भनिएको पत्रकार सम्मेलन केहीबेर ढिला भयोे । उता, १० बजेदेखि आयोगले दिएको २ बजेसम्म समय पाएको नेपाल समूह टुरिस्ट बसमा आयोगतर्फ हुइँकिँदैथ्यो । 

करिब पौने १२ बजेपछि मात्र पत्रकार सम्मेलनको भवनमा पुगे, एमाले अध्यक्ष केपी शर्मा ओली । पत्रकार सम्मेलनको सुरुवाती भाषण गरे योगेश भट्टराईले । भट्टराई एमाले र माओवादी केन्द्र नमिल्दासम्म एमालेको प्रवक्ता थिए । तर, २३ फागुन ०७७ मा पुनः ब्युँतिएपछि भने एमाले प्रवक्ता बनेका थिए, प्रदीप ज्ञवाली ।

योगेशले कार्यक्रमको औपचारिक सुरुवात गरेर ज्ञवालीलाई विज्ञप्ति पढ्न पोडियममा बोलाए । सोही अनुसार ज्ञवालीले विज्ञप्ति पढेर सुनाए ।  र, भनियो- एमाले प्रवक्तामा योगेश भट्टराई । सामाजिक सञ्जाल र अनलाइन न्युजमा योगेश प्रवक्ताको रूपमा फर्किएका समाचारहरू बन्न थाले । तर, योगेश भट्टराई प्रवक्ताको रूपमा पोडियममा पुग्नुअघिको आधा घण्टा भने तुल्सीलाल स्मृति भवनमा निकै रोमाञ्चकारी देखियो । 

पत्रकार सम्मेलनको त्यो सकसपूर्ण आधा घण्टा



बुधबार बिहान ११ बजेका लागि पत्रकारहरूलाई तुल्सीलाल स्मृति भवनमा बोलाइएको थियो । टेलिभिजन, पत्रिका, अनलाइनलगायतका माध्यमबाट तीन दर्जनभन्दा बढी मिडियाकर्मी भवनको तेस्रो तलामा ११ नबज्दै पुगिसकेका थिए । भवनको तेस्रो तलालाई पछिल्लो समय एमालेले बैठकस्थल बनाएको छ । अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट बहिर्गमन भएपछि त्यहाँ एमालेले पार्टी बैठक गर्दै आएको हो । बुधबार पनि त्यही हलमा अध्यक्ष ओलीले पार्टी विभाजन र १० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो । जसका लागि अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्यहरू बस्ने गरी मञ्चको व्यवस्था मिलाइएको थियो ।

एमाले नेताहरू विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापालगायत सुरुमै पुगिसकेका थिए । उनीहरू त्यहाँ आएका पत्रकार र नेताहरूलाई स्वागत गर्न तेस्रो तल्लाको ढोकामै उभिएका थिए । अष्टलक्ष्मी शाक्य, शंकर पोखरेल, सुवास नेम्वाङ, वसन्त नेम्वाङ, ईश्वर पोखरेललगायतका नेताहरू एकैपटक बैठकस्थलमा छिरे । केहीबेर ढोकामा साक्षात्कार सकेर सीधै पत्रकार सम्मेलनका लागि ठिक्क पारिएको मञ्चमा उक्लिए । 



मंगलबारमात्रै एमाले स्थायी कमिटी बैठकमा सहभागी भएका माधव नेपालको साथ छाडेका नेताहरू पनि धमाधम आउन थाले । तीमध्ये योगेश भट्टराईको उपस्थिति र त्यसपछिको उनको क्रियाकलाप भने भिन्न देखिन्थ्यो । लगभग सवा ११ बजेतिर त्यहाँ पुगेका भट्टराई सीधै दोस्रो लहरको सोफामा गएर एक्लै बसे । सँगै रहेको अर्को सोफामा नेता सुरेन्द्र पाण्डे बसेका थिए । बेलाबेला पाण्डेसँग केही कानेखुसी गरिरहेको जस्तो देखिन्थे भट्टराई । अधिकांश नेताहरू आ-आफ्नो फोनमा व्यस्त देखिन्थे । अध्यक्ष ओलीको व्यग्र प्रतीक्षामा मञ्चमा रहेका नेता र फ्लोरमा बसेका पत्रकारहरू थिए । 

मिडियासँग संयमित ज्ञवाली

एमाले प्रवक्ता प्रदीप ज्ञवाली भने २ जेठमा फर्किएको अघिल्लो दिनको निर्णयसँग संयमित थिए । मिडियाले २ जेठअघि फर्किएपछि पनि आफैं प्रवक्ता भएको भन्ने प्रश्नप्रति झनै संयमित थिए, ज्ञवाली । किनभने माधव नेपाल समूहमा लागेका १० नेताको उपस्थिति र पत्रकार सम्मेलनले नयाँ सन्देश दिनुपर्ने चातुर्यपूर्ण तयारीको थालनी भइसकेको थियो । 

तुल्सीलाल स्मृति भवनकै तेस्रो तल्लामा रहको अर्को कोठामा ज्ञवालीले छलफल चलाए । नेपाल समूहबाट आएका नेताहरूमध्ये योगेश भट्टराईले पत्रकार सम्मेलनको सुरुवात गर्ने वा नगर्ने भन्नेबारे पनि छलफल थियो । ओलीको सचिवालयमा समेत काम गरिसकेका नेता विष्णु रिमालसँग सुरुवाती छलफल ज्ञवालीले गरे । त्यो कुराको जानकारी पनि केहीबेरमा योगेशको कानमा रिमालमार्फत् नै पुर्‍याए ज्ञवालीले । 

रिमालमार्फत योगेशलाई जानकारी

मञ्चमै मोबाइल चलाएर बसेका योगेशलाई रिमालले गएर केही कानेखुसी गरे । भिडियोमा हेर्दा रिमालले गरेको प्रस्तावलाई योगेशले स्वीकारे जस्तो देखिन्छ । योगेशको सन्देश बोकेर रिमाल केहीबेरमा पल्लो कोठामा पुगे, जहाँ ज्ञवाली उनलाई पर्खिरहेका थिए । अधिल्लो दिनसम्म प्रवक्ताको जिम्मेवारी सम्हालेका ज्ञवालीलाई आजको पत्रकार सम्मेलनमा कसरी देखा पर्ने भन्नेबारे निकै चिन्ता देखिन्थ्यो । 

रिमालले योगेशको सन्देश लिएर गएपछि केहीबेरमै पुनः ज्ञवाली मञ्चमा प्रवेश गरे । मञ्चमा बसेका नेताहरूलाई नमस्कार गर्दै हतारिँदै सीधै योगेश बसेको सोफामा पुगे उनी । उनीहरूबीच ठ्याक्कै १४ सेकेन्ड कुराकानी भयो । योगेशले ‘हुन्छ’ भनेको बुझिनेगरी टाउको हल्लाए । 

औपचारिक घोषणा नभए पनि २ जेठमा फर्किएको सन्देश मिडियासामु दिनेगरी ज्ञवालीले योगेशलाई पत्रकार सम्मेलनको सुरुमा केही सम्बोधन गर्न आग्रह गरे । योगेशको सोफामा मुख जुधाजुध गरेर ज्ञवाली बसेका थिए । थोरैबेर योगेशसँग बसेर त्यहाँबाट उठेका ज्ञवालीले आफ्ना सहयोगीलाई बोलाए र झोला ल्याउन आग्रह गरे । ज्ञवाली उठ्नेबित्तिकै आफ्नो छेउमै रहेका नेता सुरेन्द्र पाण्डेसँग केही कानेखुसी गरे भट्टराईले । उनीहरूको हाउभाउ देख्दा केही कुरामा सहमति भएजस्तो देखिन्थ्यो

उनका सचिवालयका एक सदस्यले मञ्चको अगाडिबाटै कालो रङको ब्याग लगे र ज्ञवालीको हातमा थमाए । झोला लिएर केहीबेर नजिकै रहेका गोकर्ण विष्टसँग गफ गर्दै आफ्नो डायरी, आइप्याडलगायतका सामग्री झिक्न थाले । मञ्चमा गएर अध्यक्ष ओलीलाई कुरिरहेका अन्य नेताहरू एकआपसमा गफ गरिरहेका थिए । नेम्वाङ, अष्टलक्ष्मी, ज्ञवाली, शेरबहादुर तामाङलगायतका नेताहरू तारन्तार फोनमा कुरा गरिरहेका थिए । 

जब ज्ञवालीको फोन बज्यो

केहीबेरमै विष्टसँग गफ गरिरहेका ज्ञवालीको फोन बज्यो । फोन उठाउँदै उनले झ्यालतिर हेरे । फोन काटेर उनी सीधै अगाडिको लाइनमा बसिरहेका नेताहरू ईश्वर पोखरेल र भीम रावलतर्फ सोझिए । उनले राखेको कुरालाई दुवै नेताले टाउको हल्लाउँदै स्वीकारेका थिए । छेउमा बसेका विष्णु पौडेललाई पनि सो कुरा ज्ञवालीले जानकारी गराए । उनले पनि टाउको हल्लाए । दोस्रो लाइनमा बसेका योगेशलाई कोट्याउँदै ज्ञवालीले पुनः उनलाई बोलाए । पोडियमको नजिकै रहेको कुर्सी देखाउँदै ज्ञवालीले योगेशलाई उतातर्फ बस्न संकेत गरे । योगेश पनि उठे र त्यतै गए । 

जब ओली प्रवेश गरे..

त्यसको केहीबेरमै पत्रकार सम्मेलनमा आइपुगे अध्यक्ष केपी शर्मा ओली । उनी सम्मेलन कक्षमा प्रवेश गरेसँगै सबैभन्दा बढी हतारिएका थिए, प्रदीप ज्ञवाली ।आधा घण्टादेखि योगेशलाई प्रवक्ताको रूपमा बोल्न लगाउन लागेका ज्ञवालीले एकपटक ओलीसँग यसबारे छलफल गर्ने सोच बनाए । उनी सोफामा आएर बस्न नपाउँदै कानमा मुख पुर्‍याउन भ्याए, ज्ञवालीले । हामीलाई प्राप्त भिडियोमा सुनिन्छ- ‘सुन्नुस् न...योगेशजीलाई...!’ यतिमात्रै सुनिन्छ ।

करिब आधा घण्टादेखि गरिरहेको आफ्नो प्रयास बल्ल ओलीले ‘हुन्छ’ भनेपछि ज्ञवालीले योगेशतर्फ आँखा सोझ्याए । र, हाउभाउको शैलीमा टाउको हल्लाए । 
त्यतिञ्जेल यता योगेश भने हातमा माइक बोकेर पोडियमअघि उभिइरहेका थिए । ज्ञवालीको संकेत पाउनेबित्तिकै योगेश पोडियममा पुगेर सम्बोधन सुरु गर्न हतारिए।

...अनि योगेशले ज्ञवालीलाई ‘सचिव’ सम्बोधन गरे

योगेशले सञ्चारकर्मीदेखि पार्टी अध्यक्षसम्मलाई पत्रकार सम्मेलनमा स्वागत गरे । केहीबेर पार्टी एकताको पक्षमा भाषण गरे । र, विज्ञप्ति पढ्न प्रदीप ज्ञवालीलाई नै आग्रह गरे । केहीबेर भाषण गरिसकेपछि प्रेस विज्ञप्ति पढेर सुनाउन प्रदीप ज्ञवालीलाई बोलाए, योगेशले । योगेशले पार्टी विज्ञप्ति पढ्न पोडियममा ज्ञवालीलाई बोलाउँदै गर्दौ ‘सचिव’सम्बोधन गरेका थिए । उनले भनेका थिए, ‘यो प्रेस विज्ञप्ति वाचन गर्नका लागि पार्टीका सचिव कमरेड प्रदीप ज्ञवालीलाई अनुरोध गर्न चाहन्छु ।’ उनले यति भनेर माइक ज्ञवालीको हातमा थमाए । ज्ञवाली आफूले तयार पारेर ल्याएको विज्ञप्ति वाचन गर्नतिर लागे । 

नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपूर्व योगेश प्रवक्ताको जिम्मेवारीमा थिए । ज्ञवाली भने पार्टीको सचिव थिए । सोही सन्देश दिनेगरी योगेशले ज्ञवालीलाई सचिव सम्बोधन गरेका हुन् । पत्रकार सम्मेलनमा योगेशले गरेको औपचारिक सुरुवात र ज्ञवालीलाई भनिएको सचिव शब्द सुनिसकेपछि मिडियामा ‘योगेशले सम्हाले प्रवक्ताको जिम्मेवारी’ भन्ने शीर्षकमा समाचार आउन थाले । 

प्रदीपको चलाखी

अघिल्लो दिनमात्रै २ जेठ ०७५ अघिको अवस्थामा पार्टीलाई फर्काउने सन्देश एमालेले छरेको थियो । स्थायी कमिटी बैठकपछि सोही सन्देश दिनेगरी माधव नेपालको साथ छाडेका १० जना सदस्यसहितको फोटोसुट पनि भयो । यद्यपि, पूर्वमाओवादी खेमाबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’लगायतका नेताहरू पनि बैठकमा सहभागी थिए ।

तर, बैठकले २ जेठ अघि फर्किएको निर्णय गर्‍याे । बादलसहितको बैठकलाई २ जेठअघिको भन्न नहुने भन्दै लामो समयदेखि एमालेमा विवाद चर्किएको पनि थियो । तर, नयाँ दल दर्ताको प्रक्रियाका लागि चन्द्रागिरि पुगेका माधव नेपाललाई देखाउनै भए पनि एमालेमा प्रष्ट रूपमा खुल्नपर्ने बाध्यता योगेश, भीम, सुरेन्द्रलगायतका १० जना नेताहरूमा थियो । सोही अनुसार हतार हतार फोटोसुट गरेर सार्वजनिक गरिएको थियो । 

सोही चलाखी पत्रकार सम्मेलनमा प्रदीपले ओली आइपुग्नुपूर्वको समयमा गरे । उनले योगेशलाई सम्बोधनका लागि केही समय दिएर राजनीतिक रूपमा अर्थपूर्ण सन्देश दिनका लागि पोडियमसम्म तान्ने प्रयास गरेको एमालेका एक नेता बताउँछन् । 

योगेश भन्छन् : पार्टीका सचिव प्रदीप ज्ञवाली, प्रदीप भन्छन् : प्रवक्ताको जिम्मेवारी परिवर्तन भएको छैन

हामीले पार्टीको प्रवक्ता परिवर्तन हुनुभएको हो ? भन्ने प्रश्न एमाले नेता प्रदीप ज्ञवालीलाई राख्यौँ । ज्ञवालीले भने पार्टीमा प्रवक्ताको जिम्मेवारी हेरफेर नभएको बताए । ‘प्रवक्ताको जिम्मेवारी परिवर्तन भएको छैन । पहिला प्रवक्ता भन्ने थिएन, प्रवक्ता भन्ने पद पछि सृजना भएको हो । यसबारे थप केही कुरा भएको छैन । काम मिलेर गरेका छौँ, औपचारिक निर्णय केही भएको छैन,’ ज्ञवालीले फरकधारसँग भने । एमालेको प्रवक्ता आफू रहेको उनले बताए । उनले थप स्पष्ट पारे, ‘पहिला प्रचार विभाग र प्रमुखको व्यवस्था थियो, प्रवक्ताको व्यवस्था थिएन । प्रवक्ता पद पछि सृजना गरेको हो । र, यो परिवर्तन भएको छैन ।’

एमाले जेठ २, २०७५ मा फर्केको घोषणापछि प्रचार विभाग प्रमुख भट्टराईले पार्टी प्रवक्ताको पनि जिम्मेवारी पाएको अनुमान गरिएको थियो । ‘सल्लाह गर्छौँ । जिम्मेवारी जसले लिँदा पनि भैहाल्यो नि ! जसलाई जे जिम्मेवारी उपयुक्त हुन्छ, सोही अनुसार बाँडफाँट गर्छौँ,’ ज्ञवालीले भने । उता, पत्रकार सम्मेलनमै योगेशले भने सचिव भनेर प्रदीप ज्ञवालीलाई सम्बोधन गरिदिए । 

मस्त निदाएका विष्णु पौडेल

लगभग समयमै पुगेका एमाले नेता विष्णु पौडेल भने ओली कार्यक्रममा पुग्नुअघि मज्जाले निदाए । सम्मेलनको मञ्चमा पुग्नेबित्तिकै केहीबेर फोनमा घोरिए पौडेल । त्यसको केहीबेरमा उनको मुन्टो आधाभन्दा बढी तलतिर झरिसकेको थियो । केहीबेरमा झसंग ब्युझिँएका पौडेल त्यसपछि भने मज्जैले निदाए । उनको छेउमा ईश्वर पोखरेल र भीम रावल गफ गरेर बसिरहेका थिए । पोखरेल र रावल गफ गरिरहँदा झण्डै साढे १४ मिनेट लगातार निदाए पौडेल ।

पौडेल निदाइरहेकै बेलामा मञ्चमा अर्का एकजना नेता आइपुगे । रावल र पोखरेलसँग ती नेताले पौडेलतर्फ इसारा गर्दै हात देखाए । रावल र पौडेलले पनि हातकै इसारामा केही भन्छन्, तर पौडेललाई बोलाउँदैनन् । केहीबेरपछि आफै झसंग ब्युँझिए पौडेल । केहीबेर पोखरेल र रावलसँग कुराकानी गरे । र, उठेर बाहिर निस्किए । त्यसको ३ मिनेटमा पौडेल शौचालय पुगेर फर्किए । फोनको घन्टी बज्यो र कुराकानी गर्न थाले । 
 

  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १६:५६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया