प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना कति ?

 प्रदेश १ को मुख्यमन्त्रीको रुपमा एमाले नेता भीम आचार्यले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरे । शपथ ग्रहण गरेसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएर उनले पदभार ग्रहण गर्दै सरकारका प्राथमिकता पनि सुनाए । 

एमाले विभाजनको परकम्पन नसकिँदै मुख्यमन्त्री बनेका आचार्यले उनैले भनेजस्तो स्थायित्व र पार्टी एकताको रटानले मात्रै विश्वासको मत पाउलान् त ?

मुख्यमन्त्रीको रुपमा शपथ लिएर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको कार्यालयबाट बाहिर निस्कनसाथ पत्रकारले नयाँ मुख्यमन्त्रीलाई आचार्यलाई सोधे– विश्वासको मत कहिले लिनुहुन्छ ? 

उनले कानुनी व्यवस्थाअनुसार कानुनको परिधिमा रहेर विश्वासको मत लिने छोटो प्रतिक्रिया दिए ।  

नेपालको संविधान २०७३ अनुसार मुख्यमन्त्रीले पदमा चयन भएको तीस दिन भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन र सरकार टिकाइराख्न प्रदेशसभामा रहेका सदस्यहरुको बहुमत आवश्यक पर्छ । 

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत लिन ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको ५१ सिट संख्या छ । जसमध्ये एकजना सभामुख छन् भने एकजना प्रदेशसभा सदस्य गुलेफन मियाँ फरार अपराधीको सूचीमा छन् । 



एमाले विभाजन भई एकीकृत समाजवादी बन्दा यसको असर प्रदेशमा पनि ंदेखिएको छ । आचार्यको शपथ ग्रहण र एमाले संसदीय दलको बैठकमा एकीकृत समाजवादीमा गएका भनिएका सांसद उपस्थित भएनन् । 

सांसदहरु राजेन्द्र राई, राजन राई, गणेश काङमाङ मात्रै होइन, सावित्रा रेग्मी, सुनिता चौधरी र कृष्णकुमारी राई समेत बैठकमा गएनन् । संखुवासभाकी सांसद पदमकुमारी गुरुङसमेत संसदीय दलको बैठकमा गइनन् ।
 
सुनीताले फरकधारसँग कुरा गर्दै बैठकमा आउनु र नआउनुको औचित्य नभएको प्रतिक्रिया दिइन् । कृष्णकुमारी राईसमेत एमालेमै रहने अवस्था कम भएको एमाले नेताहरु नै बताउँछन् । 



संसदीय दलको बैठकमा भेटिएका सांसद सर्वध्वज साँवाले मुख्यमन्त्री बने पनि टिकाउन सहज नभएको बताए । उनले भने, ‘परिस्थिति सहज छैन, गएकाहरुलाई फर्काउन गाह्रो छ ।’

भीम आचार्यका नजिकका भनिएका प्रदेशसभा सदस्य उपेन्द्र घिमिरे पनि बैठकमा उपस्थित भएनन् । उनले भीम आचार्यलाई मुख्यमन्त्री बनाउने आफूहरुको एजेण्डा सफल भएको उल्लेख गर्दै भने, ‘बल भीम आचार्यको कोर्टमा छ के गर्नुहुन्छ, उहाँमा भर पर्छ । एक महिनाका लागि मुख्यमन्त्री बन्ने हो कि कार्यकालभरि ।’

कानुनले २१ दिनभित्र दल छान्न पाउने अवधि दिएकाले सो अवधिमा मुख्यमन्त्री आचार्यले देखाउने कार्यशैलीले उनको पद जोगिने–नजोगिने विषय भर पर्ने घिमिरेले बताए । 

पाँचजनाभन्दा बढी प्रदेशसभा सदस्य एकीकृत समाजवादीमा नगए साना दललाई मिलाएर विश्वासको मत लिने योजना एमालेको छ । एमाले स्रोतका अनुसार गठबन्धनमा नरहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपा मिलाएर विश्वासको मत लिने योजना छ । मञ्च र राप्रपाको प्रदेशमा एक–एक सिट छ । 

तर, एकीकृतमा सातजना प्रदेशसभा सदस्य जाँदा आचार्यलाई विश्वासको मत लिन असहज देखिने एमाले नेताहरु नै बताँउछन् ।

९३ सिट रहेको प्रदेशसभामा माओवादी केन्द्रको १५, कांग्रेसको २१ र जसपाको ३ सिट रहेको छ ।  

  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार २१:४६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया