[ कविता ] नयाँ बैंक


नयाँ बैंक पुरानोजस्तो हुँदैन
त्यसमा पुरानो बैंकको कुनै छाया छैन
त्यसको फलामको ढोका र त्यस्तै अँध्यारो छैन
लकर र स्ट्रङ रुम छैन
जसको साँचो उसले आफैसँग पनि लुकाएर राख्छ
त्यो एक सपाट र उज्यालो ठाउँ छ
विशाल शिशाको ढोका पारि
एअरकन्डिसनर पनि एकदम तेज चलेको छ
जहाँ मानिसहरु स्वाँस्वाँ गर्दै पसिना पुछ्दै आउँछन्
र, तुरुन्तै राहत महसुस गर्छन्

नयाँ बैंकमा एक चिसो पारदर्शिता छ
नयाँ बैंक आफूलाई हरदम चम्काएर राख्छ
त्यसको भुइँ निरन्तर सफा गरिन्छ
उसले आफ्नो वरपर ठेलामा राखेर 
सस्तो चिज बेच्ने सबैलाई भगाउँछ
र, त्यहाँ कारका लागि ऋण दिने काउन्टरहरु खोल्छ
बैंकको भित्र मेच–कर्सी र मानिसहरु यसरी बसिरहेका छन्
जस्तो ती अहिले भर्खरै आएका हुन्
तिनको कुनै जरा छैन, सबै अस्थायी हुन्
नयाँ बैंक पुरानो बैंकसँग कुनै भाइचारा महसुस गर्दैन
त्यसलाई ऊ त्यो क्षेत्रको पछौटेपनको कारक मान्छ
र, त्यसलाई कतै भगाइदिन चाहन्छ

नयाँ बैंकमा ती खजान्ची छैनन्
जो महान् गणितज्ञ जसरी बसिरहेका हुन्थे
कुनै अन्धकारबाट रहस्यमय पुँजी निकालेर ल्याउँथे
र, एक सूत्रले जसरी समस्या समाधान गरिदिन्थे
ती प्रबन्धक छैनन्
जो बूढो मानिसको पेन्सनको हिसाब सम्हाले राख्थे
नयाँ बैंक केवल दिने ऋण
र, लिने ब्याजको हिसाब राख्छ
प्रोसेसिङ शुल्क, मासिक किस्ता, पेमेन्ट चार्ज, चक्रवृत्ति ब्याज,
लेट फाइन र पेनाल्टी असुल्छ
र, कुनै जासुसले जसरी हेर्छ– को धनी भइरहेको छ
कसको पैसा घटिरहेको छ, को टाट पल्टिने क्रममा छ
र, कसको खाता बन्द गर्ने समय आएको छ ।


(हिन्दी भाषाका प्रख्यात कवि मंगलेश डबराल नेपालमा पनि धेरै पढिने लेखक हुन् । उनको ‘पहाड पर लालटेन’, ‘घर का रास्ता’, ‘हम जो देखते हैं’लगायतका कवितासंग्रह प्रकाशित छन् । थुप्रै चर्चित पुरस्कार पाएका उनको जन्म १९४८ मा र निधन २०२० मा भएको थियो)





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १:३५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया