जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले आफ्नो घरमा प्रयोग गरिरहेका लाखौं मूल्यका सामानहरु राज्यकोषबाट खरिद गरेको पाइएको छ ।
राज्यले मेयर दासलाई आवास सुविधा उपलब्ध नगराए पनि उनले निजी प्रयोजनका सामानहरु आफ्नो घरका लागि राज्यकोषबाट किन्न लगाएका हुन् ।
उनले वासिङ मेसिन, बक्स पलङ, लो बेड, एसी, फ्रिजलगायतका आवासीय प्रयोजनका सामानहरु नगरपालिकाकै पैसाबाट खरिद गरी १५ लाख २८ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा बनेको ऐन, २०७७ को दफा ३(१) मा पदाधिकारी तथा सदस्यले अनुसूची बमोजिमको रकममा नबढ्ने र दोहोरो नपर्ने गरी सुविधा पाउने व्यवस्था रहेपनि उनले ति सबै नियम कानूनलाई मिच्दै आफूखुशी घरायसी प्रयोजनका सामानहरु नगरपालिकाकै खर्चबाट किन्न लगाएका हुन् ।
मनोमानी रुपमा मोबाइल वितरण
त्यस्तै, हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले आर्थिक वर्ष २०७६/०७७ मा ९ लाख ९८ हजारमा ५० थान मोबाइल खरिद गरी जनप्रतिनिधिलाई वितरण गरेको पाइएको छ । उनले आर्थिक वर्ष २०७५/०७६ मा पनि ४ लाख ९८ हजार रुपैयाँमा ५७ थान मोबाइल खरिद गरी वितरण गरेका थिए ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा प्रत्येक वर्ष मोबाइल खरिद गरी जनप्रतिनिधिलाई वितरण गर्ने कार्य औचित्यपूर्ण नरहेको उल्लेख गरेको छ ।
अनुगमन भत्ताको नाममा लाखौं अनियमित खर्च
प्रदेश २ कै महोत्तरी जिल्लास्थित पिपरा गाउँपालिकाले समेत अनुगमन भत्ताको नाममा पदाधिकारी तथा कर्मचारीलाई लाखौं रकम बाँडेको छ ।
गाउँपालिका अध्यक्ष बिक्रम चौधरीले भत्ताको नाममा पदाधिकारी तथा कर्मचारीलाई वडा तथा गाउँपालिकास्तरीय योजनाको अनुगमन गरेवापत २८ लाख ९५ हजार रुपैयाँ भत्ता भुक्तानी गरेका देखिएको छ ।
नगरपालिकाबाट साडी तथा कुर्ता वितरण
रौतहटको इशनाथ नगरपालिकाले महिलाहरुका लागि साडी तथा कुर्ता वितरणमा १० लाख ९७ हजार रुपैयाँ खर्च गरेको छ । रौतहटकै फतुवा विजयपुर नगरपालिकाले साडी तथा ग्यास वितरणमा ८८ लाख ८६ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।