रिभाईभ खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असोजमा

एउटै छानामुनि धेरै सुविधायुक्त रिभाईभ लिजर पार्कले आगामी असोज पहिलो साता ‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७८’ आयोजना गर्ने भएको छ। 

असोज १–५ गतेसम्म पार्कको आफ्नै सुविधासम्पन्न कभर्ड हलमा प्रतियोगिताको आयोजना हुने बताइएको छ । कोभिड–१९ को महामारीबाट चौतर्फी निराशा फैलिरहेको बेला स्वास्थ्य मापदण्डमा रही सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका लागि प्रतियोगिता आयोजना गरिएको पार्क सञ्चालक तथा प्रतियोगिताका प्रमुख आयोजक शुक्र पाख्रिनले बताए ।  

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा संचालक पाख्रिनले भने– ‘यहाँ सञ्चालित पार्कको स्थापना दिवसको अवसरमा नेपाली ब्याडमिन्टन खेल एवं खेलाडीको विकासलाई टेवा पुर्‍याउने दृढ विश्वासका साथ बृहत् राष्ट्रिय प्रतियोगिताको आयोजना गरिएको हो । यस प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७८ ले देशभरि रहेका प्रतिभावान खेलाडीको पहिचान समेत गर्नेछ ।’

ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा करिब १८ (अठार) करोडको लगानीमा सञ्चालित सुविधा सम्पन्न एउटै पार्कभित्र ब्याडमिण्टन हल, जुडो–कराते–उसु हल, स्वीमिङ्पूल, जिम, जुम्बा, साउना–स्टीम, मसाज थेरापी, सलुन–पार्लर, होटल, सेमिनार, पार्टी हलहरू समेत पारिवारिक वातावरणसहितको रेष्टुरेन्ट सञ्चालनमा आएको सञ्चालक पाख्रिनले बताए । 

निजी क्षेत्रबाट सञ्चालित यस क्लबको उद्देश्य केवल नाफा कमाउनु मात्रै नभएको पाख्रिन बताउँछन् । शारीरिक मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै नेपाली खेलकुद क्षेत्रमा यस्ता राष्ट्रिय स्तरका खेलहरूको आयोजनाबाट प्रतिभावान् खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्य रहेको उनले  जानकारी दिए ।

‘बालबालिकाहरूलाई उच्चस्तरबाट दक्ष प्रशिक्षकबाट प्रशिक्षणको व्यवस्था गरी नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदमा पदक दिलाउन सक्ने खेलाडीहरू उत्पादन गर्नु र निजी क्षेत्रबाटै भए पनि नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पुर्‍याउने पवित्र उद्देश्य राखेका छौं’, क्लबको उद्देश्य बारे थप जानकारी दिंदै पाख्रिनले भने ।



प्रतियोगितामा ब्याडमिन्टनका राष्ट्रिय खेलाडीहरू, विभिन्न प्रदेश र जिल्ला, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बल विभागीय टिमसँगै विभिन्न संघ/संस्था तथा क्लबहरूका खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका संयोजक तथा ब्याडमिन्टनका प्रमुख राष्ट्रिय प्रशिक्षक सुदिप योञ्जनले भेटमा जानकारी दिए ।

प्रतियोगितामा नेपालमा बसोबास गर्दै आइरहेका विदेशी खेलाडीहरूलाई समेत सहभागिताका लागि आग्रह गरिएको योञ्जनले बताए । नेपालका लागि अन्तर्राष्ट्रिय पदक दिलाई राष्ट्रको शिर उचो पार्न सफल राष्ट्रिय खेलाडीलाई नगद पुरस्कारसहित सम्मान समेत गरिने आयोजकले बताएका छन ।



प्रतियोगिताका विधाहरूमा पुरुष एकल खुला, महिला एकल खुला, पुरुष डबल, भेट्रान्स डबल, रहेको संयोजक योञ्जनले बताएका छन । उनले सम्पूर्ण ब्याडमिन्टन खेलप्रेमीहरुलाई प्रतियोगितामा सहभागी हुन समेत आग्रह गरेका छन्। 

प्रतियोगिताका सबै विधामा विजेता, उपविजेता र तृतीय स्थान प्राप्त गर्ने टिमलाई नगद पुरस्कारका साथै ट्रफी, मेडल प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित बजेट १७ लाख रुपैयाँ रहेको पाख्रिनले बताए। प्रतियोगितामा ४ वटै विधाका लागि देशभर र विभागीय टिमसहित ४ सय बढी खेलाडीहरूको सहभागिता रहने छ ।

प्रतियोगितामा कोभिड–१९ महामारीलाई ध्यानमा राखेर मास्क, सेनिटाइजर र भौतिक दूरीका मापदण्डहरुलाई विशेष सावधानीका साथ पालना गरिने छ । प्रतियोगिता अवधिभर हलमा आफ्नो समयमा खेल्ने खेलाडी, कोच, रेफ्री र आवश्यक अफिसियल व्यक्तिहरुलाई मात्र उपस्थित हुने व्यवस्था गरिएको छ । 

अनावश्यक भिडभाड तथा दर्शकलाई हलमा प्रवेश निषेध गरिनेछ । उच्च प्रविधिलाई प्रयोग गर्दै पार्कको अफिसियल युट्युव, फेसबुक पेजबाट खेललाई लाइभ गरिने छ । 

प्रतियोगिताभर हलमा मास्क, सेनिटाइजर तथा साबुन पानीको व्यवस्था समेत गरिएको छ । प्रतियोगिता सम्बन्धी सम्पूर्ण सूचना पार्कको फेसबुक पेजमा अपडेट गरिने आयोजकले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १६:३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया