'पाेलिटिकल युटर्न'का कारण प्रदेशमा एक्लिँदै भीम रावल
सुदूरपश्चिमका अधिकांश प्रदेश सांसद एकीकृत समाजवादीमा

सुदूरपश्चिम प्रदेशसभाका अधिकांश सांसद नेकपा नवगठित नेकपा एकीकृत समाजवादीमा देखिएका छन् । यसले सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीको वर्चस्व देखिएको छ । प्रदेशसभाका एमालेका २४ सांसदमध्ये सभामुखबाहेक माधव नेपालनिकट अधिकांश सांसद एकीकृत समाजवादीको पक्षमा भएपछि एमालेले सुदूरपश्चिममा पार्टी विभाजनको धक्का भोग्नुपर्ने देखिएको छ ।

प्रदेशसभामा विगतमा १७ जना नेपाल र सातजना केपी ओली पक्षमा थिए । अहिलेसम्म तीनजनाले मात्र नेपालको साथ छाडेको एक सांसदले बताएका छन् । यद्यपि, केही सांसदले कता जाने भन्ने निर्णय गरिनसकेको बताएका छन् । यही भदौ २२ गते सम्म दल रोज्ने निर्वाचन आयोगले समयसीमा तोकेको छ ।

विगतकै विचार समूहलाई निरन्तरता दिएर जानुपर्छ भन्ने पक्षमा धेरै सांसदको मत रहेको एकीकृत समाजवादीमा लागेका सांसद अमर साउदले बताए । ‘विगतमा हामी प्रतिगमनविरुद्ध एक ठाउँमा थियौँ । त्यो एकता कायम राखेर जानुपर्छ भन्ने धेरै माननीयको मत छ,’ साउदले फरकधारसँग भने, ‘एकाधबाहेक सबै एक ठाउँमा रहनेबारे छलफल गरिरहेका छौँ ।’

नेपाल समूहकै प्रभावशाली नेता भीम रावलको संसदीय दलमा बलियो प्रभाव थियो । रावलको नेतृत्वमा नेपाल समूहका सांसदहरु गोलबद्ध थिए । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने पार्टीको निर्णय उल्लंघन गर्दै रावलकै अगुवाइमा नेपाल पक्षका १७ जनाले विश्वासको मत दिएका थिए । तर, नेपालको साथ छाडेपछि रावल कमजोर देखिएका छन् । आफूनिकट सांसदले साथ छाड्न थालेपछि प्रदेशमा रावल एक्लिएको विश्लेषण गर्न थालिएको छ ।

रावलका विश्वासपात्र मानिएकी पूर्वमन्त्री माया भट्टले पनि नेपाललाई साथ दिएकी छन् । रावलनिकट एमाले कैलालीका अध्यक्षसमेत रहेका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी पनि नेपालतिरै लागेका छन् । उनी भीम रावलकै विश्वासपात्रका रुपमा लिने गरिन्थ्यो । यहाँका एमाले राजनीतिमा प्रभाव राख्ने सोडारी केही सांसदलाई आफूसँगै लैजाने क्षमता राख्छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी पनि नयाँ पार्टीमा लागेकी छन् ।

भट्ट र जोशी एमाले समाजवादीको केन्द्रीय सदस्य बनेका छन् । भट्ट बैतडी र जोशी डोटीबाट समानुपातिक सांसद हुन् । पूर्वमन्त्री कृष्णराज सुवेदी समाजवादीमै लाग्ने पक्षमा छन् । रावलकै पहलमा सुवेदी यसअघि सामाजिक विकासमन्त्री बनेका थिए । एमाले कञ्चनपुरका अध्यक्षसमेत रहेका तारा लामा तामाङ समाजवादीमा लागेका छन् । ‘हामी अहिलेसम्म माधव नेपाल टिमकै मान्छे हो । कता जाने भनेर अरु साथीहरुसँग पनि सामूहिक छलफल गर्छौं,’ तामाङले भने ।



रावलको गृहजिल्ला अछामका बलबहादुर सोडारी पनि नयाँ पार्टीमा खुलेका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री कञ्चनपुरका लालबहादुर खड्का, अछामका एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गा कामी, कैलालीका सुशीला बुढाथोकी, कञ्चनपुरका कुलवीर चौधरी पनि नेपाल नेतृत्वको समाजवादीको पक्षमा उभिएका छन् ।

‘विगतमा केपी ओलीले गरेको प्रतिगमनविरुद्ध एक भएर दृढतापूर्वक लडेकाहरु एकै ठाउँमा हुनुपर्ने आवाज बलियो रहेको छ,’ प्रमुख सचेतक कामीले भनिन्, ‘सबैसँग सल्लाह गरेर नवगठित समाजवादीमा आबद्ध भएको हुँ ।’



प्रदेश सरकारमा एमालेबाट चार मन्त्री र तीन राज्यमन्त्री छन् । उनीहरु सबै विगतमा नेपालनिकट हुन् । तीमध्ये एमाले केन्द्रीय सदस्यसमेत रहेका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले आफू एमालेमै रहने बताइसकेका छन् । उनी एमालेको केन्द्रीय कमिटीको बैठकमा समेत सहभागी भइसकेका छन् ।

यस्तै, अछामका हर्कबहादुर कुँवर, पूर्वमन्त्री प्रकाश रावलले भीम रावललाई साथ दिने बताइएको छ । आफ्नो पक्षमा केही सांसद थपिने यो समूहका नेताहरुको दाबी छ । शाह र कुँवर रावलको पक्षमा खुलिसकेका छन् ।

ओलीनिकट प्रदेशसभा सदस्य पठानसिंह बोहराले एमालेका धेरै सांसद पार्टी विभाजनको विपक्षमा रहेको दाबी गरे । बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए । 

उनीहरुले नेकपा एमालेमै रहने बताएको छ । बोहराले केही दिनमै को कता जाने भन्ने यकिन हुने बताए । अन्य १४ जना नेपालको पक्षमा लागेको अवस्थामा भने एकीकृत समाजवादी प्रदेशसभामा सबैभन्दा ठूलो दल बन्ने छ । हाल ५२ सदस्य रहेको प्रदेशसभामा माओवादीका १३, कांग्रेसका १२ र जसपाका दुई सांसद छन् ।

  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १७:२६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया