दार्चुलामा बाढीपहिराे : तीन जनाको मृत्यु, दुई बेपत्ता

दार्चुलाका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । 

आइतबार राति आएको बाढीपहिरोमा परी जिल्लाको दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति भएको छ ।

पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका- १ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरूकाे पुरिएर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

यस्तै दुहुँ गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । बाढीले घरजग्गासहित पूल जलविद्युत, पानी घट्ट र पशुचौपायामा समेत क्षति पुर्‍याएको छ । दुहुँमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेको स्थानीयले बताएका छन् ।

त्यस्तै वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की वेपत्ता भएको स्थानीय दिलिपसिह कार्कीले जानकारी दिए ।

निजाङगाडकै खोलाले दार्चुला-तिंकर सडक मोटरबल पुल, दुइटा झोलुंगे पुल बगाएको छ । यो क्षेत्रमा रहेका आधा दर्जन घर तथा पसलहरू बगाएको छ ।



दार्चुला तिंकर सडक खण्डकाे निजाङगाड पुल बग्दा दुहुँ र व्यास गाउँपालिकाको सम्पर्क टुटेकाे छ । यस्तै महाकाली नगरपालिका- १ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जित बहादुर बमको होटल तथा पसल बगाएको छ ।

यस्तै निजाङगाड खोला नजिकै रहेको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयहरू पुगेका छन् । 



राति २ बजेबाट आएको बाढीले श्रीबगड क्षेत्रकाे खेतबारी नोक्सान गरेको छ । वारिपारि जाने बाटो नहुँदा स्थानीयलाई उद्दारमा समस्या भएको छ ।

  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १२:४९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया