प्रदेश दुईको पर्यटन प्रवर्द्धन गर्ने रणनीतिक योजनामाथि छलफल

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ को पर्यटन तथा हवाई यातायात समितिको आयोजनामा पर्यटन व्यवसायलाई लक्षित गरी वीरगञ्जको कैलाश होटलमा बैठक सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष गणेश लाठको अध्यक्षतमा बसेको बैठकले नेपाल भारत सीमा क्षेत्रमा भारतीय पर्यटनका लागि सहज वातावरणको सिर्जना गर्न आगामी योजना तर्जुमा गर्नुपर्ने विभिन्न विषयउपर छलफल भएको हो । 

बैठकमा सीमा क्षेत्रमा भारतीय प्रहरीले पर्यटकसँग गर्ने विभिन्न दुर्व्यवहार न्यूनीकरणका लागि सम्बन्धित पक्षसँग अन्तरक्रिया एवं नियमित समन्वय गर्ने, भारतबाट नेपाल भित्रिने पर्यटकका लागि सुरक्षित तथा स्थानीय यातायातको व्यवस्थालाई प्रभावकारी रुपमा सञ्चालन गरी सौहार्दपूर्ण व्यवहारमा नेपाल भित्रिन दिने सम्बन्धमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

प्रदेश २ र गण्डकी प्रदेशलाई हवाई सेवामार्फत जोडी दुवै प्रदेशको प्रर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टमार्फत सीमरादेखि पोखरासम्म भाद्र १६ गतेदेखि हप्ताको ३ दिन बुद्ध एयरमार्फत सेवा दिने निर्णय बैठकले गरेको छ ।

यसका लागि गण्डकी प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री मणिभद्र शर्माको नेतृत्वमा प्रदेशका विभिन्न पर्यटन व्यवसायी र नाटाका सदस्यसहित १० जनाको टोलीले पोखरादेखि सिमरासम्मको पहिलो भ्रमण गरी बुद्ध एयरको हवाई उड्डयन कार्यक्रमको उदघाटन् गर्ने कार्यक्रम रहेको बैठकमा जानकारी दिइयो । 

अतिथिहरुलाई दुई रात र तीन दिन प्रदेश–२ को पर्यटकीय स्थलहरुको भ्रमण गराउने पर्यटन तथा हवाई यातायात समितिको योजना रहेको छ । यस भ्रमणलाई सफल पार्न पर्यटन तथा हवाई यातायात समितिका सदस्यहरु परिभ्रमण योजना तयार पार्न संलग्न हुने बैठकले निर्णय गरेको अध्यक्ष लाठले जानकारी दिए । 

पर्यटकीयस्थलहरुको पहिचान तथा व्यवस्थापन गर्नुपर्ने औँल्याउदै आगामी दिनमा पर्यटकलाई आकर्षित गर्न जनकपुर, वीरगञ्ज, सिम्रौनगढ तथा पर्सा निकुञ्जलगायत वीरगञ्जको घण्टाघरदेखि शंकराचार्य गेटसम्मका धार्मिक एवं पर्यटकीय स्थलको स्तरोन्नतिका लागि त्यसैअनुसारको कार्यक्रम निर्धारण गर्नेबारे छलफल भएको अध्यक्ष लाठले बताए । 



बैठकमा लायन्स क्लब इन्टरनेसनलका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान, नाटा प्रदेश–२ का अध्यक्ष मोहन शर्मा, यातायात परिवाह तथा आइसिडी समितिका सभापति अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोज दास, सचिव आशिष लाठ, जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका महासचिव शिवजी साह, पर्यटन तथा हवाई यातायात समितिका सह संयोजक सञ्जय अग्रवाल, नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष अनुप अग्रवाल तथा पर्यटन तथा हवाई यातायात समितिका सदस्य विनोद चौधरीको उपस्थिति थियो ।



  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार २०:१५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया