महालक्ष्मी विकास बैंकले धितोमा राखेको सुन ऋण चुक्तापछि नक्कली दियो, तौल कम भन्यो
फरकधार / १५ भदौ, २०७८

महालक्ष्मी विकास बैंकले आफ्नो एक ऋणीलाई धितोमा राखेको सुन ऋण लिएको रकम चुक्ता गर्दा नक्कली दिन खोजेको पुष्टि भएको छ । 



ललितपुर महानगरपालिका वडा नम्बर ११ चाकुपाटमा बस्ने विष्णु महर्जनले ऋण लिँदा राखेको सुन ऋण चुक्त गरेपछि माग्दा बैंकले नक्कली सुन दिन खोजेको हो । 

बैंकले आफूले राखेको सुन नक्कली दिएपछि र पहिले राखेको सुनको तौल पनि घटाउन खोजेपछि महर्जनले कानुनी बाटो रोजेकी छिन् । ‘आज हामी प्रहरी कार्यालयमा पुगेका छौँ,’ फरकधारको सम्पर्कमा आएकी महर्जनले भनिन्, ‘बैंकले मलाई नक्कली सुन दिएको मात्र होइन, पछिल्ला दिन मानसिक टर्चर पनि दिन थालेको छ ।’

प्रसंग हो, २०७२ सालको । २०७२ साल चैत महिनामा महर्जनले महालक्ष्मी विकास बैंकमा सुन धितोमा राखेर सुरुमा ४ लाख रुपैयाँ ऋण लिइन् । त्यसको केही दिनपछि २०७३ वैशाखमा उनले थप सुन राखिन् र ऋण थपिन् ।



‘सात वर्षदेखि सुन राखेको ऋणको सावा र ब्याज तिर्दै आएकी थिएँ,’ महर्जनले फरकधारलाई भनिन्, ‘७८ साल भदौमा मैले तिनै बाँकी ८ लाख ५४ हजार भयो ।’

२०७८ साल भदौअघि नै उनले अब यति पैसा तिर्नु पर्ने छ भनेर बैंकले बारम्बार ताकेता गरेको थियो । ‘लकडाउन थियो, म आफैं पनि बिरामी भएर केही समय अस्पतालमा बसेकी थिएँ, घरमा नै पनि आरम गरेकी थिएँ,’ महर्जनले भनिन्, ‘मैले बैंकलाई लकडाउन खुलेपछि आउँछु र ऋण र ब्याज तिर्छु भनेकी थिएँ ।’

तर, लकडाउनको समयमा नै तारान्तार फोन गरिरह्यो, महालक्ष्मी विकास बैंकले महर्जनलाई ।

‘दिनदिनै बिहानदेखि साँझसम्म फोन गरेर टर्चर दिन थालेपछि म बैंक गएँ,’ महर्जनले सम्भिइन्, ‘३ असारमा बैंक पुगेकी थिएँ म ।’

त्यही दिन महालक्ष्मी विकास बैंकका ब्रान्च म्यानेजर सुनिलकुमार नेपालले विष्णुलाई भने— तपाईंले जतिसक्दो छिटो ऋण तिर्नुहोला । ‘बिरामी भएकाले र लकडाउन भएकाले पाँच महिनाको ब्याज तिर्न सकेकी थिइनँ,’ विष्णुले भनिन्, ‘त्यहाँ मैले केही दिन समय दिनु न भनेँ । उहाँहरुले मौखिक हुँदैन, लिखित निवेदन दिन अनुरोध गर्नुभयो ।’

विष्णुले बैंक म्यानेजरसँग एक महिनाको समय माग गरिन् । तर, लिखितमा १५ दिनको मात्र समय उनलाई दिइयो । 

‘हाम्रो नियममा १५ दिनभन्दा बढी दिन मिल्दैन,’ विष्णुले नेपालले भनेका कुरा सम्झिइन्, ‘त्यसैले लिखितमा १५ दिन भए पनि तपाईंलाई थप १५ दिन थपिदिऔँला ।’

त्यसको केही दिनमा नै विष्णुसँग १५ हजार नगद आयो । उनले छोरीलाई लगेर त्यो पैसा महालक्ष्मीकै लोन एकाउन्टमा डिपोजिट गर्न लगाइन् ।

जसोतसो बैंकको ऋण तिर्न विष्णु लागिपरेकी थिइन् । उनले १० भदौसम्मको समय पाएकी थिइन् ।

‘त्यसपछि मैले साथीभाई गुहारेँ, आफन्तहरु गुहारेँ, बरु त्यही सुन निकालेर पैसा तिर्छु भनेँ,’ विष्णुले भनिन्, ‘९ भदौमा ८ लाख ५० हजार रुपैयाँ लिएर म बैंक पुगेँ ।’

बैंकमा पुगेलगत्तै विष्णुलाई बैंकका एक कर्मचारीले सोधे– तपाईंलाई सरले बोलाउनु भएको थियो हो म्याम ?

‘होइन,’ विष्णुले जवाफ दिइन्, ‘मैले आफूले ऋण तिर्नका लागि समय दिएकी थिएँ, त्यही भएर आएको ।’

त्यहीबीचमा बैंकका ब्रान्च म्यानेजर आइपुगे । ‘क्यास ल्याउनु भएको छ म्याम ?’ विष्णुलाई नेपालले सोधे । 

विष्णुले नगद होइन, एभरेस्ट बैंकको चेक लिएर गएकी थिइन् । उनी त्यहाँबाट निस्किएर एभरेष्ट बैंकमा चेक साट्न पुगिन् । चेक साटेर ल्याएर उनले त्यहाँका एक कर्मचारीलाई नगद दिइन् । यसअघि १५ हजार डिपोजिट गरिसकेकाले उनले आठ लाख ३९ हजार रुपैयाँ डिपोजिट गरिन् । 

‘यो फारम पनि विनोद सरले भरिदिनु भएको थियो,’ विष्णुले भनिन्, ‘तर, मलाई यसअघि त्यहाँ ब्याजमा छुट दिने भनिएको थियो । यो पैसा तिरेपछि ब्याज छुट मिल्दैन भनियो ।’

ब्याज छुटका लागि केन्द्रीय कार्यालयमा कुरा राख्नु पर्ने नेपाल र विनोद दुवैले विष्णुलाई सुझाए । विष्णुले उनीहरुले भनेअनुसार निवेदन लेखिन् ।

केन्द्रीय कार्यालयबाट जवाफ आउन केही समय लाग्ने विष्णुलाई बताइयो ।

‘म छोरीसँग बैंक गएकी थिएँ,’ विष्णुले भनिन्, ‘म त्यहाँ नै केही घन्टा कुरेर बसेँ ।’

दुई घन्टापछि विष्णुलाई केन्द्रीय कार्यालयबाट ब्याजमा मात्र ५० प्रतिशत छुट दिन भनियो भन्दै ब्रान्च म्यानेजरले विष्णुलाई जानकारी दिए ।

‘अब ब्याजको अरु पैसा तिर्नु, अनि तपाईंको सामान लिएर जानु,’ बैंक म्यानेजरले विष्णुलाई भने ।

विष्णुले त्यसपछि ६० हजार डिपोजिट गर्नु पर्ने भयो ।

‘मसँग ११ हजार मात्र थियो, यो डिपोजिट गरेर भोलिसम्म अरु पैसा डिपोजिट गर्छु भनेँ,’ विष्णुले भनिन्, ‘म्यानेजर साबले हुँदैन भन्नुभयो ।’

त्यहीबेला ऋण शाखाका विनोद बाहिर निस्किए । ‘उहाँ कोठाबाट केही नबोली बाहिर निस्किनु भयो,’ विष्णुले भनिन्, ‘म त सुन लिन जानु भएको होला भन्ने भयो । तर, त्यसको दुई चार घन्टामा पनि उहाँ आउनु भएन ।’

बैंकका ब्रान्च म्यानेजरले विनोदलाई सम्पर्क गर्ने प्रयास गरे । तर, उनको फोन अफ थियो ।

‘मैले म्यानेजरलाई सोधेँ– अब मैले कति घन्टा कुर्नुपर्छ ?’ विष्णुले भनिन्, ‘मलाई उहाँले उल्टै धम्काउनु भयो ।’ उनले धम्क्याउन थालेपछि विष्णुले आफ्ना दाइ र दिदीलाई बोलाइन् ।

उनका दाइले सोझै आएर म्यानेजरलाई आफूले अहिले नै पैसा तिर्ने र आफ्नो सामान चाहिने बताए ।

‘सामान लिएर जानु तर यहाँ खोलेर हेर्न मिल्दैन,’ बैंक म्यानेजरले विष्णुलाई भने, ‘यो खोल्ने अधिकार मलाई छैन, त्यसैले पैसा तिरेपछि सामान लिएर जानु तर खोलेर नहेर्नु ।’

बैंकका म्यानेजरले आफूले सामान खोल्न नदिने अडान लिएपछि विष्णुका दाइले अर्का एक व्यक्तिलाई बोलाए । ‘उहाँ संगठनको मान्छे हुनुहुँदो रहेछ,’ विष्णुले भनिन्, ‘उहाँले पनि ऋण तिरिसकेपछि सामान हेरेर लैजान पाउनु पर्छ भन्नु भयो ।’

साँझ परिसकेको थियो । 

‘यो सामान खोल्ने अधिकार विनोद  सरलाई मात्र छ,’ बैंकका म्यानेजरले यही अडान लिएपछि विष्णुले प्रहरीलाई गुहारिन् ।

प्रहरी आएपछि बल्ल बैंक म्यानेजर नेपालले भने– उहाँको सुन नै नक्कली छ ।

‘हामीले सात वर्षअघि राख्दा सबै चेकजाँच गरेर मात्र सुन राखिएको थियो,’ विष्णुले भनिन्, ‘प्रत्येक वर्ष रिन्यू गर्दा पनि सक्कली भएको सुन अहिले आएर कसरी नक्कली भयो ?’

बैंक म्यानेजर नेपालले सुन नै नक्कली भनेपछि आफूहरु छाँगाबाट खसेको जस्तो अनुभव भएको उनले बताइन् ।

त्यहाँबाट म्यानेजरलाई लिएर प्रहरी कार्यालयमा गयो । 

‘बैंकका सिइओ पनि आउनु भयो,’ विष्णुले भनिन्, ‘उहाँहरुले दुई दिनभित्र आफूहरुले सुन दिने नत्र त्यही सुन बराबरको रकम दिने बताउनु भयो, प्रहरीकहाँ हस्ताक्षर गर्नुभयो र जानुभयो ।’

बैंकका सिइओ बोधराज देवकोटाले पनि २ दिनको समय माग गरेका थिए, विष्णुसँग ।

‘हामी दुई दिन मागेपछि चुपचाप बस्यौँ,’ विष्णुले भनिन्, ‘तर, यतिका दिनसम्म हुँदा पनि बैंकबाट कुनै रेस्पोन्स नै आएन । अब हामी प्रहरीकहाँ गएर उहाँहरुलाई प्रहरीको तर्फबाट नै कानुनी उपचारमा जानका लागि ताकेता गर्दैछौँ ।’

प्रहरीकहाँ दुई दिनपछि आएर आफूले सबै समाधान गर्ने बताए पनि सिइओ देवकोटा र महालक्ष्मी विकास बैंकका कसैले पनि चासो देखाएनन् । बरु तीन दिनपछि बैंकको फोनबाट विष्णुलाई फोन आयो । 

‘विहानै फोन आएको थियो,’ विष्णुले भनिन्, ‘सोझै मलाई साइबर क्राइममा मुद्दा हालिदिन्छौँ भने ।’ उनले आफूले गल्ती गरेको भए सजाय भोग्न तयार भएको भन्दै फोन राखिन् ।

त्यसपछि पहिले बैंकबाट फरार भएका विनोदले फोन गर्न थाले विष्णुलाई ।

‘उहाँले मलाई फोन गरेर तेरा दुई छोरी छन्, धेरै निहुँ नखोज भन्न थाले,’ विष्णुले भनिन् ।

विष्णुलाई हिजोआज पनि विनोद र महालक्ष्मी विकास बैंकका कर्मचारीले फोन गरेर बारम्बार धम्की दिइरहेका छन् । ‘तर, मलाई मेरो सामान चाहिन्छ,’ विष्णुले प्रश्न गरिन्, ‘के एउटा बैंकले मजस्तो सर्वसाधरणलाई यसरी ठग्न पाउँछ ?’


  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १३:५३:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया