पुराना नोट जलाएर ब्रिकेट बनाइँदै, नेदरल्याण्डबाट भित्र्याइयो प्रविधि

नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्राएको छ । सो प्रविधि नेदरल्यान्डबाट पहिलोपटक भित्र्याइएको हो ।

उक्त प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाइने छ । विगतमा चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाएर नष्ट गरिन्थ्यो ।

नेदरल्यान्डको एक कम्पनीसँग सन् २०२० भएको सम्झौताअनुसार पुराना नोट जलाई ब्रिकेट बनाउन आठ मेशिन ल्याउने सहमति भएको थियो । पहिलो चरणमा अहिले चार वटा मेशिन काठमाडौं, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरीएको छ । ती मेशिनमा जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागमा प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । 

उनका अनुसार सो मेशिनबाट काठमाडौंमा ब्रिकेट उत्पादन गर्न सुरु भइसकेको छ । मंगलबार नै नेपालगञ्जबाट पनि थालनी गरिने उनले जनाए । छिट्टै अन्य दुई स्थानबाट पनि उत्पादन सुरु हुने उनले जानकारी दिए । उपकरणको पहिलो भागले नोटलाई टुक्‌र्याउने काम गर्दछ भने दोस्रो भागले ब्रिकेट तयार गर्दछ । 
बाँकी चारवटा मेशिन असोजसम्म ल्याएर जनकपुर, पोखरा, भैरहवा र धनगढीबाट ब्रिकेट उत्पादन सुरु गरिने राष्ट्र बैंकले जनाएको छ । 

पहिलोपटक जलाइएका चार सय बन्डल नोटबाट करिब चार सय केजी खरानी निस्केको थियो । नोटको आकारअनुसार खरानीको परिणाम फरक पर्ने उनको भनाइ छ ।
यसरी उत्पादन गरिएका ब्रिकेटलाई इँटाभट्टा वा कोइला प्रयोग हुने उद्योग, कारखानादेखि घरायसी प्रयोजनमा ल्याउन सकिने छ । बैंकले प्रतिवर्ष करिब ४० देखि ४५ अर्बको नोट नष्ट गर्ने गर्दछ ।





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १४:३१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया