प्रदेश २ सरकारमा माधवकुमार नेपालको एकीकृत समाजवादी पनि !

केही दिनअघि दल दर्ताको प्रमाणपत्र पाएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने भएको छ ।

प्रदेशको निर्वाचन आयोगमा यो पार्टीका सदस्यहरुले सनाखत गर्न बाँकी रहेको छ । प्रदेश सभाका सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेपछि सरकारमा सहभागी हुने नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बताएका छन् ।

‘हामी छिट्टै प्रदेश सरकारमा सहभागी हुँदैछौँ,’ महतोले फरकधारसँग भने, ‘भोलि वा पर्सी नै सनाखत गर्ने काम सकिन्छ, अनि हामी सरकारमा सहभागी हुनेछौँ ।’

नेकपा एमालेको विभाजनमा अन्य प्रदेशमा नेकपा एमाले बलियो देखिए पनि प्रदेश २ मा नेपाल नेतृत्वको एकीकृत समाजवादी बलियो देखिएको छ ।

१०७ सदस्यीय प्रदेश २ को प्रदेशसभामा अहिले १०४ जना छन् । नेकपा विभाजित भएपछि ३ जना प्रदेशसभा सदस्य एमालेतर्फ फर्किंदा माओवादी केन्द्रले उनीहरुलाई कारवाही गरेको छ ।

यसअघि प्रदेश २ मा एमालेका २१ सदस्य थिए । एमाले विभाजनपछि अब एमालेमा ८ जना बाँकी छन् भने अन्य १३ जना नेकपा एकीकृत समाजवादीमा गएका छन् ।



एकीकृत समाजवादीमा गएका प्रदेशका सांसद अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु हुन् । अब एमालेमा प्रदेश २ का प्रदेश सभा सदस्य सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारैन देवी सुडी, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद रहेका छन् ।

प्रदेश २ मा एमाले केन्द्रीय सदस्यको बाँडफाँड भने बराबरीमा रहेको छ । एमालेको केन्द्रीय सदस्यमा भएका प्रदेश २ का ३२ जनामध्ये एमालेमा १६ जना र एकीकृत समाजवादीमा १५ जना खुलेका छन् ।



  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १५:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया