सुदूरपश्चिम प्रदेशका १० सांसदले समाजवादीमा सनाखत गरे

सुदूरपश्चिम प्रदेशमा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा लागेका सुदूरपश्चिमका सांसदहरुले सनाखत गरेका छन् । नेकपा एमाले छाडेर एकीकृत समाजवादी रोज्न इच्छुक प्रदेश सांसदहरुले मंगलबार प्रदेश निर्वाचन कार्यालय धनगढीमा पुगेर सनाखत गरेका हुन् ।

सभामुखबाहेक २४ जना सांसद रहेको नेकपा एमाले सुदूरपश्चिममा १० जना माधव कुमार नेपालले खोलेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) पक्षमा सनाखत गरेका हुन् । 

समाजवादी दलमा सनाखत गर्नेहरुमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेकी पूर्ण जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी रहेका छन् ।

यस्तै, प्रदेशसभा सदस्य कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशीला बुढाथोकीले पनि नयाँ खोलिएको दल नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । 

प्रदेशको पूर्वाधारमन्त्री समेत रहेका दीर्घ सोडारी, सांसद तारालामा तामाङ र अर्चना गहतराजले पनि समाजवादीमा रहेको जनाएका छन् । उनीहरुले बुधबार मात्र सनाखत गर्ने जनाएको छ ।

विगतमा माधव समूहमै रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवरले भने एमालेमै रहेका छन् । एमाले उपाध्यक्ष भीम रावलले नयाँ पार्टीलाई साथ नदिएपछि उनीहरुले पनि माधवको साध छाडेको चर्चा छ ।



विगतदेखि नै पूर्वमन्त्री पठानसिंह बोहरा, रतना थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली समूहमा थिए । 

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले १४ जना सासद समाजवादीमा रहेको दाबी गरिन् । ‘निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको छ । १० जनाले आज समाजदावीमा सनाखत गरेका छन् । अझै थपिनेछन् ।’ बाँकी रहेकाहरुले भोलि सनाखत गर्ने उनले दाबी गरिन् ।



सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ । दल दर्ताका लागि निवेदन दिएको दिन भदौ २ गतेदेखि गणना गरिएको थियो । दल दर्ता अध्यादेशको दफा ३३ को उपदफा २ मा उल्लेख छ, ‘छुट्टै दल गठन भएमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको २१ दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन ।’

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने पनि जनाएको छ । प्रदेशसभा सदस्यले सनाखत गर्न जाँदा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेशसभा सचिवालयबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र बोकेर जानुपर्ने बताइएको छ । 

त्यसैगरी, स्थानीय तहको सदस्यका लागि सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र अनिवार्य गरिएको छ ।

  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १७:५०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया