प्रदेश २ : एमाले र जसपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिले सुरु गरे सनाखत

नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा गएका र जनता समाजवादी पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टीतर्फ लागेका स्थानीय तहका जनप्रतिनिधिले आजदेखि सनाखत गर्न सुरु गरेका छन् । 

मंगलबार नेकपा एमाले र जनता समाजवादी पार्टी छाडेर नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिले जिल्लास्थित निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गरेका हुन् । 

धनुषामा पूर्वराजपाका १ सय १२ जनप्रतिनिधिमध्ये ५४ जनाले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् । त्यस्तै, महोत्तरीमा पूर्वराजपाका २ सय १५ जनप्रतिनिधिमध्ये १ सय २ जनाले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

उता, सिरहामा भने नेकपा एमालेबाट निर्वाचित एकजना वडाध्यक्षले नेकपा एकीकृत समाजवादीतर्फ सनाखत गरेका छन् । पर्सा र सर्लाहीमा आज सनाखत हुन सकेको छैन ।

धनुषाका १८ स्थानीय तहमध्ये मेयर/उपमेयर १२/१२, अध्यक्ष/उपाध्यक्ष ६/६, वडाध्यक्ष १६९ र सदस्य ६४३ गरी जम्मा ८४८ जना जनप्रतिनिधि छन् । जसमध्ये तात्कालीन राजपाबाट मेयर/उपमेयर २/२ जना, वडाध्यक्ष २१ र सदस्य ८७ जना गरी १ सय १२ जना जनप्रतिनिधि थिए । 

आजदेखि नयाँ पार्टी प्रवेश गर्ने जनप्रतिनिधिको सनाखत हुन थालेको प्रदेश निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले बताइन् । एमाले छाडेर एकीकृत समाजवादीमा गएका प्रदेश सांसदहरुले बुधबार र लोसपाका प्रदेश सांसदहरुले बिहीबार सनाखत गर्ने उनले जानकारी दिइन् ।
  
शुक्रबारदेखि एकीकृत समाजवादी पार्टीका र लोसपाबाट छुटेका स्थानीय तहका जनप्रतिनिधिले सनाखत गर्ने कार्यक्रम रहेको प्रमुख झाले बताइन् ।
 
निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिनका लागि स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने व्यवस्थाअनुरुप जनप्रतिनिधि आफैँ उपस्थित भएर सनाखत गरेका हुन् ।



जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह राजपाबाट जिते पनि अहिले जसपामा गइसकेका छन् । उपमेयर रीताकुमारी मिश्र भने लोसपातर्फ रहेकी छन् । त्यस्तै, जलेश्वरका मेयर रामशंकर मिश्र र भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले लोसपातर्फ सनाखत गरेका छन् ।



  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १९:३२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया