दार्चुला तुइन प्रकरण : एसएसबीकै उपस्थितिमा घटना भएको छानबिन समितिको निष्कर्ष

दार्चुलामा तुइनबाट एकजना बेपत्ता भएको घटनाबारे छानबिनका लागि बनेको  छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । 

तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीकै उपस्थितिमा भएको समितिले निष्कर्ष निकालेको छ । एसएसबीको संलग्नताबारे पुनः अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ । 

सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वमा  ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिले ब्याँस गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भनेका छन्, ‘समितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा नदीमा खसेर धामी बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेको बताएका छन् ।





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार २१:१५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया