निर्वाचन क्षेत्रमा कमजोर देखिए भीम रावल, गृहनगरकै प्रमुखले पत्याएनन्

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष डा. भीम रावलकै गृहनगर साँफेबगर नगरपालिका प्रमुखले पनि उनको साथ छाडेका छन् । उनी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

एमाले प्रदेश कमिटी सदस्य रहेका कुलबहादुर कुँवर समाजवादीको काठमाडौंमा भएको सुदूरपश्चिमका अगुवा कार्यकर्ता भेलामा सहभागी भएका थिए ।

नेकपा एमाले साँफेबगर नगरपालिका इन्चार्ज सिलोज कुँवर पनि समाजवादीमा गएका छन् । नेता कुवँरकै गृहपालिका चौरपाटी गाँउपालिका अध्यक्ष हर्क साउदसमेत समाजवादीको पक्षमा उभिएका छन् ।

नेकपा एमाले अछामका उपाध्यक्ष हिरेन्ड भट्टराई, जिल्ला सचिव नवराज साउद, जिल्ला सदस्य एवम् कार्यालय सचिव नमराज न्यौपानेलगायतका जिल्ला तहका अधिकांश नेता समाजवादी पक्षमा छन् । एमाले अछामका अधिकांश जिल्ला कमिटी सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरू पनि समाजवादीमै छन् ।
अखिलका जिल्ला अध्यक्ष शंकर विष्टलगायत पनि समाजवादीको पक्षमा उभिएका छन् । 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समूहमा रहेका नेता रावलले पार्टी टुक्राउन असहमत भएर एमालेमै रहने निर्णय गरेपछि उनी निकटका जिल्ला तहका नेता समाजवादीको पक्षमा लागेका हुन् । निर्वाचन आयोगले दिएको समय सीमाअगावै नेताहरू जिल्लामा खुल्ने क्रम जारी छ ।

रावललाई साथ दिँदै आएका जिल्लादेखि प्रदेश तहका अधिकांश नेता माधव नेपाल पक्षमा उभिएका छन् । उनको आफ्नै क्षेत्रका अधिकांश प्रभावशाली नेता समाजवादीतिर लाग्नाले रावल कमजोर देखिएका हुन् ।



रावलकै गृहजिल्ला अछामका एमाले अध्यक्ष तथा राष्ट्रियसभा सदस्य रहिसकेका शेरबहादुर कुँवर पनि एमाले छाडेर समाजवादीमा लागेका छन् ।

कुँवरले माधव नेपाललाई पहिलेदेखि नै साथ दिएका थिए । रावल २०५१ सालमा पर्यटन राज्यमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका कुँवरलाई रावलले नै राजनीतिमा डोर्‍याएका हुन् । रावलनिकट मानिएका उनको क्षेत्रका कुँवर पार्टी टुक्रिएसँगै माधव नेपालतिर लागेका हुन् ।



नेता कुँवरले नयाँ भिजन र दृष्टिकोणका साथ देशलाई समाजवादतर्फ लैजाने उद्देश्यमा युवा पंक्तिको बाहुल्य रहने गरी स्थापना भएको ‘नेकपा (एकीकृत समाजवादी)’ पार्टीमा आबद्ध हुन अन्य नेता-कार्यकर्तालाई आग्रहसमेत गरेका छन् । ‘निष्ठाको राजनीति मेरो आदर्श हो,’ कुँवरले सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले कहिल्यै पनि जातीयता र क्षेत्रीयताको राजनीति गरेको छैन र गर्दिनँ पनि ।’

कुँवरको समाजवादी पार्टी रोजाइसँगै उनी निकट नेता-कार्यकर्ता समाजवादी पार्टीमा लाग्न थालेका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलकी प्रमुख सचेतक दुर्गा विक पनि नेकपा एकीकृत समाजवादीमा लागेकी छन् । उनले मंगलबार प्रदेश निर्वाचन कार्यालयमा समाजवादी दलका पक्षमा सनाखत गरिसकेकी छन् । यसअघि उनले गृहजिल्लाका नेता रावललाई साथ दिँदै आएकी थिइन् । नेता रावल नेकपा एमालेमै रहेपछि विकले पनि उनको साथ छाडेकी हुन् ।

नेकपा एमालेका प्रदेश सदस्य शंकर भण्डारी पनि समाजवादीमा लागेका छन् । अछाम क्षेत्र नं. २ का प्रभावशाली नेता भण्डारीले रावललाई छोड्दै माधव नेपाललाई साथ दिएका छन् । सुदूरपश्चिममा समाजवादी दलमा १३ जना खुले पनि मंगलबार १० जना प्रदेश सांसदले मात्र सनाखत गरेका छन् ।
 

  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १४:४२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया