प्रदेश २ मा चरम बेथिति— सरकारी गाडीमा लोसपा, भारतीय गाडीमा जसपा !

यसै पनि नेपालको प्रदेश २ मा बढी भारतीय प्रभाव भएको र भ्रष्टाचारको समस्या पनि अत्यधिक रहेको समाचार बाहिर आइरहेका छन् । त्यति मात्र होइन, यो प्रदेशमा पछिल्लो समय अख्तियारीको दुरुपयोग पनि बारम्बार भएको देखिन्छ । 

बुधबार यसलाई थप प्रमाणित गर्ने काम प्रदेश २ का मुख्य जिम्मेवार दल मानिएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले गरेका छन् ।

किनकि यीमध्ये एकले भारतीय गाडीको प्रयोग गरेका छन् भने एकले सरकारी गाडीको दुरुपयोग गरेका छन् ।

महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलको सरकारी गाडीमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेताद्वय राजेन्द्र महतो एवं शरतसिंह भण्डारी बुधबार जनकपुरधाम आएका बेला पार्टीको झण्डा लगाएर विमानस्थलसम्म पुगेका थिए । 

मेयर मण्डलले प्रयोग गर्दै आएको ज १ झ ४२९ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा लोकतान्त्रिक समाजवादी पार्टीको साइकल छाप अंकित झण्डा झुण्डाएर लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई विमानस्थलबाट कार्यक्रमस्थलमा लगियो ।

नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले भने, ‘यस्तो बेथिति नियन्त्रणमा सम्बन्धित निकायको ध्यान जाओस् । मेयर साहले गरेको यो काम बिलकुल अशोभनीय छ ।’ 



उता, प्रदेश २ का पूर्वआन्तरिक मामिला तथा कानून राज्यमन्त्री समेत रहेका जसपाका नेता सरोजसिंह कुशवाहाले मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा शक्ति प्रदर्शन गरेका बेला पनि भारतिय नम्बर प्लेटका मोटरसाइकलहरूमा जसपाको झण्डा झुण्ड्याइएको थियो । 

महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर–३ सरपल्लोमा आयोजित सम्मान कार्यक्रममा सहभागी हुनुपूर्व आयोजना गरिएको मोटरसाइकल र्‍यालीमा दर्जनौँको संख्यामा भारतीय नम्बर प्लेटका मोटरसाइकलहरुमा जसपाको छाता छाप अंकित झण्डा झुण्ड्याइएको थियो । जबकी नेपाल प्रवेश गर्ने सिमा क्षेत्रहरु कोरोनाभाइरसका कारण बन्द रहेकाले भारतीय नम्बर प्लेटका सवारी साधन कसरी नेपालमा निर्वाध चलिरहेका छन् भन्नेमा प्रश्न उठाउन सकिन्छ ।



पूर्वराज्यमन्त्री सरोजसिंह कुशवाहा पदमुक्त भएपछि पनि सरकारी गाडीसहित १८ वटा सामान आफूसँगै लिएर सम्पर्कविहीन भएका छन् । राजीनामा दिएर घर फिर्ता भएसँगै उनी आफूले प्रयोग गर्दै आएको प्रदेश २–०२ ००१ झ ००६२ नम्बरको गाडीलगायत १८ वटा महत्वपूर्ण सामानहरु समेत सँगै लिएर गएका छन् ।

जिल्लाका स्थानीय तहहरुमा पनि सरकारी मोटरसाइकल जथाभावी चलाउने गरिएको देखिन्छ । साविकका गाविसमा खरिद गरिएका मोटरसाइकल स्थानीय तहका वडा कार्यालयमा छन् । ती प्रायः सचिवको जिम्मामा छन् । जिल्लाका सबैजसो स्थानीय तहका जनप्रतिनिधिले थप मोटरसाइकल खरिद गरेका छन् । कतिपय जनप्रतिनिधिले त आफूले चलाउन नसकेर मोटरसाइकल चालक पनि तलबमा राखेका छन् । 

‘धेरैजसो मोटरसाइकल जनप्रतिनिधि र गाउँका युवाले सिक्न प्रयोग भइरहेका छन् । बिग्रिएपछि स्थानीय तहले मर्मत गरिहाल्छ’, एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बिदाको दिन होस् या अन्य दिन सरकारी गाडीहरु निजी जसरी प्रयोग भइरहेका छन् ।’

  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १९:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया