महालक्ष्मी विकास बैंकले गरेकाे सुन ठगीले सेवाग्राही सशंकित, आवश्यक परे हस्तक्षेप गर्छौंः राष्ट्र बैंक

महालक्ष्मी विकास बैंकमा भएको पछिल्लो घटनाले बैंकिङ क्षेत्रको विश्वासमाथि नै प्रश्नचिन्ह लगाइदिएको छ । बैंकले एक ग्राहकलाई सुन धितोमा ठगी गरेको कुरा बाहिरिएपछि सेवाग्राहीहरु सशंकित बनेका छन् । 

ठगीमा परेकी भनिएकी ललितपुरकी विष्णु महर्जनले प्रहरीमा उजुरी दिएपछि उक्त मुद्दा बाहिरिएको हो । महर्जनले केही वर्षअघि बैंकमा धितो राखेको करिब २५ तोला सुनको ऋण र ब्याज तिर्न जाँदा बैंकले नक्कली सुन दिएर पठाउन खोजेको आरोप लगाएकी छन् । सो विषय प्रहरीमा पुगिसकेकाले छानबिनको प्रक्रियामा रहेको छ । उक्त विषय नेपाल राष्ट्र बैंकमा पनि पुगिसकेको छ । 

महालक्ष्मी विकास बैंकमा यसअघि पनि योभन्दा ठूलो घोटाला भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महालक्ष्मी विकास बैंकको सुन कर्जामा भएको सात करोड अनियमितता नियमन तथा सुपरिवेक्षणको कमजोरीले भएको निष्कर्ष निकालेको थियो ।

 

सुनमा ठगी नै ठगी

महालक्ष्मीबाहेक अन्य बैंकहरुमा सुन धितो राख्दा यस्ता समस्या देखा परेका थुप्रै उदाहरण छन् । यसअघि सुन बिक्री–वितरणमा ठगी गरेको भन्दै गत बैशाखमा मात्रै एनएमबी बैंकविरुद्ध पनि उजुरी परेको थियो । केही वर्षअघि सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा पनि सुनमा ठगी भएका कुरा बाहिरिएका थिए । 



राष्ट्रिय वाणिज्य बैंकको धरान शाखामा सुन भनेर फलाम राखेर अनियमितता भएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा प्रहरीले सम्बन्धित कर्मचारीसहित केहीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । 

यसैगरी, सिटिजन्स बैंकको न्युरोड शाखामा पनि यस्तैखाले अनियमितता भएको घटना बाहिरिएको थियो । जसमा सिआइबीले २०७५ भदौमा सुन जाँचकी, कर्मचारी र ऋणीलाई पक्राउ गरेको थियो ।



 

याे पनि पढ्नुहाेस्— 

महालक्ष्मी विकास बैंकले धितोमा राखेको सुन ऋण चुक्तापछि नक्कली दियो, तौल कम भन्यो


 
आधुनिक प्रविधिको अभाव

बैंकहरुमा अत्यावश्यक गर्जो टार्ने मानिसहरु र सुन व्यवसायीले धितो राखी ऋण लिने गरेको पाइन्छ । यस्ता ठगीका घटना सुनका गरगहनामा राख्दा बढी हुने गरेको देखिन्छ । खासगरी बैंक तथा वित्तीय संस्थामा सुन धितो राख्दा जाँच गर्नका लागि आवश्यक वैज्ञानिक तथा आधुनिक औजारहरुको नेपालमा अभाव छ । बैंकहरुमा सुनको शुद्धता जाँच्ने परम्परागत विधिको प्रयोग गरिन्छ भने गहनामा सुनको वास्तविक तौल निकाल्नका लागि अन्दाज गर्ने गरिन्छ । यही अवैज्ञानिक विधिका कारण सेवाग्राही र बैंकले ठग्ने गरेको पाइन्छ ।  

अर्को कुरा सुनलाई राष्ट्र बैंकले नै नगदको रुपमा लिनुपर्ने भनेपछि सुनधनीको अन्य पहिचान पनि गरिँदैन । जसरी अन्य सम्पत्ति धितो राख्दा निरीक्षण गरिन्छ त्यसरी केही पनि खोजी गरिँदैन । ग्राहकको वास्तविक पहिचान पनि गरिँदैन ।

अर्को समस्या भनेको, सुन शाखामा काम गर्ने जाँचकी नियुक्त गर्दा पनि कुनै विधि अपनाइँदैन । जथाभावी जिम्मेवारी दिने गरिन्छ । यसले पनि समस्या निम्त्याउने गरेको छ ।

 

नीतिगत अभावले समस्या 

बैंकहरुले सुन धितो राखी ऋण दिने प्रचलन दशकौंदेखि चल्दै आएको हो । तर, सुन राख्दा कसरी काम गर्ने भन्नेबारे स्पष्ट कार्यविधि नै छैन । जसका कारण यस्ता ठगी तथा अनियमितता दोहरिरहन्छन् ।  

मानिसहरुले आफूसँग भएको सुन धितो राखी काम चलाउँदा कहिलेकाहीँ समयमा ऋण तथा ब्याज चुक्ता हुन सक्दैन । कहिलेकाहीँ भने नियतबस ऋण चुक्ता नगर्ने प्रवृत्ति पनि देखिन्छ ।  

गत आर्थिक वर्षसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट करिब ४० अर्ब सुन धितोवापत्‌काे कर्जा प्रवाह भएको छ । तर, सुन धितोको सम्बन्धमा स्पष्ट कार्यविधि नहुँदा यसले बैंक सञ्चालन व्यवस्थापनमा समस्या देखा पर्ने गरेको छ । नियामक निकायको नियमनकारी नीतिसमेत बन्न सकेको छैन ।  

अहिले बैंकिङ क्षेत्रमा सुनलाई निक्षेपका रुपमा पनि राख्ने नीति त बनेको छ, तर बैंकहरुले सुनको जाँच कसरी गर्ने भन्नेबारे स्पष्ट कार्यविधि नै छैन । सबैखाले ठगी, अनियमितता तथा ठूला घोटालाहरूमा सार्वजनिक भइसकेपछि नेपाल राष्ट्र बैंकले छानबिनमा नेपाल प्रहरीलाई सघाउँछ र त्यसै आधारमा आवश्यक कारबाही हुने गर्छ । 

तर, बैंकहरुमा सुन धितो राख्दा सुन सक्कली–नक्कली के हो भनेर जाँच गर्ने वैज्ञानिक प्रणाली नै छैन । जसका कारण सुन धितोमा विगतमा पनि पटकपटक अनियमितता भएका छन् । 

 

कुन ऐन आकर्षित हुन्छ ?

बैंकिङ क्षेत्रमा हुने सबैखाले घटनाहरुमा कारबाहीका लागि बैंकिङ कसुर ऐन नै आकर्षित हुन्छ । सोही ऐनका आधारमा बैंक क्षेत्रमा हुने ठगीका घटनाबारे छानबिन भई कारबाही हुने गर्छ । बैंकिङ कसुर तथा सजाय ऐनअनुसार सुन धितो राख्दा ग्राहक वा बैंकबाट ठगी भएमा आवश्यक कारबाही हुन्छ ।  

सर्वसाधारणको लगानीबाट चलेका बैंकहरुमा पटकपटक ग्राहक वा बैंक कर्मचारीबाट ठगिएका घटनाहरु सार्वजनिक हुँदा सञ्चालन व्यवस्थापनमा समस्या भएको बताइन्छ । यस्तो बेलामा राष्ट्र बैंकले सर्वसाधारणको रकम नडुबोस् भनेर बैंकको सञ्चालक समितिमा हस्तक्षेप गर्दै आएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) अनुसार आवश्यकताअनुसार सम्बन्धित बैंक सञ्चालन गर्न राष्ट्र बैंक नै जाने गरेको छ ।

महालक्ष्मी बैकको हकमा आवश्यक छानबिन भइरहेकोले आवश्यकताअनुसार राष्ट्र बैंकले काम गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले बताए । फरकधारसँग उनले भने, ‘सुनको नापजाँचबारे त हामी कमजोर नै छौं । हामीले निक्षेपमा सुन राख त भनेका छौं, तर यसमा केही समस्या छन् । महालक्ष्मीको हकमा पनि हामी आवश्यक छानबिनमा सघाउँछौ । अन्य जे गर्नुपर्छ गर्छौं ।’ पटकपटक सर्वसाधारणलाई ठगी गरेको वा आन्तरिक व्यवस्थापनमा समस्या भएको पाइएमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने पोखरेलले बताए । 

राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलले भने पटकपटक सर्वसाधारणलाई ठगी गरिहेको बैंकमा राष्ट्र बैंकले हस्तक्षेप गर्न ढिला गर्न नहुने बताए । उनले भने, ‘बैंकमा लगानी गर्ने लगानीकर्ता नै आमजनता हुन् । जनताकै कारण बैंकहरु सञ्चालन हुन्छन् । तर, आफ्नो लगानीको सुरक्षाको प्रत्याभूति नहुने भए आममानिसको बैंकप्रतिको विश्वास घट्छ । एक–दुई जनाको गल्तीले सबैलाई त्रसित बनाउनु उचित होइन । यस्तो बेला राष्ट्र बैंकले तत्काल हस्तक्षेप गर्नुपर्छ । नियामक निकाय भएको अनुभूति दिनुपर्छ ।’


  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १९:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया