सभापतिमा साझा उम्मेदवार तय गर्ने रामचन्द्र पौडेल पक्षको दाबी, पौडेल पक्षको कार्यक्रममा गगन थापा उपस्थित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने जनाएको छ । 

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिवद्धता जनाएका हुन् ।  

उनले नेपाली काँग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाको रुपमा स्थापित गर्न सहमति र छलफलमा ठाउँ अनुसारको उम्मेदवारी दिने बताए । 

‘वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘हामीले एउटा सामूहिकताको पाटोमा देशलाई र पार्टीलाई लान चाहने भएकोले उम्मेदवारी दिने कुरामा पनि आ आफैँले उम्मेदवारी दिने कुरा भन्दा पनि सल्लाह गरेर, आपसमा सहमति गरेर, कसलाई कुन ठाउँमा राख्नुपर्ने हो, कसले के जिम्मेवारी लिँदा ठीक हुन्छ, कहाँ एकता कायम हुन्छ, सबै समेटिएर, सबै सम्मिलित भएर कसरी अगाडि बढ्न सकिन्छ, चुनौतिहरुको सामना कसरी गर्न सकिन्छ, भन्ने कुरामा हामी छलफल गरिरहेका छौँ,’ उनले भने । 

पार्टीलाई बचाउन, लोकतन्त्र बचाउन र मुलुकको अस्तित्वलाई जोगाउन एकतावद्ध भएर जाने पनि नेता पौडेलले जनाए । अहिले भएको एकता १४ औँ महाधिवेशनको अन्तिमसम्म पनि कायमै राखेर अघि बढ्ने भनाइ उनको थियो । 

वरिष्ठ नेता पौडेलले पार्टीमा भएको क्रियाशील सदस्यको विवादले पार्टीका निष्ठावान व्यक्तिहरु  पीडित भएको बताए । 



पत्रकार सम्मेलनमा पौडेल पक्षका सभापतिका आकांक्षीहरु पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेताद्धय प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताहरु सहभागी भएका थिए । कार्यक्रममा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका युवा नेता गगनकुमार थापा पनि सहभागी थिए । 


 



  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १६:३५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया