'अहिले नै विद्यालय खोल्ने बेला भएको छैन'

काठमाडौं उपत्यकामा विद्यालय खोल्ने तयारी भइरहेको छ । अबको एक साताभित्रमा नै निर्णय गरेर भौतिक उपस्थितिमा पठन पाठन गर्ने तयारी भइरहेको हो । जिल्ला प्रशासन कार्यालयले समेत आवश्यक परेको खण्डमा भौतिक उपस्थितिमै पठन पाठन गराउन सकिने निर्णय गरेको छ । 

उक्त निर्णयपछि विद्यालयहरू त्यसको तयारीमा लागेको छन् । केही विद्यालयले त यसअघि नै भौतिक रूपमै पठनपाठन पनि थालेका छन् । 

कोरोना महामारीको जोखिम अन्त्य नभएको अवस्थामा नै भौतिक उपस्थितिमा पठनपाठन गराउन नहुने जनस्वास्थ्यविद् बताउँछन् । जनस्वास्थ्यविद् डा. रमेश आचार्यले खोप नलगाई विद्यालय खोल्नु निकै घातक हुने बताए । 

‘बालबालिकालाई खोप नलगाई विद्यालय खोल्ने निर्णय गर्नु त्यो निकै घातक हुनसक्छ । त्यसमा सरकारले तत्काल विद्यालय खोल्ने कार्य रोक्नुपर्छ’, डा. आचार्यले भने । 
कोरोना संक्रमणको दर घट्दो अवस्थामा रहेपनि जोखिम कम नभएको स्मरण गराउँदै यस्तो अवस्थामा विद्यालय खोल्नु भनेको अर्को खतरा निम्त्याउनु रहेको उनको भनाइ छ । 

‘विद्यालयमा प्रायः १८ वर्ष मुनिका बालबालिका हुन्छन् । सबैलाई खोप नलगाई विद्यालय खोल्नु भनेको बालबालिको स्वास्थ्यमा गम्भीर खेलबाड गर्नु हो’, डा. आचार्यले भने । 

चीनले अहिले १० वर्ष माथिको उमेर समूहलाई नै भेरोसेल खोप लगाइरहेको छ । यस्तो अवस्थामा नेपालमा भने खोप स्टोरमा भण्डार गरेर राखिराख्नुभन्दा बालबालिकालाई लगाउन सकिने उनको तर्क छ । 



दुई वर्षसम्म विद्यालय खोल्दा केही नहुने तर, अहिले आएर हतारमा निर्णय गर्दा पछि पछुताउनुपर्ने उनको भनाइ छ । 

अर्का जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीले समेत हतारमा विद्यालय खोल्न नहुने तर्क गरे । 



‘विद्यालय जाने सबै बालबालिकालाई खोप दिएपछि मात्र विद्यालय खोल्नुपर्छ । बढी भीडभाड हुने क्षेत्र भनेको विद्यालय हो । बालबालिकामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गराउन सकिँदैन । जसले गर्दा संक्रमणको जोखिम उनीहरूमा बढी हुन्छ’, डा. मरासिनीले भने । 

तेस्रो लहरको जोखिममा बालबालिका नै बढी रहेको अवस्थामा विद्यालय खोल्ने निर्णय गर्नु अर्को खतरा निम्त्याउनु रहेको उनको भनाइ छ । जनस्वास्थ्यविद्हरूले तेस्रो लहरको खतरा औँल्याउँदै आएका छन् । तेस्रो लहरमा बालबालिका नै बढी संक्रमित हुने भन्दै उनीहरूले सरकारलाई सचेत गराउँदै आएका छन् । 

‘हामीले तेस्रो लहरको खतरा छ भनिरहेका छौं । त्यसमा बालबालिका बढी प्रभावित हुने भनिरहेको बेला विद्यालय खोल्ने निर्णय गर्नु भनेको उनीहरूको स्वास्थ्यमाथि अर्को खतरा निम्त्याउनु हो’, डा. मरासिनीले भने । 

उनले तीजपछि तेस्रो लहरको बढी जोखिम रहेको बताउँदै आएका छन् । बढी भीडभाड हुने र त्यसपछि कोरोना संक्रमणको जोखिम रहेको भन्दै त्यसमा बालबालिका बढी प्रभावित हुने उनले बताए । 

नेपालमा १८ वर्षमाथि एक करोड भन्दा बढीले खोप लगाइसकेका छन् । तर, बालबालिकाको हकमा भने अहिलेसम्म खोपको व्यवस्था गर्न सकिएको छैन । सरकारले भने १८ वर्ष उमेर समूह मुनिका बालबालिकालाई लगाउन मिल्ने खोप छिट्टै ल्याइने बताएको थियो ।

गत साउन २८ गते स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई लगाउन मिल्ने फाइजरको खोप खरिद प्रक्रिया अगाडि बढाइएको बताएका थिए । तर, खोप कहिलेसम्म आईपुग्ने भन्ने टुंगो लागेको छैन ।

अहिले पनि दैनिक २० जनाको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ । दैनिक दुई हजार बढी संक्रमित भइरहेका छन् । यस्तो अवस्थामा विद्यालयहरू धमाधम भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गर्न थालेका छन् । 

जिल्ला प्रशासन कार्यालय कैलालीले आजमात्र विद्यालय सञ्चालन गर्न पाइने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न पाउने उल्लेख गरेका हुन् । बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन भन्दै प्रशासनले यस्तो निर्णय गरेको बताएको छ । 

सकभर भौतिक उपस्थितिमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन भनिएको छ । यदि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्नुपरेमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको मापदण्डभित्र रही सञ्चालन गर्न पाइने बताएको हो । यस्तो आदेश आएसँगै विद्यालयहरूले भौतिक उपस्थितिमै पठनपाठन गराउने तयारी गरेका हुन् । 

दशैं तिहारसम्म अझै पर्खेर मात्र यसबारे निर्णय गर्न सकिने जनस्वास्थ्यविद् आचार्यको भनाइ छ । 

अहिलेपनि दैनिक १५ देखि २० प्रतिशतमा संक्रमण देखिरहेको छ । कम्तिमा घटेर ५ प्रतिशत नहुँदासम्म विद्यालय खोल्ने निर्णय गर्नु गलत रहेको उनको भनाइ छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अध्ययन अनुसार ६८.६ प्रतिशतमा कोभिड–१९ एन्टीबडी बनेको देखिएको छ । कोरोना भाईरसविरुद्धको पूर्ण मात्रा खोप लगाएकामा भने ९० प्रतिशत एन्टीबडी बनेको देखिएको छ ।

मन्त्रालयले गरेको १३ हजार १६१ जनामा गरेको अध्ययन अनुसार यस्तो देखिएको हो । उक्त अध्ययन अनुसार पनि खोप नलगाई बालबालिकालाई विद्यालय पठाउन नहुने जनस्वास्थ्यविद् डा.मरासिनीले बताए ।  
 

  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १९:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया