बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडमा स्थानीय प्रशासनले शिल गरेको छ ।
हेटौंडा-३, बसामाडीमा रहेको युनिलिभर नेपाल लिमिटेडको चियापत्ती प्लाण्टमा स्थानीय प्रशासनले शिल गरेको हो।
भारतबाट आयात गरिएको म्याद गुज्रिएको चियापत्तीलाई रिप्याकेजिङ गरी रेड लेबल चियाको ब्राण्डमा बजार पठाउने गरेको फेला पारिएसँगै शिल गरिएको हो।
विशेष सूचनाको आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चसहितको संयुक्त अनुगमन टोलीले उद्योग परिसरमा रहेको चियापत्ती प्लाण्टमा अनुगमन गरेको बताईएको छ।
अनुगमनको क्रममा रिप्याकेजिङ गर्न तयार रहेको ३५ केजी तौलका ९२० बोरा (३२ टन २ सय केजी) अन्य कम्पनीका मिश्रित ३ हजार बोरा भन्दा बढी चियापत्ती फेला पारिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका प्रमुख सोमकान्त रिजालले बताए।
अनुगमन टोलीका अनुसार सन् २०१९ मा उत्पादित चियापत्ती सन् २०२० को जुन् महिनाभित्र प्रयोग गरिसक्नु पर्ने थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लेबल नभएको, म्याद गुज्रेको सामग्री उपभोक्तालाई बेच्न लागि परेको अभियोजनमा मुद्दा अघि बढाउन लागिएको बताएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याद गुज्रिएका, लेबल नभएका खाद्य सामग्री तत्काल नष्ट गर्न २०७६ कार्तिक १७ गते मातहत कार्यालयलाई निर्देशन दिएको छ ।
यसअघि मकवानपुरमा हुने गरेको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रिएको सामग्री सोझै नष्ट गर्ने गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।