सरकारी तथ्यांकमा मात्रै घटेको महँगी, सर्वसाधारणलाई छैन महसुस

‘तेलको भाउ कति धेरै महँगो हो ? अब त तेल नै थोरै खानुपर्ने अवस्था भइसक्यो,’ लाजिम्पाटस्थित बिजी स्टोरमा भेटिएकी सुशीला प्रधान भन्दै थिइन्, ‘तेल मात्रै हो र ? तरकारीहरू पनि किनिसाध्यै छैन ।’

भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पको लाइनमा बसेका वसन्तपुरका अशोक बज्राचार्यको पनि उस्तै गुनासो थियो । ‘अब यो बाइक पनि पाल्न सकिएला जस्तो छैन । पेट्रोलको भाउ कति बढ्या हो ?’ उनी मुर्मुरिँदै थिए ।

सुशीला र अशोकका पीडा प्रतिनिधिमूलक आवाज मात्रै हुन् । दिनहुँ नेपालीका भान्छा र दैनिक गर्जो टार्ने काम निकै महँगिएको छ । खाद्यबजारदेखि सेवाबजारसम्म दिनप्रतिदिन महँगो बन्दै गइरहेको छ । 

पछिल्लो एक वर्षमा नेपाली खाद्यबजारमा खाने तेलको ग्राफ निकै उकालो चढ्यो । हरेक घरमा तेलले निकै चर्चा पायो । भान्छामा नभइ नहुने खानेतेलको भाउ अकासिँदा सबैको चासो बढ्ने नै भयो ।

गत वर्षको दसैंपछि तेल मिलहरूले प्रतिलिटर अधिकतम खुद्रा मूल्य २४० देखि २६० रुपैयाँसम्म बनाए । यसबाहेक गत आर्थिक वर्षमा तरकारी, मासु, अण्डाको मूल्यमा पनि १० देखि १५ प्रतिशत बृद्धि भयो । यसैगरी सिमेन्ट, बालुवा र गिट्टीमा पनि गत आवमा भाउ बढेको थियो ।

मानिसको दैनिकीसँग जोडिएको पेट्रोलको भाउ पनि हरेक महिनाजसो बढ्यो । हरेक १५–१५ दिनको अन्तरालमा गरिने मूल्य समायोजनमा एकाध पटकबाहेक निरन्तर बढिरह्यो ।



नेपाल बजारमा दैनिक उपभोग्य वस्तुमा निरन्तर बृद्धि हुँदा उपभोक्ताहरू चर्को मारमा परिरहेका छन् । प्रायः उपभोक्ताले खुद्रा मूल्यमा उपभोग गर्नुपर्ने सेवा तथा वस्तु उपभोगमा ‘ढाड सेकिने’ गरी मूल्य चर्किएको छ ।  यस्तो मूल्यवृद्धि हरेक वर्ष बढ्दो छ । तर, संकुचित बन्दै  गएको श्रमबजारका कारण रोजगारी उपलब्ध हुन नसक्दा क्रयशक्ति भने घटिरहेको छ।

तथ्यांकमा आधा घट्यो मूल्य वृद्धि !



तथ्यांकीय हिसाबले गत आव २०७७/०७८ मा मूल्यवृद्धि घटेको देखिन्छ । गत आवको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ३.६० प्रतिशत रहेको छ । यो तथ्यांक अघिल्लो आवको भन्दा झण्डै आधा हो । अघिल्लो आव २०७६/०७७ मा मुद्रास्फीति ६.१५ प्रतिशत थियो । गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशतमा कायम रहेको देखिन्छ ।

अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति ८.१६ प्रतिशत थियो । यस्तै, गैर-खाद्य तथा सेवा मुद्रास्फीति गत आवमा २.५१ प्रतिशतमा कायम थियो । अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति ४.६१ प्रतिशत थियो ।  गत आवको औसत मुद्रास्फीतिलाई २० वर्षयताकै कम भनिएको छ । तर, बजारमा उपभोक्ताले कुनै पनि सामान सस्तोमा पाएको अनुभूति गर्न सकेनन् । 

मूल्य घटेको उपभोक्तालाई थाहै भएन

समग्रमा मुद्रास्फीतिले बजारमूल्य नै मापन गर्ने हुँदा कम गतिमा भएको मूल्य वृद्धिलाई उपभोक्ताले महसुस गर्नुपर्छ । गत वर्ष कायम भएको मुद्रास्फीति २० वर्षयताकै कम भनिरहँदा उपभोक्ताले त्यति नै कम महँगी बढेको महसुस गर्नुपर्थ्याे । सुपथ मूल्यमा वस्तु तथा सेवाको उपभोग गर्न पाउनुपर्थ्याे । तर, अवस्था त्यस्तो रहेन ।

मुद्रास्फीतिमा गिरावट सरकारी तथ्यांकमा मात्रै सीमित हुन पुग्यो । कोरोना महामारीको चपेटामा परेका आमउपभोक्ताले चर्को मूल्यवृद्धिको मार खेप्नु पर्‍याे । यस्तो किन हुन्छ त ? नेपाल राष्ट्र बैंकका पूर्व डेपुटीगभर्नर चिन्तामणि शिवाकोटी भन्छन्, ‘बजार मूल्यांकन गर्ने विधि नै ठीक छैन ।’

राष्ट्र बैंकले तोक्ने गरेका प्रतिनिधिमूलक बजारबाटै सत्य कुरो नआउँदा यस्ता तथ्यांकहरू कागजमा सीमित रहने गरेको स्पष्ट पार्दै शिवाकोटी थप्छन्, ‘हाम्रा प्रतिनिधिमूलक बजारबाटै सत्य कुरा आउँदैन । फ्याक्ट चेकका लागि कोही जाँदैन । आवधिक रूपमा आएका मूल्यलाई आधार मानी तथ्यांक निकालिन्छ । समस्या यहाँ नै भयो ।’

शिवाकोटीले यस्ता तथ्यांकमा सर्वसाधारणले विश्वास गर्ने आधार नभएको स्वीकार गरे । वर्षौंदेखि यस्ता तथ्यांकले जनताको वास्तविकता समेट्न नसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘यो त अहिलेको मात्रै समस्या होइन । हामीले मुद्रास्फीति निकालेदेखि नै यो समस्या कायमै छ । यसले उपभोक्ताको खास अवस्था समेट्दैन । ’

मुद्रास्फीति मूल्य वृद्धि होइन ?

अर्थशास्त्रीहरूको भाषामा मुद्रास्फीति मूल्यवृद्धि होइन । तर, आममानिसले उपभोग गर्ने वस्तु तथा सेवाहरूको औसत मूल्यस्तरमा भएको निरन्तर मूल्यवृद्धिकाे अवस्थालाई मुद्रास्फीतिका रूपमा बुझिन्छ । यसको अर्थ मुद्रस्फीतिले समग्र मूल्यवृद्धिकाे गति देखाउँछ।

केहीको मूल्य घटे पनि बजारमा धेरैजसो वस्तु र सेवाको लगातार मूल्यवृद्धि भएको अवस्थालाई मुद्रास्फीति भनिन्छ । अर्को भाषामा, मानिसको क्रयशक्ति बढ्दा उत्पादन बढेन भने मुद्राको अवमूल्यन हुन्छ । यही अवस्थालाई मुद्रास्फीति भनिन्छ । मुद्रा नै कमजोर हुँदा वस्तु महँगो पर्ने भएकाले थोरै सामानका किन्न धेरै पैसा खर्च गर्नुपर्छ । तर, मुद्रा बढ्दैमा बजार महँगो हुने भने होइन बरु उत्पादन घटेर मुद्रा कमजोर हुने हो ।  

कसरी हुन्छ मूल्य संकलन

सामान्यतया उपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवा र उत्पादनकको मूल्यको आधारमा मुद्रास्फीति निकालिन्छ । उपभोक्ता मूल्य सूचकांक, थोक मूल्य सूचकांक, उत्पादक मूल्य सूचकांक र कूल उत्पादनलाई आधार बनाइन्छ । यसमध्ये मुख्यतया उपभोक्ता मूल्य सूचकांकलाई हेर्ने अभ्यास नेपाल राष्ट्र बैंकको छ ।

राष्ट्र बैंकले आवधिक रूपमा पारिवारिक बजेट पनि सर्वेक्षण गर्छ । जसमा कुनै पनि घरपरिवारले किन्ने वस्तु तथा सेवाको छनौट गर्ने गरिन्छ । त्यस्तो सर्वेक्षणमा अधिकांश घरपरिवारको बढी छनोटमा पर्ने वस्तु तथा सेवाको छनोट गर्ने गरिन्छ। 

यही आधारमा केन्द्रीय बैंकले केही प्रतिनिधिमूलक वस्तु निर्धारण गर्ने गर्छ । ती वस्तुहरूको मुख्य बजार निर्धारण गर्छ । त्यही बजारमा निश्चित अवधिमा मूल्य संकलन गर्ने गरिन्छ । त्यही घटबढको अध्ययन गरी मुद्रास्फीति निकाल्ने राष्ट्र बैंकले जनाएको छ ।  

राष्ट्र बैंकले पछिल्लो पटक गरेको पारिवारिक बजेट सर्वेक्षण २०७०/०७१ ले मुद्रास्फीतिका आधारहरू तय गरेको छ ।  पाँचौं बजेट सर्वेक्षणका आधारमा राष्ट्र बैंकले ४९६ वटा  वस्तु तथा सेवाको मूल्य संकलन गर्ने गरेको छ । यसमा १६२ वटा खाद्यवस्तु, १४ वटा पेय पदार्थ र ३२० वटा गैरखाद्यवस्तु छानिएका छन् । सर्वेक्षणअनुसार छानिएका वस्तु तथा सेवाले आमघरपरिवारको खर्चको ९७ प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने भएकाले त्यसलाई चुनिएको राष्ट्र बैंकले जनाएको छ । 

वस्तु र सेवाको छनौटपछि केन्द्रीय बैंकले उपभोक्ता मूल्य सूचकांक गणनाका लागि प्रतिनिधिमूलक बजार केन्द्र पनि तोक्ने गर्छ । हाल त्यस्ता बजारमा २९ वटा ग्रामीण तथा ३१ वटा सहरी गरी ६० बजार केन्द्र तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार छनौटमा परेका बजार केन्द्रहरूबाट साप्ताहिक, मासिक तथा त्रैमासिक रूपमा वस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिन्छ । यसरी मूल्य संकलनका लागि राष्ट्र बैंकले केही शिक्षकलाई जिम्मा दिएको छ । सोही मूल्य संकलन गर्दा वास्तविक मूल्य नै नआउने समस्या रहेको छ । 

  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १३:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया