हार्न बिर्सिएको इटाली

पछिल्ला ३ वर्षमा इटालियन फुटबलमा निकै उतार चढाव आएको छ । सन् २०१८ को विश्वकपमा छनोट हुन नसकेको पीडालाई भुल्दै अहिले विश्व फुटबलमा राज गरिरहेको छ ।

विश्वकपमा छनोट हुन नसकेपछि इटालियन मिडियाले इटालीले फुटबलमा आफ्नो अत्मविश्वास गुमाएको भन्दै घरेलु संरचनादेखि संघसम्मलाई दबाब दिएका थिए।

समर्थकले पनि खेलाडीले शीर्ष लिगमा मौका नपाएको कारण राम्रा खेलाडी उत्पादन हुन नसकेको भन्दै आलोचना गरेका थिए । संघले पनि जियान पिएरो भेन्टुराको प्रशिक्षणमा इटालीको कुनै लक्ष्य नभएको भन्दै उनलाई बर्खास्त गर्दै लुइजी डी बाजियोलाई कार्यवाहक प्रशिक्षणको जिम्मेवारी सुम्पियो।

बाजियोलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिए पनि इटालियन फुटबल संघले नयाँ प्रशिक्षकको खोजी सुरु गरिसकेको थियो ।

सन् २०१८ को मे १४ मा अज्जुरीको उपमा पाएको इटालियन फुटबलले रोबर्टो मान्सिनीलाई नयाँ प्रशिक्षकको रूपमा प्राप्त गर्‍‍याे । प्रशिक्षक मान्सिनीले विश्वकपमा छनोट हुन नसकेपछि पीडामा रहेका समर्थकलाई  अज्जुरीले उत्कृष्ट पुनरागमन गर्ने बाचा गरेका थिए, जसलाई उनले पूरा पनि गरे।

मान्सिनीले विश्वकपमा छनोट हुन नसकेको पीडामा मलहम लगाउने काम गरे ।  उनले टोलीलाई सन् २०२० को युरो कपका छनोट मात्र गराएनन् ५३ वर्षपछि उपाधि नै दिलाए त्यो पनि बिना कुनै पराजय ।



मान्सिनीले यो तीन वर्षमा निकै प्रयोग गरेका छन् । विशेषगरी युवा खेलाडीमा । इटालीले विश्वकप युरोपियन छनोट अन्तर्गत बिहीबारको खेलमा बुल्गेरियासँग १–१ को बराबरी खेलसँगै उसको अपराजित यात्रा ३५ खेलसम्म पुगेको छ । 

सन् २०१८ मा पोर्चुगलसँग पराजय बेहोरे यता इटाली अपराजित छ । यो विश्व फुटबलमा सर्वाधिक खेलसम्म अपराजित हुने ब्राजिल र स्पेनको कीर्तिमानसँग बराबरी हो।



यी ३५ खेलमा इटालीले मात्र १२ गोल बेहोर्दा ९५ गोल गरेको छ । रक्षात्मक शैलीका लागि परिचित इटालीचाई मान्सिनीले आक्रामक बनाए । 

यी ३५ खेलमा इटालीले ८ बराबरी गर्दा २७ खेलमा जित हात पारेको छ । अज्जुरीलाई पुनर्जन्म दिने श्रेय यिनै मान्सिनीलाई जान्छ । यिनले खेलाडीका रूपमा  देशलाई कुनै उपाधि दिलाउन नसकेपनि  पछिल्ला ३ वर्षमा इटालीलाई विश्व  फुटबलमा राज गराउन भने सफल भएका छन् । 

इटालीको अपराजित यात्रा कहाँ गएर टुंगिन्छ त्यो त समयले नै बताउला तर अहिले भने उसले हार्न बिर्सिएको छ । 

इटालीले विश्व फुटबललाई एउटा असफलताले मात्र टोलीको क्षमतालाई निर्धारण गर्न नमिल्ने संदेश दिएको छ । उसले हारको पीडाबाट माथि उठ्दै कसरी फुटबल खेलिन्छ भन्ने कुरा सिकाएको छ । इटालीको यो सफलता धेरैका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।  
  

  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १४:३४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया