पछि हट्न बाध्य भए वामदेव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई संसद् लैजान काठमाडौं ७ मा उपनिर्वाचन गर्न गरिएको तयारी तुहिएको छ । पार्टीभित्रबाट नै नेताहरुले आलोचना गर्न थालेपछि वामदेव काठमाडौं ७ मा उपनिर्वाचन गरेर संसद् प्रवेश गर्ने योजनाबाट पछि हटेका हुन् ।

काठमाडौं ७ बाट निर्वाचित पार्टीका सांसद रामवीर मानन्धरलाई राजिनामा दिन लगाएर उपनिर्वाचनमार्फत् वामदेव संसद् छिर्न खोजेका थिए । तर, पार्टी भित्र र बाहिर जताततै यसको चर्को आलोचना भएपछि काठमाडौं ७ बाट उठ्ने निर्णयबाट वामदेव पछाडि हटेका हुन् ।

नेपाल कम्युनिस्टा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडका कारण प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली पनि वामदेव गौतमलाई सांसद् ल्याउन तयार भएका थिए । तर, ओलीसँग छलफल नगरी रामवीरले राजिनामा दिने प्रस्ताव राखेपछि ओली समर्थक नेताहरु ‘बिच्किएको’ नेकपाका एक नेताले बताए । प्रतिनिधिसभा सदस्य रामवीरले आफू वामदेवका लागि पद छाड्न तयार रहेको पत्र सचिवालयमा बुझाएका थिए ।

यही कारण पनि प्रधानमन्त्री ओली र उनीनिकटका केही नेताले वामदेवको निर्णयलाई सकारात्मक प्रतिक्रिया दिएनन् । पार्टीभित्रका अधिकांश नेताको सकारात्मक प्रतिक्रिया नआएपछि, काठमाडौंबाट प्रदेशसभामा निर्वाचित नेताहरु, स्थानीय पार्टीका नेताहरुले पनि सकारात्मक प्रतिक्रिया नदिएपछि वामदेवले बिहिबार नै चुनावमा नलड्ने निर्णय लिएको नेकपाका एक नेताले फरकधारसँग बताए । 

‘पार्टी नेतृत्वको त कुरै छाडौँ,’ उनले भने, ‘वामदेव कमरेडलाई स्थानीय नेताहरुले पनि फोन गरेर यस्तो निर्णय नगर्न अनुरोध गर्न थालिसकेका थिए, वामदेव कमरेड त्यसपछि हच्किनु भयो ।’

प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजय भोगेका वामदेवले उपनिर्वाचन गराएर सांसद् छिर्ने प्रयास गरेको यो पहिलो पटक भने होइन । यसअघि उनका लागि स्थान खाली गरिदिन डोल्पाका संसद धनबहादुर बुढा ‘झन्डै’ तयार भएका थिए । तर, पछि बुढाले स्थानीयले नमानेको भन्दै पदबाट राजिनामा दिएनन् । त्यसपछि पनि वामदेव गौतमले दैलेख र बाँके ताके । तर, त्यहाँबाट पनि सकारात्मक प्रतिक्रिया आएन ।



यसअघिका सबै प्रयत्न विफल भएपछि वामदेवले ललितपुरका प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई हटाउने प्रयास गरे । तर, ललितपुरमा वामदेव आफूले जित्नेमा निश्चित हुन सकेनन् । अन्ततः उनले प्रचण्डको सहयोगमा रामवीरलाई राजिनामा दिन लगाउने तयारी गरेका थिए ।

तर, उनको यो प्रयास पनि अब असफल भएको छ  ।



‘अब सायद उहाँ उपनिर्वाचनमा जाने तर्क गर्नुहुन्न,’ नेकपाका एक नेताले भने, ‘यतिका प्रयास असफल भएपछि उहाँले यसबारे बुझ्नु पर्ने हो, उहाँको पक्षमा अहिले जनमत छैन ।’


  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार २३:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया