गगन थापालाई कसले थुतेर सिटौलाबाट पौडेलकहाँ पुर्‍यायो, के हुन् तीन कारण ?

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता गगन थापा बिहीबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेलको ‘छेउ’मा देखिएपछि कांग्रेस राजनीतिमा नयाँ तरङ्ग सिर्जना भएको छ । थापाले ४ दिनअघिमात्र आसन्न कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा उठ्ने सार्वजनिक घोषणा गरेका थिए । 

तर, त्यो घोषणामा थापाले आफू कुन गुट वा कसलाई सभापति मानेर कुन प्यानलबाट महामन्त्रीको उम्मेदवार हुने हो भन्ने खुलाएका थिएनन् । यही कारण पनि धेरैको अनुमान थियो, यसपटक पनि थापाले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई नै सभापति मानेर उनकै प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिनेछन् । 

सिटौला क्याम्पलाई भने केही समयअघिदेखि यो कुरामा आशंका थियो । सिटौला क्याम्पका केही बैठकमा गगन थापाको ‘चातुर्यता’माथि प्रश्न उठेपछि थापाले हात्तीसारको नेपाल हाउसमा एउटा बैठक नै बोलाए । कृष्णप्रसाद सिटौला, भीमसेनदास प्रधान, उमाकान्त चौधरी, प्रदीप पौडेललाई साथ राखेर नेपाल हाउसमा थापाले भनेका थिए–तपाईंहरु विश्वस्त हुनुस्, मैले यो गुट छोडेको छैन । 

थापाले यो बैठक बोलाउनुको प्रमुख कारण थियो–सिटौलाको आशंका । 

बत्तीसपुतलीको एक होटलमा तीनवटा कोठा कांग्रेसका अर्का सभापतिका दाबेदार शेखर कोइराला र थापा मिलेर कार्यालय खोलेका छन् भन्ने सन्देश थाहा पाएपछि सिटौलाले आशंका गरेका थिए–अब थापा मेरो पक्षमा छैन । सिटौलाको यो आशंकालाई प्रमाणित गरिदिए, प्रधानमन्त्री शेरबहादुर देउवाले । 

२८ असारमा सर्वोच्च अदालतले परमादेश जारी गरेपछि प्रधानमन्त्री नियुक्त भएका देउवालाई त्यसको केही दिनपछि भेट्न बूढानिलकण्ठ पुगेका थापाले आग्रह गरेका थिए– मलाई पनि मन्त्री बनाउनुस् । थापाको यो आग्रहमा प्रधानमन्त्री देउवाले जवाफ दिए– सिटौलालाई भन्नुस् । 



देउवाको यो जवाफ सुनेपछि थापाले आफू सिटौलाको मान्छे भएर मन्त्री बन्न नचाहेको तर प्रधानमन्त्रीले खोजेको र रोजेको नेताका रुपमा स्वास्थ्य मन्त्रालय नै सम्हाल्न तयार रहेको जवाफ दिएका थिए । 

देउवालाई प्रधानमन्त्री बनाउन तत्कालिन नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘इन्ट्याक्ट’ राखिरहेका सिटौलालाई यो कुरा देउवाले सेयर गरिदिए । त्यसपछि सिटौला निर्धक्क भए– थापा अब मसँग छैनन् । 



एकातिर सिटौलाको यो आशंका प्रमाणित हुँदै थियो भने अर्कोतिर थापाले शेखर कोइरालासँग सम्बन्ध थप विस्तार गरिरहेका थिए । तर, यसको अर्थ के होइन भने, थापा सिटौलाका गुट भेलामा जाँदै गएनन्, बरु उनले त त्यहाँ गएर रणनीति बनाउनसमेत आफू तयार रहेको बताउँदै आएका थिए । 

अब बिहीबार रामचन्द्र पौडेल समूहले ‘हामी एक छौं’ भन्ने सन्देश दिन गरेको पत्रकार सम्मेलनमा देखिएपछि थापा कुन गुटमा पुगे भन्ने प्रश्न सायदै उब्जिएला । उनी पौडेल पक्षमा अब खुलेर लागिसके । 

आखिर उनलाई सिटौला क्याम्पबाट कसले ‘थुतेर’ पौडेलसम्म पुर्‍यायो त ? 

‘पछिल्ला केही महिना गगन थापा शेखर कोइरालासँग नजिक भएको सत्य हो,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘तर, कोइरालाले थुतेर मात्रै उनी सिटौलाबाट पौडेलकहाँ पुगेका होइनन्, उनको स्वार्थ र राजनीतिक अभिष्ट, महत्वाकांक्षा र पदमा पुग्नुपर्छ भन्ने भोक यसका सहयोगी हुन् ।’

राजनीतिमा चतुर, पपुलिस्ट आइडियामाथि अपडेटेड, वाकपटुतामा माहिर थापा आखिर किन सिटौलालाई छाडेर रामचन्द्र पौडेल ग्याङमा समावेश भए त ? 

यसका विशेषतः तीन कारण छन् । 

पहिलो हो, कांग्रेसको १३ औं महाधिवेशनबाट थापाले पाएको शिक्षा । १३ औं महाधिवेशनमा थापा सिटौलालाई सभापति मानेर महामन्त्रीमा होमिएका थिए । त्यतिबेला उनका एक प्रतिस्पर्धी थिए, अर्जुननरसिंह केसी । पारिवारिक सम्बन्धमा ‘ज्वाइँ ससुरा’ एउटै पदमा लड्दा धेरैले अनौठो मानेका थिए । सिटौला क्याम्पबाट चुनावी मैदानमा होमिएका थापाले ६ सय मत पनि पुर्‍याउन सकेनन् । महामन्त्रीमा अर्जुननरसिंह केसीले पनि जित्न सकेनन् तर, महाधिवेशन लगत्तै उनी पौडेलसँग नजिकिए । 

आफ्नो हारलाई सिटौलाको कमजोरी त्यति नै बेला मानेका थिए, थापाले । सिटौलाले सभापतिको दोस्रो चरणको मतदानमा देउवासँग बार्गेनिङ गरेर थापालाई कांग्रेस केन्द्रीय सदस्य त बनाए, तर अमिलो भइसकेको थापाको मनलाई परिवर्तन गर्न सकेनन् । 

थापाले नै संयोजन गरेको नेपाल हाउसको त्यो बैठकमा सिटौलाले फेरि आफू सभापतिमा लड्ने भएकाले समूहका सबैको साथ चाहिने बताएका थिए । यसै पनि सिटौला क्याम्पमै रहेर महामन्त्रीमा उठ्दा हारिन्छ भन्ने अनुमान गरिसकेका थापाले यही बैठकपछि पौडेल समूहमा लाग्ने निर्क्योल निकालेको उनी निकट एक नेता बताउँछन् । 

सिटौला क्याम्प छाडेर थापा पौडेलतिर लाग्नुमा दोस्रो कारण हो, सिटौलाले उनलाई मन्त्रीमा सिफारिस नगर्नु । प्रधानमन्त्री देउवाको नेतृत्वमा सरकार बनेपछि देउवाले सिटौलासँग उनको टिमबाट मन्त्री हुने व्यक्तिको नाम मागेका थिए । देउवाको यो अनुरोधपछि सिटौलाले आफ्नो समूहका नेताहरुसँग छलफल गरे । 

थापाले सोचेका थिए– सिटौलाले मलाई मन्त्रीमा सिफारिस गर्नेछन् । 

याे पनि पढ्नुहाेस्–

मन्त्री बन्न गगनको ‘गनगन’

 

तर, त्यही बैठकमा सिटौलाले देउवा नेतृत्वको सरकारमा मन्त्रीमा आफूले उमाकान्त चौधरीलाई पठाउन खोजेको बताए । सिटौलाको यो कुराले थापा थप रुष्ट भएका हुन । त्यसैले उनले आफूलाई मन्त्री नबनाउने सिटौलालाई छोड्नु नै उपयुक्त हुने निर्णय गरे । 

थापा पौडेलसँग नजिकिनुमा कांग्रेस नेता शेखर कोइरालाको विशेष आग्रह पनि अर्को कारण हो । 

नेपाल विद्यार्थी (नेवि) संघको पोखरामा भएको अधिवेशनमा तत्कालीन नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले शशांक कोइराला र शेखर कोइरालाको सहयोगमा थापालाई अध्यक्ष बनाएका थिए । त्यही महाधिवेशनदेखि कोइरालाहरुप्रति लचिलो हुँदै आएका थापाले यसपटक शेखर कोइरालालाई साथ दिनुमा सामाजिक सञ्जालको पनि भूमिका रहेको मान्न सकिन्छ । 

  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १७:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया