महिला अधिकारको लडाइँसँगै राजनीतिक आन्दोलन पनि
फरकधार / १९ भदौ, २०७८

१९९० सालतिर खोलिएको प्रेमबहादुर कंसाकार, पुष्पलाल श्रेष्ठलगायत सदस्य भएको गोप्य संगठनमा कामाक्षादेवी सदस्य थिइन् । गोप्य संगठनको मुख्य उद्देश्य जनतामा जागरण ल्याउनु थियो । उनले २००० सालमा दिलहरि श्रेष्ठ आदिसँग मिलेर बनेपामा स्थायी स्कुल खोली शिक्षाका माध्यमबाट चेतना छर्ने काम तीव्रताका साथ गरेको पाइन्छ । 



२००७ सालमा प्रजातन्त्र आएपछि २००८ साल असार महिनामा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु नेपाल आउने भएका थिए । नेहरुलाई स्वागत गर्ने कि कालो झण्डा देखाउने भन्ने विवाद महिला संघभित्र हुन थालेको थियो । कार्यकारी सदस्यको बहुमतले कालो झण्डा देखाउने निर्णय गर्दै विरोधको नेतृत्व गर्न शीलवन्ती शाह र श्रीमायालाई जिम्मेवारी दिने भयो ।

निर्णयअनुसार कालो झण्डा देखाउने काम पनि भयो । तर, एक भएर रहेको महिला संघभित्र विमानस्थलमा विरोध गर्ने कि नगर्ने भन्ने कुराले मनमुटाव ल्याइदियो । परिणामस्वरूप चित्त नबुझ्नेहरूले विभाजन सुरु गरे । कालो झण्डा देखाउनेहरूमध्ये ७ जना महिला पक्राउ परेका थिए । यसरी स्पष्ट रूपमा महिला संघ विभाजित भएपछि कालो झण्डा देखाउने समूहको नेतृत्व गर्दै कामाक्षा देवीको अग्रसरतामा नेपाल महिला संगठन गठन गरियो भने विरोध नगर्नेहरू नेपाल महिला संघभित्रै रहे।

सबै नेपाली महिला एकै ठाउँमा मिलेर प्रारम्भमा आन्दोलन गरेको भए पनि पछि विभाजित हुँदै संघ-संस्था खोलेर महिलाका लागि काम गर्न थालेका थिए । यतिमात्रै होइन, पछि त आस्थाका हिसाबले भिन्नभिन्न संगठनमा आवद्ध हुन थालेको समेत पाइन्छ । यसरी हेर्दा सांगठनिक रूपमा प्रजातन्त्रवादीहरूको भगिनी संस्थाका रूपमा नेपालमा महिला संघ रहेको देखिन्छ भने प्रगतिवादीहरूको नेपाल महिला संगठनले काम गर्न थालेको पाइन्छ ।



यसरी नै २००० सालमा साहना प्रधान र साधना प्रधानको नेतृत्वमा राणाविरुद्ध पर्चाबाजी गर्न एक गोप्य संगठन खोलिएको थियो । राणाविरोधि पर्चा छरेपछि श्री ३ जुद्ध शमशेर भागेर पाल्पा गएका थिए । त्यतिबेला आन्दोलनमा उत्रने महिलाहरूमा मिठाइदेवी डंगोल, राममाया पोडेनी, शान्ता श्रेष्ठ, रेवन्तकुमारी आचार्य, साधना अधिकारी, सुशीला चालिसे, नोना कोइराला तथा द्वारिकादेवी ठकुरानीलगायत थिए ।

२००४ सालमा भएको नागरिक अधिकार आन्दोलनमा साधना अधिकारी, स्नेहलता र कनकलतासँगै साहना प्रधान जेल परेकी थिइन् । उनीहरूलाई सातदिनपछि मात्रै छाडिएको थियो । २०४६ सालको आन्दोलनमा समेत २००० सालमा राणाविरुद्ध पर्चा छर्ने गोप्य संगठनकी सदस्य साहना प्रधानले नै सात वामघटकको नेतृत्व गरेकी थिइन् । यसरी नेपालमा राणा शासनको समयदेखि अधिकारका लागि आवाज उठाउँदै आन्दोलनको नेतृत्व गर्न सफल साधना प्रधान २०४७ सालमा भने उद्योगमन्त्री र २०५३ सालमा बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् । 

२०४८ सालको प्रतिनिधिसभा सदस्य साहना प्रधानको संयोजकत्वमा गठन गरिएको दबाब समूहले २०४९ साल साउन २५ गते समाज कल्याण परिषद् लैनचौरमा महिला र तिनका विविध समस्या  विषयमा विचार गोष्ठी गरेर प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो ।

साहना प्रधानले एकातिर महिलालाई जागरुक बनाउँदै अगाडि बढेको पाइन्छ भने अर्कोतिर महिला अधिकारका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू समेत गर्दै महिलालाई अधिकार प्रदान गर्न विधेयक प्रस्तुत गर्नसम्म सफल भएको पाइन्छ । त्यस्तै, साहना प्रधानसँगै २००२ सालमा राणा सरकारविरोधी पर्चा छर्ने साधना प्रधान पनि २००४ सालमा भएको नागरिक आन्दोलनमा पक्राउ परेकी थिइन् । महिला अधिकारका सम्बन्धमा चेतनशील साधना प्रधान पनि नगरपालिकाको प्रथम महिला सदस्य हुन् सफल भएकी देखिन्छ ।

आभा कोइरालाले पनि २००३ सालको आन्दोलन सफल पार्न ९ वर्षको कलिलो उमेरमा नै गुप्तचर लागिरहेको समयमा लुकेर घरबाट निकै पर पर्ने स्कुल, चौर नाघेर पर्चा, पम्प्लेट ल्याउने गर्थिन् । जुन काम तत्कालीन समयमा साह्रै डर लाग्दो मानिन्थ्यो । पटुकामा लुकाएर, घाँघरले छोपेर अति गोप्यताका साथ उनी ती पर्चा-पमप्लेट बाँड्ने गर्थिन् । त्यतिमात्रै होइन भारतबाट निस्कने ‘युगवाणी’ पत्रिका पनि लुकाउँदै ल्याएर सबैको घरघरमा आफ्नो आँट र उत्साहका साथ पुर्‍याउने गर्थिन् । उनका साथीहरू विन्दा नेपाल, सविता कोइराला, सपु थापा आदि पनि उनीसँगै आन्दोलनमा सहभागी थिए ।

गोप्य कामको जानकारी ती साथीहरुलाई पनि नहुने गरी आभाले काम गर्थिन् । यसरी आन्दोलनमा सहयोग गर्ने महिलाहरु भएकै कारण महिला अधिकारका लागि गरेको अर्को आन्दोलन सफल भएको थियो । 
 

  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार ९:२:३१,   अन्तिम अपडेट : भदौ १९, २०७८ शनिबार ९:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया