म फूलजस्तै कलिला नानीहरूलाई
देश पढाइरहेछु ।
नानी हो ! देश छैन भन्नेहरू यहीँ छन्
हिमालहरू पग्लिएर मान्छेभन्दा होचा भइसके
भन्नेहरू पनि यहीँ छन्
भन्नेहरूले त
अब गुराँसहरू अर्कै सुगन्धले फुल्छ भन्लान् ।
लेखिन बाँकी कविताका हरफजस्ता
सुन्दर भञ्ज्याङ र देउरालीहरू देखाउँदै
यो पत्थरैपत्थरको थुप्रो हो पनि भन्लान्
कसैको कुरा नसुन्नु !
हेर त, आकाशको बाटो हुँदै
कहाँकहाँबाट उडेर आइरहेछन्, चराहरू
र, नापिरहेछन्-
मूर्ति, टुँडाल र गजुरहरूको लम्बाइ !
सबैलाई उपहार दिनू-
एकएक अञ्जुली हिउँको अक्षता
र, देखाउनू-
पसिनाको रङ फुलिरहेका यी फाँटहरू ।
डम्फू, मादल र खैचडीहरू बजाइरहेका
झरनाहरू पनि देखाउनु !
श्रमको शीत मगमगाएका बगैंचाहरुमा
रामायण, त्रिपिटक, कुरान
र, नयाँ जिससहरु मुस्कुराइरहेका छन्
त्यतातिर पनि लैजानू चराहरूलाई ।
शिखरमा एकनासले फरफराइरहेको झण्डा
र, झण्डामा टल्किरहेका घाम-जूनलाई सलाम गर्दै
साँझपख चराहरु बगरतिर पुग्न सक्छन्
नानी हो ! एकछिन नबिथोल्नू है मलाई
म बगरहरूमा पनि फूल रोपिरहेछु ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।