बाढी-पहिरोको वितण्डाः ८० दिनमा ११६ जनाको मृत्यु, ३१ बेपत्ता

पछिल्लो ८० दिनमा देशका बिभिन्न ठाउँमा बाढी-पहिरोबाट दैनिक एक जना भन्दा बढीको मृत्यु भएको पाइएको छ । 

मुलुकका बिभिन्न जिल्लामा जेठ ३० गतेपछि आएको बाढीपहिरो र डुबानमा परी सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

मनसुनजन्य विपद्बाट गत जेठ ३० गतेदेखि भदौ १८ गतेसम्मको ८० दिनको समयमा ११६ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

साढे दुई महिना भन्दा बढीको यो अवधिमा मृत्यु भएकाहरुमध्ये सबै भन्दा बढी पुरुष छन् । मृत्यु भएकामध्ये ५३ जना पुरुष छन् । यसैगरी मृत्यु हुनेमा ३४ जना महिला, १३ जना बालक र १६ जना बालिका रहेको प्रहरीले जनाएको छ । 

बाढी-पहिरोबाट सिन्धुपाल्चोक, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की, काभ्रेसहितका जिल्लामा धेरै जनाको मृत्यु भएको छ । 

बाढीपहिरो र डुबानमा परी योबीचमा १ सय ३६ जना घाइते भएका छन् । तीमध्ये ६८ जना पुरुष, ३७ जना महिला, २० जना बालक र ११ जना बालिका रहेका छन् । 



प्रहरीका अनुसार यो वर्ष बाढीपहिरोमा परी ३१ जना बेपत्ता भएका छन् । वेपत्ता हुनेमा १९ जना पुरुष, ६ जना महिला, ५ जना बालक र १ जना बालिका रहेका छन् ।  

यसैगरी बाढीको कारण ३ हजार १ सय ८२ वटा घर डुबानमा परेका छन् । ९ सय ७८ वटा घर, १ सय ६४ वटा गोठ, ६६ वटा पुल, ८ वटा विद्यालय र १५ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने १ हजार ३ सय ३ वटा पशु चौपायाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । 



८० दिनको अवधिमा भएका जम्मा एक हजार ३४५ वटा विपद्का घटनाबाट एक हजार २६९ वटा घर परिवारका ६ हजार १ सय ११ जना मानिस विस्थापित भएको प्रहरीले जनाएको छ ।  

दश वर्षमा कति क्षति ? 

नेपालमा बाढी-पहिरोबाट पछिल्लो १० वर्षमा करिब दुई हजार जनाको मृत्यु भएको आँकडा छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्‍चालन केन्द्रको तथ्यांकअनुसार ०६८ देखि ०७७ सम्म बाढी-पहिरोबाट १८९६ जनाले ज्यान गुमाएका छन् । 

किन सधै बाढीपहिरो ? 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले जलवायु परिवर्तनका कारणले बाढीपहिरो जस्ता विपद्का घटना बढेको जनाए । उनका अनुसार मुख्यतः पछिल्लो समय हुँदै गएको जलवायु परिवर्तनले गर्दा यस्ता घटना बढ्दै गएको छ ।  

यसको साथै कमजोर बनावट र धैरै पानी पर्ने गरेकोले मुलुकभित्र बढी बाढीपहिरो आउने गरेको उनको भनाइ छ । 

‘देशमा वर्षभरिमा पर्नुपर्ने पानी १ हजार २ सय मिलीमिटर हो, यसको तीन भागमा हेर्ने हो भने चार महिनामा ४ सय मिलीमिटर पर्न आउँछ । तर यो चार महिनामा पर्नुपर्ने ४ सय मिलीमिटर पानी एक रातमा (४ सय ३१ मिलीमिटर) परेको छ  । धेरै पानी पर्दा जमिन भिजिसकेको हुन्छ, अनि पानी जमिनले सोस्न सक्दैन् । जसले गर्दा त्यो पानी बगेर जान्छ, अनि बाढीपहिरो निम्त्याउँछ,’ पोखरेलले भने । 

मूलतः यही कारणले मुलुकमा वर्षेनि बाढीपहिरो आउने गरेको उनको दाबी छ ।

  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार १४:१५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया