रिजनलेस ब्रेकअप

 तरकारी किन्ने बहानामा राज सर कोठाबाट बाहिर निस्किए । 

     साथीको रुपमा पछिल्लो पटक जोडिएको मान्छे हुन् राज सर । हामी पेशागत रुपले जोडिएका । चिनिएका । परिचित भएका ।

      जब मित्रताको साइनो गाँसिन्छ तब अरु सबै सम्बन्धहरु गौण बन्दा रहेछन् । त्यस्तै जस्तै भो हाम्रो सम्बन्ध पनि । 

       हामी दुवैको जरो गाडिएको भूगोल पनि एउटै । यो कुरा थाहा पाएपछि त झनै नजिकियो सम्बन्ध । 

       साथी सम्बन्ध प्रगाढ बनाउने अर्को तत्व हो, मदिरापान । मदिरा दुई हृदय जोड्ने तार बन्दो रहेछ । यसले जुन क्लोजनेस सिर्जना गर्दछ त्यसले सम्बन्ध प्रगाढ बनाउने काम गर्दोरहेछ । हाम्रो यो कुरामा भने बेमेल यथावत नै छ ।

       कोठामा यत्रतत्र छरिएका पत्रिका जम्मा गर्छु र पढ्न थाल्छु । सबै बासी पत्रिकाहरु भेटिन्छन् । हेर्नु र अर्र्को ठाउँ राख्नु मात्रै भयो । घटना पनि पुराना र समाचार पनि पुराना । मन तान्न सक्ने कुनै कुरा भेटिदैनन् । अलि केही पछि कान्तिपुरको कोसेली भेटिन्छ । साहित्य कहिल्यै बासी नहुने । अरु त्यस्तै हुन्, छापिएका केही कविताहरु भने पढे ।



       कोसेलीका कविताहरुको भूगोलमा आँखा र हृदयको यात्रा समाप्त हुन्छ । र पनि केही न केही पढ्ने सामाग्री खोजिरहन्छु म । 

       राज सरको किताबहरु राख्ने ¥याकतिर जान्छन् आँखाहरु । केबल कोर्स बुकहरुले मात्रै भरिएको रहेछ र्‍​याक । कम्प्युटर इन्जिनियरिङको विद्यार्थी हुन् राज सर । कम्प्युटरसँग सम्बन्धित बुकहरुले मन तान्दैनन् । यी बुकहरु केबल खोस्टा मात्रै लाग्छन् मलाई । कत्ति पनि रस नभरिएका । 



       भित्तामा हेर्छु, राज सरलाई मात्र चिन्छु । तर अनुमान गलत नहोला, सपरिवारको फोटो हुनुपर्छ । गज्जबले उज्यालो बनाएको छ, भित्तालाई । 
      सिरानी निकालेर भित्तातिर अडेस लाग्न खोज्छु । सिरानी मुनि एउटा डायरी राखिएको रहेछ ।

      डायरीको कभर पेज पल्ट्याउछु । निकै सुन्दर अक्षरहरुले बनाएका शाब्दिक चित्रहरु देखिन्छन् । 

      बोल्ने र सुन्ने कुरामा त स्पस्ट भइन्छ नै तर पनि मान्छेको गोपनियताको विषयमा जान्ने बुझ्ने रहर कसलाई हुँदैन र ? मान्छे निकै उत्सुक हुन्छ अरुको गोप्य कुराहरुप्रति । म पनि पढ्न आतुर हुन्छु डायरीलाई । 

      अचानक राज सर आइपुगे पछि मेरो डायरी अध्ययन भंग हुन जानेछ भन्ने कुरामा म निकै सचेत हुन्छु । र, अर्को कुरा सिरानी मुनिको डायरी पढ्न लागिरहेको अवस्थामा भेट्नु भयो भने झन् नराम्रो सोच्नुहोला भन्ने लाग्छ । 

       म उघारै रहेका ढोकाहरु बन्द गर्छु । फ्यानको गतिबाट हावा मात्रै होइन आवाज पनि आएकाले गति कम गर्छु । 

       डायरीको पहिलो पृष्ठतिर लगाउछु आँखाहरु । राज सरका अक्षर यति राम्रो लाग्दैनथे । डायरी राम्रो भएको कारण हो या राम्रो कुरा लेख्दा अक्षर राम्रा बनेका हुन् । म अचम्म पर्छु । यस्तो कुरा अरुलाई लेख्न लगाए हुन् भन्ने कुराको त झन् शंकै गर्न सकिदैन । 

       डायरीको अनुहार र केही अक्षरहरु हेर्दै लाग्छ यो प्रेम विषयवस्तुले भरिएको छ । म दु्रत गतिमा दौडाउछु आँखाहरु अक्षरहरुको राजमार्गमा । 

                                                            ***      

लाटी,
       ठीक तीन वर्ष बितेछ तिमीसँग अन्तिम संवाद भएको पनि । लाग्छ, मेरो जिन्दगीको सबैभन्दा लामो अवधि यही नै हो । म यी तीन वर्षका प्रत्येक सेकेन्डहरुमा तिमीलाई सम्झिरहे । कल्पना, केबल कल्पना र म केबल कल्पनामै डुबिरहे यी तीन वर्षहरुमा । 

       कुनै रात बितेन होला कि तिमीलाई सपनीमा नदेखेको । तिमीसँग काल्पनिक संवादमै हराएको छु कैंयौ पटक हिँडिरहेको बाटोमा पनि । सोचाइकै दुनियामा हराएर नहिँड्नु पर्ने बाटोमा पनि हिँडेको छु कतै त कतै नपुग्नु पर्ने ठाउँमा पनि पुगेको छु ।

       तिमी सल्यानबाट दाङ आफ्ना सपनाहरु फुलाउन झरेकी र म प्युठानबाट । हाम्रो प्रेमको उचाई यतिसम्म पुग्यो कि भन्ने कुरा कि तिमीलाई थाहा थियो कि त मलाई मात्रै । 

       जब हाम्रो प्रेममा हुरी चल्यो तिम्रो घरको धुरीबाट त्यो समयमा तिमीले आफ्नो अध्ययनका लागि तीन वर्ष पर्खिन भनेको दिन पनि आज पुग्यो र म केही कुरा डायरीमा लेख्न बसिरहेको छु । ६८ फागुन १६ को त्यो साँझ, घुमिरहेको छ ७१ फागुन १६ को यो साँझमा । नजिक रहँदा निकै प्रेमको अनुभूति हुन्थ्यो नै । लाग्छ, त्यो भन्दा बढी सम्झना र अनुभूति भइरहेको छ, अहिले । 

       यी ३ वर्षका १०९५ दिनहरु निकै कष्टकर रुपमा बिते । तिम्रो सम्झनाको हुरी चलिरह्यो हृदयमा । तिम्रै प्रेमले कैंयौपटक भरिए आँखाहरु । तिम्रै अनुपस्थिति बिझिरह्यो हरेक बसाइहरुमा । 

       सत्य लाटी, 
       तिम्ले तीन वर्ष सम्पर्कबिहीन रहौं अनि भेटेर घरजमको बाटो हिँडौला भनेकै दिनबाट पनि केही पटक फोन त हानेकै हुँ । कसो फोन नगरी बस्न सक्नु र पनि !
       ९८.....३४ को नम्बरमा गइरह्यो केही पटक फोन तर तिमी बोल्न चाहिनौ होला । १६ को साँझ पछि निकै दिन तिम्रो मोबाइलले स्विच अफ, स्विच अफ मात्रै बोलिरह्यो । केही पटकका कलहरु तिम्रो मोबाइलसम्म पुगे र पनि निरर्थक रहे । र, केही पटकमा भने पुरुष आवाजहरु आए । मलाई थाहा थियो तिम्रो बुवा या भाइको हुनुपर्छ त्यो आवाज भन्ने कुरा । त्यहि नै सत्य होला पनि । कैंयौ पटक हानिरहे फोन तर पनि पुरुष आवाज सुन्दै काट्दै गरिरहे । सायद तिम्ले त्यो नम्बर चलाउन छोड्यौ होला । 

                                    ***

(राज सरको डायरीले मन निकै तान्यो । राज सर पढी नसिध्याउन्जेल आइ नपुगुन् भन्ने कामना गर्छु । पाना पल्ट्याउछु । र, उसै अघि दौडाउछु आँखाहरु ।) 
    तिमीसँग पहिलो पटकको भेट लमहीको बसपार्क छेंउको कटहर बोट घेरिएको चौतारीमा भएको हो । तिम्रा यादहरु टाढा भाग्छन् कि भनेर बेलाबेला त्यहाँ पुग्छु र हावा खान्छु । तर, झन् गह्रुँगो हृदय बोकेर फर्किन्छु साँझमा । यस्तै भएको छ कैंयौपटक यी तीन वर्ष भित्रका दिनहरुमा । 

       नेपालगञ्ज जाने क्रममा भाद्र २९ को दिन हाम्रो गु्रपले रिजर्ब गरेको हाइस गाडी लमही बसपार्क पुगेपछि तिमी चढेकी थियौं । तिमी नेपालगञ्ज नै जानका लागि चढेकी रहिछ्यौ । त्यो कुरा पछि थाहा भयो माइक्रो बसमा तिमी बसेपछि । तिम्रो मामासँग नेपालगन्ज जानका लागि चढेकी रहेछ्यौ तिमी । आमनेसामनेको सिटमा बसेका हामीहरुको बीचमा संवाद त्यतिबेलै भएको हो पहिलोपटक । निकै तौलेर बोले जसरी थोरै संवाद भएको थियो हामीबीच जाने क्रममा । तिम्रो मामाकै माध्यमबाट तिमीलाई चिनेको थिए । नेपालगन्ज पुग्ने समयसम्म केबल केही पटक जुधे हुन् आँखाहरु । केही पटक बोल्यौं हामीहरु आवश्यक जति मात्रै । 

        फर्किने क्रममा तिमी, तिम्रो मामा र म अन्तिम सिटमा बसेका थियौं । तिम्रो मामा नजिक भएकै कारण पनि त्यति बोलिरहने संयोग जन्मेन र पनि तिमीसँग केही कुरा गर्ने मन भने लागिरहेको थियो । त्यसै क्रममा तिम्रो मामा अगाडिका सिटहरुमा अन्ताक्षरी खेलिरहेका साथीहरुतिर जानुहुन्छ । अनि त्यो सिटमा केबल तिमी र म मात्रै भएका थियौं ।

         हाम्रो बीचमा परिचयको क्रम त्यस पछाडि भएको थियो । तिमीले नै पहिलोपटक हजुरको घर कहाँ नि ? भनेर सोधेकी थियो । तर मलाई तिम्रो घरको विषयमा सोध्नु आवश्यक थिएन किनकि तिम्रो मामाबाट त्यो कुरा जानकारी पाइसकेको थिए । 

        त्यसपश्चात तिमी दाङ किन आएकी हौ ? भनेर सोधेको थिए मैले । हाम्रो बीचमा पढाइ र घर परिवारको विषयमा धेरै कुराकानी भएको थियो । साथीहरु अगाडिका सिटमा रमाइलो गरिरहेका थिए तर पनि तिमीसँगको कुराकानी आनन्ददायक भएको थियो मेरा लागि । 

        साँझपख नेपालगञ्जबाट फर्किएका हामीहरु केही लामो गफगाफ पछि निद्रा लाग्ने अवस्थामा पुगे पश्चात हाम्रो संवादले विश्राम लिएको थियो । तिमी मेरै कुममा आड लागेर निदाउन पुगेकी थियौं । लमही आइपुगेपछि साथीहरुको बीचमा खाना खाने सल्लाह हुन्छ । म तिमीलाई खाना खानका लागि ब्युँझाएको थिए । रातोडाँडा, हाइवे होटलमा करिब एघार बजे खाना खाएका थियौं हामीहरुले । 

        खाना खाएर घोराहीका लागि हिंडेपछि तिमी झन् गहिरो निद्रामा डुब्यौं । तुलसीपुर चोक आइपुगेपछि हामी गाडिबाट झरेका थियौं । तिमीलाई बहिनीसँग छोडेर म र तिम्रो मामा तिम्रो मामाको कोठामा सुत्न गएका थियौं । 

       अर्को दिन तिमीलाई घर पुग्नु थियो । बिहानमा निकै वर्षात् भइरहेको थियो । र, छाता हामीसँग एउटा मात्रै थियो । तिम्रो मामा त्यसअघि नै चोकमा पुगेर फोन गरिरहनु भएको थियो । हामी एउटै छाताले वर्षात् छेकेर चोकसम्म पुग्यौ । चोक पुग्ने क्रममा मैले तिम्रो नम्बर मागेका थिए। तर तिम्ले बहिनीसँग माग्नुहोला भनेकी थियौं । 
       साँझमा बहिनीको मोबाइलमा तिम्रो नम्बर खोजेको थिए । त्यसपछि तिमी घर पुगेको खबर पाएको हुँ । 

       तिमी त्यतिबेला करिब एक हप्ता घरमा बसेर फर्कियौं । एक हप्ताको सात दिनमा लगभग सातै पटक भएको हुँदो हो फोनमा कुरा । सायद प्रेम त्यतिबेलाबाट नै उत्पन्न भयो हामी बीचमा । बिना कारण फोन गर्नु मलाई अफ्ठ्यारो  नहुने र तिमीबाट पनि अस्वीकृत नहुनुले बारम्बार कुरा भइरह्यो हामीबीचमा । 

       तिमी घरबाट फर्किएपछि पनि बारम्बार कुरा भइरहेको नै हो, फोनमा । लालमटियामा तिम्रो बसाइ । अनि अध्ययन पनि त्यही नजिकैको क्याम्पसमा । तिमी एजीको विद्यार्थी । मेरो बसाइ घोराहीमा । तिमी घरबाट फर्किएपछि केही समय भेट भएन र पनि फोनमा भने कुराकानी भइरहेकै हो । 

       त्यसै समयमा नै मैले तिमीलाई प्रेम प्रस्ताव राखे । म हजुरसँग प्रेम गर्न सुहाउने केटी नै कहाँ हु र ? भन्दै तिमीले व्यङ्ग्य पनि गरेकी थियौ । त्यसो त त्यो औपचारिकता मात्र न थियो । हामी त्यस अघि नै प्रेममा परिसकेका थियौ । 

       लाटी, ती दिनहरु मेरा आँखामा नाचिरहेका छन् आज पनि । साँच्चै तिमीले कसरी भुल्न सक्यौ ? या भुले जस्तो गरिरहेकी छ्यौ म आफै बुझ्न सकिरहेको छैन । जीवन, भविष्यका कुराहरु पनि भएका थिए हाम्रो बीचमा । हामी भविष्यका दिनहरुको कल्पनामा पनि हराइरहने गर्दथ्यौ । 

       राति अबेरसम्म मोबाइलमा कुरा भइरहन्थ्यो । अब फोन राखौ र सुतौ भनेर सुत्थ्यौ हामी । र, पनि केही मिनेटपछि तिम्रो मोबाइलबाट फोन आइहाल्थ्यो । अनि तिमी भन्थ्यौ, मोबाइलमा ब्यालेन्स होउन्जेल त म निदाउनै सक्दिन त्यसैले फोन गरेको हुँ । 

       साँच्चै लाटी, के तिमीले बिर्सिएकै हो र मलाई ? 

       घरबाट आएको करिब एक महिनापछि पुनः तिमी घर फर्कने दिन आउँछ । त्यसबेला तिमी तुलसीपुर चोकमा आएर झरेकी थियौ । हाम्रो दोस्रो भेट त्यहिनेर भएको हो । केही समय कुराकानी भयो अनि तिमी अर्को बसमा चढेर घर गएकी थियौ । ऐले जब चोक नजिक पुग्छु, तब तिम्रै आसपास भए जस्तो लाग्छ । कतै देखिहाल्छु कि भनेर यताउता आँखा पनि घुमाउछु । नखोजेका मान्छेहरु धेरै भेटिन्छन्, भेट्न खोजेको मान्छे चाँही कहाँ भेटिनु र ? घाउ बढ्छ अनि उसै फर्किन्छु कोठातिर । 

       त्यसपटक करिब पाँच दिन बसेर तिमी घरबाट फर्किन लागेकी थियौ । मलाई उसै गरी तुल्सीपुर चोकमा भेट्न बोलायौ तर दुर्भाग्यबस मलाई पनि घर जानुु परेको थियो त्यसै दिन । अनि अहिले भेट नहुने भो है हाम्रो भनेको थिए । 

        त्यसै समय तिमीले भनेकी थियौ  ‘‘पछि पनि मैले तिमीसँग बिहे गर्न सक्दिन भन्नु हुने त होला नि ?’’ मलाई याद छ र तिम्ले पनि बिर्सिएकी छैनौ होला । यस्तो सुन्दा मलाई संसारकै माया गर्ने मान्छे तिमी हौ भन्ने पनि लागेको थियो । 

        दुई दिनपछि म घरबाट फर्किए । तिम्लाई लालमटियामा झरेर भेट्ने सोंच त बनाए तर तिम्रो कलेज जाने समय भएको कारण सम्भव भएन । अनि म भेट नभएरै फर्किएको थिए घोराहीतिर । 

                     ***

        केही समय पछि तिम्लाई भेट्न तिम्रै कोठामा पुगेको थिए । त्यसै बखत हाम्रो बीचमा पासपोर्ट साइजको फोटो साटासाट पनि भएको थियो । त्यस दिन दिनभर हाम्रो बीचमा कुराकानी भएको थियो ।  तिम्ले त्यतिबेला दिएको त्यो फोटो अझै पनि सुरक्षित छ मसँग । जुन फोटोमा तिम्ले सेतो सर्ट लगाएकी छौ र निधारमा रातो टीका पनि । तिम्रो सम्झनाले सताउदा म बारम्बार तिम्रो त्यो फोटो अझैं पनि हेरिरहन्छु ।   

       दिनहरु बित्दै गए । हाम्रो बीचमा कुराकानी भइ नै रह्यो । भेट त कहिलेकाँही न हुन्थ्यो । 

       तिमीलाई पासपोर्ट साइजको फोटोले चित्त नबुझेर होला । मसंग फुल साइजको फोटो माग्यौ । म घर जाँदा तिम्रो इच्छा अनुरुपको फोटो दिएर गए । पासपोर्ट साइजको फोटो भने मलाई फिर्ता दियौ । र, तिम्ले भनेकी थियौ, घरबाट फर्किदा बुवाआमाको फोटो ल्याइदिनुहोला भनेर । 

       तिम्ले फिर्ता दिएको फोटो घर पुगेर हेर्दा निकै खुचमुचिएको देख्छु । धेरै नै मन दुखेको थियो त्यतिबेला । अनेक कुराहरु खेलेका थिए मनमा । कसरी खुचमुचियो होला यो भन्ने पिरले निकै पिरोलिएको थिए । कतै रिसले त होइन ? भन्ने पनि लागेको थियो । तिम्लाई त्यो कुरा सोध्नलाई तुरुन्तै फोन गरेको थिए । 

    ‘तिमीलाई मेरो फोटो मन परेन नि ?’
    ‘नाई, पर्‍यो । किन र ? ’
    ‘फोटो त निकै खुम्चिएको छ त । मन नपरेर त होला नि ?’
    ‘नाई, त्यसो होइन ।’
    ‘अनि के हो त ?’
    ‘म खाटमा बसेर हजुरको फोटो हेर्दै थिए । त्यसै बखत बाहिरबाट अचानक भाई आइपुग्यो । म धर्मसंकटमा परे । हजुरको फोटो राख्न लाग्नु भाइले देख्ला भन्ने डर । लुकाउने बाटो नै नभएपछि हजुरको फोटोलाई हत्केला भित्रै मुट्ठि पार्न पुगे त्यसैले खुम्चिएको हो ।’

      यो कुरा बोल्दा तिमी निकै रोएकी थियौ । ममाथि यति ठूलो शंका गर्नु भो नि भन्दै भक्कानिएकी थियौ । अनि मलाई उल्टो फकाउन गाह्रो भएको थियो । केहीबेर हामी बीचमा अरु कुरा पनि भए ।   

      त्यसको केही दिनपछि म घरबाट फर्किएको थिए । तिमीले भने जस्तै बुवाआमाको एक तस्बिर घोराही आउने क्रममै तिम्रो कोठामा पसेर छोडी आएको थिए । ऐले निकै सम्झिरहको छु त्यो फोटालाई । त्यो पलको एउटा मात्र फोटो थियो मेरो बुवाआमाको । कुन अवस्थामा छ होला त्यो फोटो ? कुनै समय फिर्ता पनि मागेको हुँ। खै किन दिन चाहेनौ ? त्यो पनि बुझ्न सकिएन । कतै माटोमा पो मिल्यो कि त्यो फोटो ! कि कतै खोलातिर मिल्कायौ होला त्यो फोटालाई । फोटो त भित्तामा झुन्डाउने चिज । तिम्रो घरको भित्तामा त पक्कै पनि अटेको छैन होला । र लाग्छ, त्यो तिम्रो साथमा पनि छैन होला ।   

                                        
   ***

       एक पटक तिमी बिरामी भएर बुटवल पुगेको घटना पनि बारम्बार नाँचिरहन्छ मेरो दिमागमा । माघको महिना थियो त्यो । मैले उपचार गर्न लग्छु भन्दा नमान्दा नमान्दै पनि मेरै करमा गएकी थियौ । अचेल बुटवल जाने संयोग जुर्दा ति दिनहरु एक तमास नाँचिरहन्छन् ।

        तिमीमा पेट दुख्ने समस्या थियो । इन्डोस्कपी गर्ने सोचका साथ हामी बुटवल पुगेका थियौैं । जाने क्रममा म बुटवलको बसमा चढेर घोराहीबाट तिमीलाई मौरीघाटमा भेट्न जाँदा मसोटखोलाको पुलनेर ट्रकसँग बस ठोक्किएको थियो । धेरै यात्रुहरु घाइते पनि भए । मलाई भने हत्केलामा थोरै चोट मात्रै लागेको थियो । आज सोच्छु, सायद मेरो जीवनका दुर्घटनाहरुको प्रारम्भ त्यहीँबाट सुरु भएको हुनुपर्छ । 

       इन्डोस्कपी गर्न तिमीले केही पनि खान नमिल्ने । मलाई पनि एक्लै खान मन नलागेर भोकै पुगेका थियौं । हामी दश बजे पुग्नु पर्नेमा ढिलो भएपछि साँझमा केबल ३ बजेपछि मात्रै डाक्टरसँग भेट हुने भएका कारण अस्पताल नजिकैको होटेलमा चिसो पिएर फूलबारी घुम्न निस्किएका थियौं ।

फूलबारीमा भएको प्रेम संवादको सम्झनाले हृदय अझै हल्लिरहन्छ । त्यहाँ खुसीका कुरा भन्दा पनि जिन्दगीका उतारचढावका कुराहरु धेरै भएका थिए । तीन बजे पुनः हामी हस्पिटल पुग्यौं । इन्डोस्कपी पनि गरायौं । हस्पिटलको काम सिध्याएर हामी बुटवलबाट साढे पाँच बजे घोराही आउने बसमा फर्किएका थियौ । करिब दश बजे तिर मौरीघाट आइपुगेपछि तिमी त्यहीँनेर झ¥यौ । म घोराही आइपुग्नकै लागि तिमीसँग छुट्टिए । 

        तुलसीपुर चोकमा झरेर डिके पेट्रोल पम्पनेर आइपुगेको थिए । एकाएक मोबाइलमा मेसेजको घन्टी बज्छ । हतारहतार म्यासेज हेरे । त्यो म्यासेज तिम्रो रहेछ । र म्यासेजमा लेखिएको थियो, 

        ‘‘ हजुरलाई धेरै दुःख दिए । हट्ली सरी । यस जुनीमा हजुरको हुन सकेन । अर्को जुनिसँगै जिउला । बाई ।’’

        त्यो मेसेजले ठूलो दुर्घटनामा परे म । एक हिसाबले त विश्वासै लागेन । एकदम आत्तिदै तिमीलाई फोन गर्न खोजे । तर तिम्ले मोबाइल स्विच अफ गरिसकेकी थियौ । त्यहाँबाट कसरी कोठामा पुगे त्यो पनि पत्तो पाउँदैन । त्यस रातभर निद्रा आएन आँखामा । बारम्बार केबल तिम्रो मोबाइलमा फोन हानिरहे । केबल स्विच अफ, स्विच अफ मात्रै बोलिरह्यो मोबाइल । 

        अर्को दिन बिहानै हुर्रिदै म तिम्लाई भेट्न लालमटिया पुगेको थिए । कोठामा बसिरहेकै अवस्थामा तिम्लाई भेट्छु । मलाई एकाएक आफ्नो अगाडि देख्दा तिमी झस्किएकी पनि थियौ । किन ? के भयो र ? एकाएक किन त्यस्तो मेसेज लेख्यौ भनेर सोध्दा तिमी बोल्नुको साटो तिम्रा आँखाबाट आँसुको बर्सात हुन थाल्छ । म पनि तिमीसँगै रुन पुगेछु । केहीबेर सँगै रोयौ हामी । तर मलाई जान्नु थियो किन रोएकी थियौ तिमी ? किन पठाएकी थियौ त्यस्तो मेसेज ?

म त तिमी रोएकै कारणले न रोएको थिए । अप्रत्याशित प्रतिक्रिया आएको थियो तिमीबाट – ‘उसो भए मलाई बिहे गर्नुस् ।’ एकाएक तिमीबाट आएको बिहेको प्रस्तावले म झसङ्ग भएँ । खै त्यस रात के भएछ र तिमी एकाएक त्यस्तो निर्णय लिन पुग्यौ । अघिल्लो दिनसम्म चल्दै नचलेको बिहेको प्रसंग के कारणले उठायौ ? म रनभुल्लमा परे । अघिल्लो रातमा भुल्ने आग्रह गर्दै पठाएको त्यो मेसेज अनि त्यस दिन तिम्रो बिहेको प्रस्तावले म एकाएक गम्भीर हुन पुगे ।

         म त आफ्नो सुनौलो भविष्य निर्माणका लागि प्रयत्नरत थिए । र पनि त्यतिबेला सबैभन्दा महत्पूर्ण कुरा प्रेम थियो मेरो लागि । त्यसैले तिम्रो प्रस्तावलाई सहर्ष स्वीकार गरे । त्यसैबखत तिमीले मेरो अगाडि नै अर्को एउटा गम्भीर जटिलता खडा गर्‍यौ । तिमीले भन्यौ कि मेरो बुवासँग बिहेको कुरा गर्नुस् । म भेटेरै तिम्रो बुवासँग कुरा गर्न तयार भएँ । तर तिम्ले एकाएक मेरो मोबाइल माग्यौ अनि आफैं फोन गर्‍यौ । तिम्ले नभएको बिहेलाई पनि भए जसरी तिम्रो बुवालाई खबर सुनायौ । सुरुमा त तिम्रो बुवालाई विश्वास पनि लागेन । तर तिम्ले बारम्बार आफ्नो बिहे भएको कुरा सुनाइरहे पछि तिम्रो बुवा विश्वास गर्न बाध्य हुनुभयो । त्यसपछि तिम्रो बुवा निकै आक्रोशित हुँदै गाली गर्न थाल्नुभयो । त्यो स्वभाविक पनि हुँदो हो । 

         १७ मिनेट ४९ सेकेन्डको बुवाछोरीको वार्तालापको अन्त्यमा तिम्रो बुवाले साँझ मुवासँग कुरा गर्र्नु भन्दै रिसाउँदै फोन काट्नुभएको थियो । त्यसपछि तिमीले साँझ मुवासँग कुरा मिले राम्रै भयो नमिले भागेर बिहे गरौला भनेकी थियौ । त्यसदिन दिनभर तिमीसँग त्यहीं बसेर म घोराहीतिर फर्किए । तिम्रो साँझको निर्णय सुन्न म आतुर थिए । घोराही आइपुग्नेबित्तिकै तिम्ले ‘म कसैगरी पनि हजुरको हुन सकिनँ, मलाई सधैको लागि बिर्सनुस् ।’ भन्ने मेसेज गर्‍यौ ।

एकाएक यी यस्ता तिम्रा अप्रत्याशित निर्णयहरु किन भइरहेका थिए, मैले केही बुझ्न सकेको थिएन । म त केबल पागल थिए प्रेममा र जे भन्थ्यौ त्यही स्वीकार्न बाध्य थिए । त्यसपछि तिमीलाई फोन गर्नुको कुनै अर्थ देखिन मैले । तिम्रो बुवासँग कुरा गर्ने निर्णय लिए मैले । तिम्रो बुवाले दुईतीन पटकसम्म फोन रिसिभ गर्नुभएन । अन्त्यमा फोन उठाइसकेपछि अंकल भन्ने सम्बोधनकासाथ मैले कुरा अघि बढाए । तिम्रो बुवाबाट हाम्रो सम्बन्धको स्वीकार हुन सक्ने कुनै सम्भावना देखिएन । तिम्ले बिहे भएकै भनेर कुरा गरेता पनि यथार्थ कुरा थाहा भइसकेको रहेछ  । 

         म तनावै तनावको जञ्जालभित्र फसेँ । अँध्यारो मात्रै थियो मेरो अगाडि । केहीबेर पछि पुनः तिम्रो ‘हजुरलाई मैले धेरै दुःख दिए । हजुरको अध्ययनले सफलता पाओस् । यदि हाम्रो बीचमा चोखो र निश्चल माया रहेछ भने तीन वर्षपछि पढाई सिध्याएर फेरि मिलन हुनेछ ।’ भन्ने मेसेज आउँछ । तुरुन्तै मैले तिमीलाई फोन गर्न खोजे तर तिम्रो मोबाइल स्विच अफ गरेकी थियौ । 

        त्यस पछाडिका दिनहरुमा तिमीलाई भेट्न जानुको पनि अर्थ देखिनँ मैले । त्यसो त तिमी होस्टेलमा बस्न थालेकी भन्ने खबर पनि पाएको थिएँ । मैले हरेक दिन तिमीलाई फोन गर्न खोजिरहे । तर तिम्रो मोबाइल स्विच अफ नै रहिरह्यो । फोन हानिरहे केबल स्विच अफ नै बोलिरह्यौ तिम्रो मोबाइल । 

***

        राज सरको प्रेम कथाले निकै हल्लिन्छ हृदय । जीवन त्यसो त कथैकथाहरुले नै भरिएको हुन्छ । 

        घडी हेर्छु । राज सर निस्किएको पनि एक घन्टा पुगेछ । तरकारी लिन गएका मान्छे कता हराए कता ? 

        मोबाइलमा फेसबुक चलाउन थाल्छु । केही समयपछि ट्वाक ट्वाक ढोका बज्छ । राज सर नै हुन भनेर चुपचाप ढोका खोल्छु। हो रहेछन् पनि । 
        एकटक राज सरको अनुहारमै अल्झिएझन् आँखाहरु । उहाँकै प्रश्नले पो झस्किए, ‘‘किन अचम्म पाराले हेर्नु भो घनश्याम सर ?’’

        के भनु के भनु लाग्यो र पनि भने । तपाईको डायरी पढे त्यसैले केही रहेछ तपाईमा भन्ने लाग्यो । उहाँको अनुहारको केही चमक पनि घट्यो । 

–    ‘‘साँच्चै, अँझै माया गर्नुहुन्छ ?’’
–    ‘‘माया कहाँ हराउनु नि !’’
–    ‘‘तीन वर्ष बितेको पनि केही महिना बितेछ । अब सल्यान भए पनि खोज्न जानुहुन्न ?’’
–    ‘‘नजाने सर । उनीबाटै खबर हुन्थ्यो कि भन्ने आश थियो, त्यो पनि सकियो ।’’
–    ‘‘किन ? निराधार त्यत्तिकै छोड्नु भयो र ।’’ 
–    ‘‘होइन । फेसबुकमा खोजे उनलाई, भेटाए पनि । रिक्वेस्ट पठाए तर एसेप्ट भएन ।’’
–    ‘‘केही मेसेज छोड्नु पथ्र्यो नि पुराना दिनहरुको स्मरण गराउने ?’’
–    ‘‘पठाए नि केही मेसेजहरु । त्यसपछि झन् ब्ल्याक लिष्टमै राखिदिइन् ।’’ 
–    ‘‘अहो ! अचम्मै भयो त यस्तो त ।’’ 
–    ‘‘हो नि सर !’’
–    ‘‘साँच्चिकै, सम्बन्ध यसरी शून्यतामा जानुको केही कारण देखिएन त ?’’
–    ‘‘मैले जान्न खोजेको पनि त्यही मात्रै त हो नि सर !’’ 
प्रेम बुझिनसक्नु तरिकाले बस्छ । कतैकतै यही तरिकामै ब्रेकअप पनि हुँदो रहेछ । त्यसपछि हामी खाना पकाउने सुरसार गर्छौ ।  

 

  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार १७:४५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया