म्याग्दीमा नयाँ नोट साट्नेको भीड

म्याग्दी– नेपालीको प्रमुख पर्व दसैंलाई लक्षित गरी म्याग्दीका बैंक तथा वित्तीय संस्थामा खुद्रा नोटको माग बढेको छ । दसैं नजिँकिँदै गर्दा नयाँ र खुद्रा नोटको अभाव हुने हल्ला चलेपछि खुद्रा पैसाका लागि वित्तीय संस्थामा भिड लाग्न थालेको हो । 

चाडपर्वमा किनमेल गर्न बजार झर्ने सर्वसाधारणले करिब पाँच करोडको हाराहारीमा नयाँ र खुद्रा नोटको माग गरेको बैंक तथा वित्तीय संस्थाले जनाएको छ । ‘अत्यधिक माग छ, सर्वसाधारणलाई मात्रै वितरण गरेका छौं,’ नेपाल बैंक म्याग्दी शाखाका प्रबन्धक मोहनप्रसाद लामिछाने भने । उनले सर्वसाधारणलाई १८ हजार ५ सयको दरले नयाँ नोट वितरण गरिएको बताए । 

लामिछानेका अनुसार गत वर्षको तुलनामा ३० प्रतिशतभन्दा कम नयाँ र खुद्रा पैसा आएकाले मागअनुसार वितरण गर्न नसकिएको हो । नेपाल बैंकमा राष्ट्र बैंकको नोट कोषसमेत रहेको छ । यस वर्ष राष्ट्र बैंकबाट ५, १०, २०, ५०, सय रुपैयाँको नयाँ नोट उपलब्ध गराएको छ । 

यसपटक ९ सय जनालाई लाइनमा राखेर वितरण गरिएको छ । खुद्रा नोटको माग बढिरहेकाले कम प्राप्त भएपछि वितरणमा समेत समस्या भएको निजी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले बताएका छन् । 

ग्राहकको मागअनुसार नोट उपलब्ध गराउन नसकिएको गरिमा विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले बताए । ५० र सयको नयाँ नोटको माग धेरै छ । नयाँसहित एकपटक प्रयोग भइसकेका सुकिला नोट वितरण गरेमा खुद्रा पैसाको अभाव थेग्न सकिने वित्तीय संस्थाका प्रतिनिधिको भनाइ छ ।

शाखा विस्तार गरेका केही निजी बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक पोखरा र आफ्नै केन्द्रीय कार्यालयबाट समेत नयाँ नोट ल्याउने गरेका छन् । यसैबीच, नयाँ नोटको सुरक्षा गर्न बैंकले वित्तीय संस्थामार्फत सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ । 



दसैंमा टीका लगाउँदा अबिर पार्ने, बलि दिँदा रगत, जुवातास खेल्ने क्रममा खुम्च्याउँदा नोटको आयु घट्ने भएकाले राष्ट्रलाई थप आर्थिक भार पर्नेतर्फ प्रयोगकर्तालाई सचेत बनाएको बैंकले जनाएको छ । 

चाडपर्वमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन रहेकाले पनि वित्तीय संस्थाले आफ्ना ग्राहकलाई खुसी पार्न दसैंको मुखमा नयाँ नोट वितरण गर्ने गरेको छ । जिल्लाको बेनी नगरपालिका र पाँचवटै गाउँपालिकामा रहेका वित्तीय संस्थामा रेमिट्यान्स लिन आउने सर्वसाधारणको समेत भीड लाग्ने गरेको छ । 
 



  • प्रकाशित मिति : असोज २६, २०७५ शुक्रबार ११:३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया